Kathmandu Press

चुनावी प्रतिबद्धताबमोजिम भक्तपुरका २३ स्थानमा खुला व्यायाम सेन्टर

नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणापत्रमा नगरवासीलाई स्वस्थ राख्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
चुनावी प्रतिबद्धताबमोजिम भक्तपुरका २३ स्थानमा खुला व्यायाम सेन्टर

भक्तपुर, पुस ८ : ५० वर्षीय नरेन्द्र मानन्धर दैनिक भक्तपुरको सिद्धपोखरी परिसरमा मर्निङ वाकसँगै व्यायाम गर्छन्। सिद्धपोखरी छिर्ने गेटनजिकै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खुला व्यायाम सेन्टर छ। आइतबार बिहान करिब ८ बजेतिर उनी स्टेसनरी बाइक (व्यायाम उपकरण) मा व्यायाम गर्दै थिए। 

‘म कमलपोखरीमा बस्छु। त्यहाँ पनि यस्तै जिम खाना छ। सधैँ सिद्धपोखरीसम्म मर्निङवाकका लागि आउने भएकाले यहाँ केहीबेर व्यायाम गरेर जाने गरेको छु,’ उनले भने, ‘नगरपालिकाले खुला जिमखाना राख्नु धेरै राम्रो हो। शरीर स्वस्थ राख्न निःशुल्क व्यायाम गर्न पाएका छौँ।’

Hardik ivf

२८ वर्षीय उद्धव माकजु दिनहुँजसो समय मिलाएर सल्लाघारीस्थित व्यायाम सेन्टर पुग्छन्। यो व्यायाम सेन्टर पनि नगरपालिकाले नै बनाएको हो। आइतबार दिउँसो उनी यहाँ व्यायाम गर्दै थिए। ‘मेरो घर यहाँदेखि नजिकै छ। यो व्यायाम सेन्टर सधैँ खुला रहने भएकाले फुर्सदका बेला, विशेषतः मानिसको भीड नभएका बेला यहाँ आएर व्यायाम गर्छु,’ उनी भन्छन् ‘बिहानको समयमा धेरै मानिस यहाँ व्यायाम गर्छन्। कहिलेकाहीँ त पालो कुर्नुपर्छ।’

२०७५ सालमा नगरपालिकाले यहाँका १० स्थानमा व्यायाम सेन्टर सञ्चालनमा ल्याएको थियो। स्थानीयको माग अनुसार त्यसलाई बढाएर अहिले कुल २३ स्थानमा यस्ता व्यायाम सेन्टर सञ्चालित छन्।

चुनावी प्रतिबद्धता

नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणापत्रमा नगरवासीलाई स्वस्थ राख्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। सोहीअनुसार २०७५ सालदेखि खुला व्यायाम सेन्टर सञ्चालनमा ल्याइएको भक्तपुर नगरपालिका अन्तर्गतको युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री बताउँछन्। ‘यसका लागि आवश्यक प्रविधिहरू चीनबाट ल्याइरहेका छौँ। साथै खेलकुदका कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ,’ संयोजक खत्री भन्छन्, ‘यहाँका व्यायाम सेन्टरमा खुट्टादेखि टाउकोसम्मको व्यायाम गराउने किसिमका प्रविधि राखिएका छन्।’ 

विभिन्न जिल्ला संघ, खेलकुद समिति, व्यायामविज्ञ लगायतसँगको छलफल र सल्लाहपछि व्यायामका सामग्री ल्याइएकोे उनी बताउँछन्। ‘सुरुमा हामीले व्यायाम सेन्टर सञ्चालनमा ल्याउँदा एक सेटमा नौ प्रकारका सामान समावेश गरेका थियौँ,’ उनले भने, ‘पछि अन्य स्थानमा पनि व्यायाम सेन्टर स्थापना गर्दा १० वटा सामाग्रीको सेट बनायौँ।’ 

अहिलेसम्म व्यायाम सेन्टरका लागि मात्रै करिब २२ लाख ७० हजार रुपैयाँ खर्च भएको संयोजक खत्री बताउँछन्। उनका अनुसार, सुरुमा प्रतिवडाका लागि प्रविधि खरिद र व्यवस्थापन गरी कुल ११ लाख ४० हजार खर्च भएको थियो। पछिल्लोपटक सामान ल्याउँदा ११ लाख ३० हजार खर्च भएको उनको भनाइ छ।

अहिले बालबालिकादेखि वृद्धवृद्धासम्म यहाँका व्यायाम सेन्टरमा आउँछन्। यसको मर्मतसम्भारको जिम्मा भने प्रत्येक वडाको वडा समिति अन्तर्गत गठन गरिएको खेलकुद समितिलाई दिइएको छ। खुला ठाउँमा भएका कारण घामपानीले सामानमा खिया लाग्ने समस्या आउँछ। समितिको निगरानीमा रहेको हुँदा समय–समयमा यसको मर्मतसम्भार भइरहेको छ। 

लकडाउनका कारण केही समय यी व्यायाम सेन्टर बन्द गरिएको थियो। कोरोना मत्थर भएसँगै पुनः सञ्चालनमा ल्याइएको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति बताउँछन्। ‘यसको मूल उद्देश्य नगरवासीलाई स्वस्थ राख्नु नै हो,’ प्रमुख प्रजापति भन्छन्, ‘बिस्तारै विद्यालय स्तरमा पनि राख्ने योजनामा छौँ।’


 

प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्