आमाका अन्तिम शब्द
अझै पनि रेखा आमाका ती अन्तिम शब्द सम्झेर भावुक हुन्छिन् । त्यस रात पनि आमाले रेखाको हात बुहारी (रेखाकी भाउजू)को हातमा राखेर भनिन्– तिमी धेरै पढेर हजुरबुवा र बुवाजस्तै समाजसेवामा लाग्नुपर्छ ।काठमाडौं, पुस २९ : परिवारका सदस्य, आफन्त वा हितैषीले मर्ने बेला भनेका शब्दलाई हाम्रो समाजमा महत्त्वपूर्ण मानिन्छ । अझ आमाबुवाका शब्दका कुरै भएन– ज्ञान, आशीर्वाद र वरदान नै हुन्छन् । बनेपा नगरपालिकाकी उप–प्रमुख रेखा सापकोटा दाहाल पनि आमाका अन्तिम शब्दकै शक्ति र ऊर्जामा अगाडि बढिरहेकी छन् ।
एसएलसी टेस्टको एक दिनअघि रेखाकी आमाको निधन भयो । उनी टेस्टको तयारीका लागि ट्युसन पढ्न गएकी थिइन्, आमाको स्वास्थ्य बिग्रेको खबर पाएपछि नपढी घर फर्किन् । नपढी आएको देखेर आमाले उनलाई भनिन्, ‘किन आएकी पढ्न छाडेर ? तिमी त पढेर ठूलो मान्छे बन्नुपर्छ । मेरो सन्तानमा एसएलसी कसैले पास गरेको छैन, तिमीले जसरी पनि पास गर्नुपर्छ, समाजसेवा गर्नुपर्छ ।’
अझै पनि रेखा आमाका ती अन्तिम शब्द सम्झेर भावुक हुन्छिन् । त्यस रात पनि आमाले रेखाको हात बुहारी (रेखाकी भाउजू)को हातमा राखेर भनिन्– तिमी धेरै पढेर हजुरबुवा र बुवाजस्तै समाजसेवामा लाग्नुपर्छ ।
गहभरि आँसु पार्दै रेखाले आफ्नी आमालाई सम्झिइन्, ‘त्यो नै आमाको अन्तिम शब्द थियो । आमाको अन्तिम शब्द बोकेर म टेस्ट दिन गएँ । ६० विद्यार्थीमध्ये पाँचौँ श्रेणीमा पास भएँ । महिलातर्फ त प्रथम नै भएँ ।’ टेस्ट सकिएको केही समयमै उनको बुबाको पनि निधन भयो । उनले पढ्न भने छाडिनन् । एसएलसीमा उनी सेकेन्ड डिभिजनमा पास भइन् ।
आमा र बुबा दुवै गुमाउनुको पीडा त छँदै थियो । तर, आमाको उपचारमा धेरै खर्च भइसकेको र दाइहरू पनि परिपक्व नभएको हुँदा उनीहरूलाई आर्थिक संकट आइलाग्यो । रेखालाई जसरी पनि उच्चस्तरको पढाइ लिनु थियो । कक्षा ११ मा भर्ना हुनका लागि उनले आफ्नो कानको गहना बेचिन्, जुन उनलाई आमाले कहिले नमास्नु भनेर दिएकी थिइन् । ‘त्यतिबेला घरनजिक कुनै क्याम्पस थिएन । तीन घन्टा हिँडेर पनौतीसम्म पढ्न आउनुपथ्र्यो । आउँदाजाँदा ६ घन्टा लाग्थ्यो । पछि पनौतीमै बसेर पढेँ,’ उनी भन्छिन्, ‘आमाले त्यो गहना नबेच त भन्नुभएको थियो, त्योभन्दा महत्त्वपूर्ण कुरा पढेर राजनीतिमा लाग्नुपर्छ पनि भन्नुभएको थियो ।’
००००
कक्षा १२ को पढाइ सकिएलगत्तै नालाका जयराम दाहालसँग उनको विवाह भयो । विवाह हुँदा रेखा र उनका श्रीमान् दुवै २० वर्षका थिए । विवाहपछि पनि परिवारको सहयोगमा उनी राजनीतिमा सक्रिय रहिन् । ०६५ सालमा दुई कार्यकालसम्म गाउँ कमिटीको सचिवालय सदस्य भएको उनी बताउँछिन् । ‘धेरै महिलाले विवाहपछि राजनीति छाडेको सुन्छु । तर, मेरो केसमा घरका सबै सदस्यको साथ र सहयोग पाएँ,’ उनी भन्छिन्, ‘गर्भवती अवस्था मैले गाउँ कमिटीको सचिवालय सदस्यको जिम्मेवारी निभाएकी थिएँ ।’
उनले घरपरिवारको जिम्मेवारी, राजनीतिक क्षेत्र र आफ्नो पढाइलाई सँगसँगै लगिन् । उनको विवाहको केही समयपछि सासुको निधन भएपछि उनीमा घरको सबै जिम्मेवारी आएको थियो । ‘राजनीतिक कार्यक्रममा जानका लागि बिहानै उठेर तीनवटा गाई दुहुने, घाँस दिने, आफ्ना बच्चालाई खुवाउने अनि मल बोकेर खेत जाने र एक डोको घाँस काटेर बाटोमा राखेर कार्यक्रममा जान्थेँ,’ उनी भन्छिन्, ‘कार्यक्रम सकेर बाटोमा राखेको घाँस बोकेर घर आउँथे, खाना पकाएर सबैलाई दिएर स्कुल पढाउन जान्थेँ ।’ उनले आफू सुत्केरी भएको अवस्थामै बनेपाको चैतन्य बहुमुखी क्याम्पसबाट बिएडमा स्नातक तहको परीक्षा दिएको उनी बताउँछिन् ।
०७२ सालमा संविधान बन्यो र संघीयतामा गएपछि स्थानीय तहमा निर्वाचन हुने तय भयो । ०७४ वैशाखमा भएको निर्वाचनका लागि महिलातर्फबाट रेखाको नाम पठाउने प्रस्ताव आएको उनी बताउँछिन् । ‘उप–मेयर र मेयरमध्ये एक महिला हुनुपर्ने भएपछि कमिटीबाट रेखाले संघर्ष गरेकी छ भनेर मेरो नाम पठाइएको थियो । नगरमा प्रस्ताव आएपछि सर्वसम्मत रूपमा पार्टीले उप–प्रमुखको रूपमा मलाई टिकट दिनुभयो । र, सबैको सहयोगमा निर्वाचित भएँ,’ उनले भनिन्, ‘साथै उम्मेदवारी पाइसकेपछि भोट माग्न जाँदादेखि नै लक्ष्मी नरसिंह बादे श्रेष्ठ (मेयर)ले आफ्नी छोरीलाई जसरी नै साथ र सहयोग गरेको भएर पनि थप साहस आएको हो । उहाँको सपोर्ट थिएन भनेदेखि संविधानले दिएको हकअधिकार यसरी सदुपयोग गर्न सकिँदैनथ्यो ।’
००००
पनौती नगरपालिका–१ मा जन्मेकी रेखा सापकोटा (दाहाल)ले काभ्रे, बनेपा नगरपालिकामा उप–प्रमुखको पद लिएको चार वर्ष बितेको छ । हजुरबुबा र बुबा दुवै राजनीतिमै लागेको भएरै रेखा पनि सानैदेखि उनीहरूकै बाटोमा हिँडेको बताउँछिन् । ‘बुबा र हजुरबुबा पहिलादेखि नै राजनीतिमा सक्रिय भएर जनताको सेवामा लाग्नुहुन्थ्यो । म पनि उहाँहरू जस्तै समाजसेवामा लाग्नका लागि राजनीतिमा आएकी हुँ,’ उनी भन्छिन्, ‘६ कक्षामा पढ्दै गर्दा मैले राजनीतिमा प्रवेश गरेकी हुँ ।’
रेखाका हजुरबुबा पूर्वप्रधानपञ्च थिए भने बुवा नेकपा एमालेको वडा कमिटी सचिव । सम्पन्न परिवारकी उनको माइतीमा दुईवटा घर थियो । जसमध्ये एउटा घरमा पार्टीकै कार्यक्रम हुने उनी सम्झन्छिन् । सोही कार्यक्रममा सहभागी हुने भएकाले पनि आफू बच्चैदेखि राजनीतिप्रति आकर्षित रहेको उनी बताउँछिन् ।
गोडा रगताम्मे भइसक्दा पनि विजय जुलुसमा सामेल
रेखाको हजुरबुबा पहिलादेखि नै राजनीतिमा लाग्ने भएकै कारण समाजसेवामा हिँड्ने र घरमा समय दिन पाउँदैनथे । धेरै जग्गाजमिन भएको उनको घरमा खेतीपातीको काम सबै उनकी आमाले नै सम्हालेकी थिइन् । ‘आमाले धेरै संघर्ष गरेर, घरको सबै जिम्मेवारी आफैँले लिएर हामीलाई हुर्काउनुभएको थियो । आमाले हजुरबुबा र बुवालाई समाजसेवा गर्न प्रोत्साहन गरेकी थिइन्,’ उनले भनिन्, ‘सानैबेलादेखि मरो आमाको प्रेरणाबाट पनि म अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्थ्यो ।’
तीन दाजुभाइ र चार दिदीबहिनीमध्ये एक उनी मात्र अहिले राजनीतिमा सक्रिय छन् । उनी १० वर्षको उमेरमा अनेरास्ववियुको सदस्य भइन् । त्यसबेला उनी ६ कक्षामा अध्ययनरत थिइन् । उनले अनेरास्ववियुको सदस्यता लिएका बेला उनी सबैभन्दा कान्छी सदस्य रहेको उनी बताउँछिन् । त्यसमा आबद्ध भएपछि उनले राजनीतिसम्बन्धी विभिन्न तालिम समेत लिइन् ।
उनका अनुसार, ०५४ सालमा नेकपा एमालेको अध्यक्षले धेरै सिटले जितेका थिए । त्यो बेला हामीले अध्यक्षज्युलाई माला लगाइदिनका लागि रातभरी फूलको माला उनेर डेढ घण्टा हिँडेर भेट्न गएको अझै याद छ ।
‘त्यतिखेर म हात्तीछाप चप्पल लगाएर विजयजुलुस मनाउन गएकी थिएँ । धेरै ठूलो भीड थियो, त्यो भीडलाई छिचोलेर हामीले अध्यक्ष, सदस्य, निर्वाचित भएका सदस्यलाई माला लगाइदिएका थियौँ,’ त्यो बेलाको समय सम्झँदै मुस्कुराउँदै भनिन्, ‘त्यो बेलाको सबैभन्दा अविस्मरणीय क्षण भनेको त्यो हुलमुलमा मेरो चप्पल कतिखेर छिनियो थाहै पाइनँ । एक घन्टा जुलुसमा हिँडिसकेपछि बल्ल खुट्टामा चप्पल नभएको थाहा पाएँ । त्यतिबेलासम्म गोडा पनि रगताम्मे भइसकेको थियो, तर दुखाइको कुनै महसुस भएन ।’
न्यायिक समितिको संयोजकमा कानुनको ज्ञान हुन जरुरी
अहिले पनि पुरुषको तुलनामा महिलाले हरेक क्षेत्रमा बढी नै संघर्ष गर्नुपर्ने अवस्था छ । रेखा भने शिक्षित परिवारमा हुर्केको र राजनीति पनि केही हदसम्म बुझेकै भएर त्यति धेरै अप्ठेको नपरेको उनी बताउँछिन् ।
उनका अनुसार, महिलाले आफ्नो संस्थागत कार्यका साथसाथै घरपरिवारलाई पनि उत्तिकै समय दिनुपर्ने भएकै कारण पनि थप संघर्ष गर्नुपर्ने हुन्छ । ‘हामी जनप्रतिनिधि भएर १०–५ को ड्युटी गर्छु भन्न पाइँदैन । बिहान बेलुकी नभनी हिँड्नुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘म जनप्रतिनिधि हुँदा कान्छो छोरो जम्मा पाँच वर्षको थियो । भनेको समयमा खुवाउन सक्दिनथेँ । बुबाले हेरचाह गर्नुहुन्थ्यो ।’
कतिपय महिला जनप्रतिनिधि बच्चालाई काखी च्यापेर पनि हिँडेका थिए । परम्परादेखि नै महिलालाई आफ्नै छुट्टै जिम्मेवारी दिइएको हुन्छ । महिलाले घरमा पाहुना आउँदा समेत आफैँले स्वागत गर्नुपर्ने हाम्रो प्रचलन छ । घर–व्यवहारको सम्पूर्ण जिम्मेवारी महिलामाथि हुने भएकाले पनि अझै कतिपय महिला अन्य क्षेत्रमा अगाडि बढ्न नसकेको रेखाको बुझाइ छ ।
स्नातक तहको पढाइ एडुकेसनमा गरे पनि समाजसेवामा लाग्ने भएपछि समाजशास्त्रको ज्ञान हुनुपर्छ भन्ने भावले उनले काभ्रे क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरिन् । यस्तै चुनाव जितेपछि उनी उप–प्रमुख हुनुका साथै न्यायिक समितिको संयोजक पनि भइन् । त्यसै कारण उनीमा अब कानुनको हरेक ज्ञान जान्ने जिज्ञासा बढ्यो । उनी अहिले कानुन विषयमा स्नातक तहमा अध्ययनरत छिन् ।
‘न्यायिक समितिको संयोजक भएपछि मैले सानो–सानो कुरा पनि कानुन सहजकर्तासँग सोधिरहनुपथ्र्यो । पीडित पक्षले मलाई आफ्नो गुनासो भनिरहँदा म आफैँ जवाफदेही हुनुपर्छ भन्ने सोचले कानुन पढ्न सुरु गरेकी हुँ,’ उनले भनिन् ।
किशोरीमैत्री नगरपालिका बनेपा
आफ्नो क्षेत्रभित्र रहेका महिलाको आवश्यकताको पहिचान गर्न रेखा प्रत्येक वडामा जाने गरेकी छन् । महिलाका लागि पार्लर र सिलाइ मात्र नभई व्यावसायिक तालिम पनि दिँदै आएको उनी बताउँछिन् ।
यस्तै कतिपय ठाउँबाट महिलाले तरकारी उत्पादन गरेर बिक्री गर्ने प्रस्ताव राखेपछि सोही अनुरूप सवारीसाधन नजाने ठाउँमा पनि बाटोको स्तरोन्नति गरेर उत्पादित तरकारी बजारसम्म ल्याउने व्यवस्था समेत गरेको उनी बताउँछिन् । बाटोघाटो मात्र पुगेर ‘समृद्ध नेपाल सुखी नेपाली’ नबन्ने रहेछ भन्ने ज्ञान भएपछि साढे चार वर्षअगाडि हिंसामा परेका किशोरी महिलाको लिस्ट हेर्दा रेखा आफैँ आत्तिएको उनी सुनाउँछिन् ।
उनका अनुसार, उक्त लिस्टमा किशोरी हिंसामा परेर डिप्रेसनमा समेत पुगेको तथ्यांक थियो । कतिपयले आत्महत्या समेत गरिसकेका थिए । साथै साइबर क्राइमका पनि घटना उक्त लिस्टमा थिए । त्यसपछि जनचेतना जगाउन महत्त्वपूर्ण रहेछ भनेर ‘किशोरीमैत्री नगरपालिका’ बनाउने कार्यक्रम सञ्चालनमा ल्याउने सम्भवतः नेपालको पहिलो नगरपालिका रहेको उनी बताउँछिन् ।
‘हामीले बनेपा नगरपालिकालाई किशोरीमैत्री नगरपालिका बनाउने अभियान थालेको तीन वर्ष भइसकेको छ । यसबीचमा किशोरीको सातवटा समूह बनाएर झन्डै तीन सय किशोरीलाई त्यस अभियानमा आबद्ध गराइसकेका छौँ,’ उनले भनिन्, ‘यस वर्ष २० देखि ३० वटा समूह बनाएर करिब एक हजार तीन सय किशोरीलाई सहभागी गराउने योजनामा छौँ ।’
उक्त कार्यक्रममा सहभागी किशोरीलाई जीवनउपयोगी सीप सिकाउने, हिंसा के हो र हिंसा भएमा कुन ठाउँ वा निकायमा जाने भन्ने ज्ञान दिने, स्वास्थ्य र प्रजननसँग सम्बन्धित ज्ञान दिने लगायत कुरा सिकाउनुका साथै बचत गर्न समेत सिकाउने उनले जानकारी दिइन् । उक्त अभियानअन्तर्गत बौद्धिक र शारीरिक अपांगता भएका किशोरीलाई पनि हिंसासम्बन्धी जनचेतना दिने योजना रहेको उनी बताउँछिन् । उक्त अभियान सञ्चालनमा आएसँगै विगतको तुलनामा केही हदसम्म किशोरी हिंसाका केस कम दर्ता भएको उनको अनुभव छ । अहिले भने न्यायिक समितिमा जग्गाको केसहरू बढी दर्ता भइरहेको उनी बताउँछिन् ।
यस्तै समाजलाई परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका राजनीतिले खेल्ने उनको बुझाइ छ । ‘योजनाका कुरादेखि सभ्य समाज बनाउन, सुशासनमा देश ल्याउन, सुव्यवस्था गर्न राजनीति नै महŒवपूर्ण कुरा रहेछ,’ उनले भनिन्, ‘राजनीतिबाटै निर्वाचित भएर उप–प्रमुख भएँ र त आफ्नो हकअधिकारको उचित सदुपयोग गर्न पाइरहेकी छु । त्यसै कारण राजनीतिक क्षेत्रमा महिला मात्र नभई हरेक मनिसलाई अगाडि सार्नुपर्छ ।’