केमिकलरहित सेनिटरी प्याड : कोपिलालाई घरमै बसिबसी खातामा पैसा आउँछ

काठमाडाैं, कात्तिक ५ : नुवाकोटकी १९ वर्षीया सुनिता नेपाली महिनावारीको तीन–चार दिन केही काम गर्न सक्दिनन्। पहिलो र दोस्रो दिन दुखाइ कम गर्न औषधि प्रयोग गर्छिन्। दुखाइसँगै रगत धेरै जाने समस्याले पीडित उनी सेनिटरी प्याड र कपडा प्रयोग गर्ने गरेको बताउँछिन्। ‘सेनिटरी प्याड दुई–तीन घन्टाभन्दा टिक्दैन, बाहिर हिँड्दा प्याड फेर्न पाइँदैन। त्यसैले रगत बाहिर नआयोस् भनेर कपडा राख्छु,’ उनी भन्छिन्, ‘सेनिटरी प्याडभन्दा कपडा सहज लाग्छ, तर कपडा लगाउँदा बाहिर रगत निस्किने हुँदा दुवै प्रयोग गर्न बाध्य छु।’

महिनावारी हुँदा सहर–बजारका बासिन्दाले सेनिटरी प्याड प्रयोग गर्छन्, तर ग्रामीण भेगका बासिन्दा अहिले पनि कपडा प्रयोग गर्छन्। धुलिखेल नगरपालिका–६ की ३८ वर्षीया भगवती भन्छिन्, ‘कपडा प्रयोग गरेमा पैसा बचत हुन्छ। एक महिनामा दुई सय रुपैयाँ प्याडमा खर्च लाग्छ, त्यसैले घरका पुराना कपडालाई टालो बनाएर प्रयोग गर्छु।’

कपडाको प्याड बनाउने कोपिला

पछिल्लो समय महिनावारीका बेला सुरक्षाका लागि लगाउने प्याडबारे विभिन्न बहस भएका छन्। ९ फेब्रुअरी २०१८ मा हिन्दी फिल्म ‘प्याड म्यान’ भएको थियो, जसमा सेनिटरी प्याडको मुद्दा उठाइएको छ। नेपाल सरकारको ०७६÷७७ को बजेटमा सामुदायिक विद्यालयमा पढ्ने किशोरीका लागि निःशुल्क सेनिटरी प्याड वितरण गर्ने उल्लेख थियो।

यस्तै, नेपालमा कपडाको सेनिटरी प्याड बनाउनेहरू बढेका छन्। त्यसैमध्ये एक हुन्– सुन्दरहरैँचा नगरपालिका– ६, मोरङकी ३३ वर्षीया कोपिला श्रेष्ठ। उनले कपडाको प्याड बनाउन थालेको दुई वर्ष मात्र भयो, तर टाढा–टाढाबाट माग आउँछ। उनले आफ्नो उत्पादनको बजारका लागि सामाजिक सञ्जालको सहारा लिन्छिन्। उनले कपडाको प्याड बनाउँदै गरेको भिडियो सामाजिक सञ्जाल खुबै हेरिएका छन्। ‘गत भदौमा कपडाको प्याड बनाउँदै गरेको भिडियो टिकटकमा राखेकी थिएँ। त्यसलाई तीन–चार लाखले हेरेका छन्। २५ हजारले लाइक गरेका गरेका छन्,’ उनी उत्साहित हुँदै भन्छिन्, ‘कपडाको प्याड धेरैले माग गरेका छन्।

सुरुमा उनले कपडाको प्याड बनाउँदा वरपरका बासिन्दालाई मात्र थाहा थियो। यतिखेर सामाजिक सञ्जालबाटै उनको कामको चर्चा मात्रै भएको छैन, व्यापार पनि बढेको छ।

उनले धेरै अगाडिदेखि कपडाको प्याड बनाउने तालिन लिन चाहेकी थिइन्। ‘महिनावारी हुँदा घरमा आमा, दिदीहरू रगत बगाउँदै हिँडेको देख्थेँ, यसलाई कसरी रोक्न सकिएला भनी उपाय सोच्थेँ,’ कोपिला भन्छिन्, ‘पछि प्याडको बारेमा थाहा भयो। तर, प्याड बनाउने तालिम कहाँ दिइन्छ भन्ने थाहा थिएन।’

यस्तैमा २०७७ चैत २२ देखि २८ गतेसम्म उनको नगरपालिकाले कपडाको प्याड बनाउने तालिम दिने भयो, जसमा उनी सहभागी भइन्। ‘पहिलेदेखि लुगा सिलाउने मेसिन चलाउन जानेकाले उनले दुई दिनमै कपडाको प्याड बनाउन सिकिन्।

स्तन क्यान्सरपछिको उद्यम

कोपिलाको माइतीघर हलेसी तुवाचङ नगरपालिका– १० खोटाङमा हो। उनी परिवारमा १० सन्तानमध्ये कान्छी छोरी हुन्। उनका बुवाले दुई विवाह गरेका थिए। कोपिलाले गाउँकै सरस्वती उच्च माविबाट २०६१ मा एसएलसी र आइए सदरमुकामको दिक्तेल बहुमुखी क्याम्पसबाट गरिन्। आइए पास गरेपछि उनले सामुदायिक रेडियो हलेसीमा काम थालिन्। रेडियोमा काम गर्ने क्रममै सुन्दर हरैँचा नगरपालिका– ६ का नरेन्द्र श्रेष्ठसँग २०६९ फागुनमा उनको प्रेमविवाह भयो।

विवाहपछि उनले रेडियोसँगै सिलाइकटाइतिर पनि ध्यान दिइन्। २०७३ मा पहिलो सन्तानलाई जन्म दिएपछि उनी स्तन क्यान्सरबाट पीडित भइन्। २०७६ माघमा भरतपुर क्यान्सर अस्पतालमा उनको स्तनको अपरेसन भयो। ‘अपरेसनपछि धेरै गाह्रो काम गर्न सकिनँ, तर प्याड बनाउने रहर भएकाले बिरामी हुँदा सकिनसकी तालिम लिन गएँँ,’ उनी भन्छिन्, ‘अहिले यही जीवन जिउने माध्यम भएको छ, कपडाको स्वस्थ प्याड पाएर अरु महिलालाई पनि केही सहज भएको छ।’

कोपिलाले प्याड बनाउने कामका लागि व्यावसायिक रूपमा पसल तथा कारखाना खोलेकी छैनन्। फुर्सदका बेला घरमै बसेर बनाउँछिन्। र, फेसबुक र टिकटकमार्फत आफूले बनाएको कपडाको प्याडबारे जानकारी दिइराख्छिन्।

उनलाई अहिले काठमाडौं, झापा, धनगढी, चिवतन, इटहरी, सुनसरी, उदयपुर लगायत मोरङका विभिन्न स्थानबाट अर्डर आउन थालेका छन्। तीन–चार पिसदेखि १२ पिससम्म अर्डर आउने गरेको उनी बताउँछिन्। ‘सामाजिक सञ्जालमाफर्त अर्डर गरेपछि बैंकको खाता नम्बर दिन्छु, पैसा खातामा आएको भोलिपल्ट सामान कुरिअर गरिदिन्छु,’ उनी भन्छिन्, ‘कुरिअर चार्ज सामान अर्डर गर्ने व्यक्तिले नै तिर्नुहुन्छ। लगानी अनुसारको आम्दानी ठिकै छ।’ उनले एउटा कपडाको प्याडको मूल्य एक सय रुपैयाँ राखेकी छन्। एउटाबाट १०÷१५ रुपैयाँ नाफा हुने उनी बताउँछिन्। ‘मासिक रूपमा १५ हजारजति मात्र आम्दानी हुन्छ,’ उनले भनिन्।

कसरी बन्छ केमिकलरहित प्याड ?

प्याड बनाउन लगानी सस्तो छ। कपडा सिलाउने मेसिन उनले चार–पाँच वर्षअगाडि नै किनेकी थिइन्। मेसिन १०–१५ हजार रुपैयाँमा आउँछ। ‘प्याड बनाउनका लागि तिन किसिमको कपडा भए पुग्छ,’ कोपिला भन्छिन्, ‘लामो समय प्याड राख्नुपर्ने बाध्यता भएकाले नरम कपडा प्रयोग गर्छु। एक दिनमा १० वटासम्म बनाउन सकिन्छ।’

प्याडको सुरुको भागमा सुतीको कपडा प्रयोग हुन्छ। त्यसपछि बीचको भागमा रगत सोस्न फाइबर र फ्लाटिनको कपडा र अन्तिमको भागमा रगत बाहिर ननिस्कियोस् भनेर पानी नछिर्ने कपडा प्रयोग गर्ने गरेको उनले बताइन्। ‘कपडाको प्याड लामो समयसम्म धोएर प्रयोग गर्न मिल्छ,’ उनले थपिन्, ‘केमिकलरहित हुने हुँदा यो हानिकारक हुँदैन। बजारमा पाइने सेनिटरी प्याडमा केमिकल राखिएको हुन्छ।’

काठमाडौं थापाथलीस्थित प्रसूतिगृहमा कार्यरत डा. मधु श्रेष्ठका अनुसार, महिनावारीका बेला सफा कपडाको प्रयोग गरेमा मात्रै धेरै रोगदेखि बच्न सकिन्छ। उनी भन्छिन्, ‘महिनावारी हुँदा योनि खुला हुन्छ, जसकारण फोहोर कपडा र केमिकल मिसिएका प्याड प्रयोग गर्दा कीटाणु भित्र पस्छन्। र, महिलालाई धेरै किसिमका रोग लाग्ने सम्भावना हुन्छ।’

 

 Published Date: Friday, 22nd October 2021 10:23:00 am