Kathmandu Press

बेमौसमी वर्षाको कहर : सुदूरपश्चिम, प्रदेश १ र २ मा बाढी पहिरोको बितण्डा (कहाँ कति पानी पर्‍यो ?)

देशका सातै प्रदेशमा अनपेक्षित वर्षा भइरहेको छ। नदीनालामा आएको बाढीबाट बस्ती डुबानमा परेका छन्। बाढी र पहिरोमा परी जनधनको क्षति भएको छ।
बेमौसमी वर्षाको कहर : सुदूरपश्चिम, प्रदेश १ र २ मा बाढी पहिरोको बितण्डा (कहाँ कति पानी पर्‍यो ?)
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक २ : करिब सातादिनदेखि देशभर बेमौसमी वर्षा भइरहेको छ ।

विशेषतः धान भित्र्याउने समयमा भएको वर्षाले किसान सर्वाधिक मारमा परेका छन् । यहीबेला नेपालीहरूको चाड दसैं भएकाले सहर–बजारबाट गाउँघरसम्म आउजाउमा वर्षाले असर गरेको छ ।

देशका सातै प्रदेशमा अनपेक्षित वर्षा भइरहेको छ । नदीनालामा आएको बाढीबाट बस्ती डुबानमा परेका छन् । बाढी र पहिरोमा परी जनधनको क्षति भएको छ । गाउँबाट कर्मथलो फर्किँदै गरेका दसैंका यात्री बाढी र पहिरोका कारण बीच बाटोमै अड्किएका छन् ।

‘यो बेमौसमी वर्ष कति घातक छ भन्ने कुरा मानिसको आवश्यकताअनुसार फरक पर्छ,’ वरिष्ठ मौसमविद् डा. ऋषिराम शर्मा भन्छन्, ‘अहिले कुनै ठाउँमा वर्षाका कारण धानबाली सखाप भएको छ भने कतिपय ठाउँमा तरकारी खेती गर्ने किसान वर्षा भएपछि हर्षित भएका पनि छन् ।’ तथापि, अविरल वर्षाले जनधनको क्षति गराएकाले देशभर यसको नकारात्मक प्रभाव बढी देखिएको उनी बताउँछन् ।

डा. शर्माका अनुसार भर्खरै पाक्न सुरु भएको धानलाई यो वर्षाले राम्रो गरेको छ । तर, पाकिसकेको धानलाई असर पु¥याउँदा किसान मारमा परेका छन् । ‘मनसुन सकिने समयमा अहिले अनपेक्षित वर्षा भएको छ,’ उनी भन्छन्, ‘अरू बेला यो समयमा मौसम सफा हुन्थ्यो, मानिस पदयात्रामा निस्किन्थे । हिमाल आरोहणका लागि पनि यो उपयुक्त मौसम मानिन्थ्यो ।’

वरिष्ठ मौसमविद् डा. शर्मा यसलाई जलवायु परिवर्तनको नकारात्मक असर अर्थात् मौसमी घटनाका रूपमा व्याख्या गर्छन् ।

उनका अनुसार पश्चिम नेपालमा पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो । र, मुलुकको पूर्वी भागमा बंगालको खाडीबाट आएको वायुका कारण घनघोर वर्षा भएको हो । तिब्बतदेखि भारतसम्मको आकाशमा न्यून चापीय रेखा विकसित हुँदा यस क्षेत्रमै भारी वर्षा भएको डा. शर्मा बताउँछन् ।

इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका भूगर्भविद् डा. वसन्तराज अधिकारीका अनुसार नेपालमा सामान्यतया प्रत्येक वर्ष जुनदेखि सेप्टेम्बर अन्तिमसम्म सक्रिय मनसुन रहन्छ । उनको भनाइमा विगतमा पनि मनसुन समाप्तिपछि यस्तो वर्षा हुन्थ्यो । ‘तर यसपालि अनपेक्षित रूपमा पानी बढी नै परेको हो, जसले बेमौसमी बाढीजन्य प्रकोप निम्त्याएको छ,’ उनी भन्छन् ।

यो ठ्याक्कै जलवायु परिवर्तनसँग सम्बन्धित छ वा छैन भन्ने अनुसन्धानको विषय भएको उनी बताउँछन् । ‘हामी सानो छँदा पनि पाकेको धान रुझेर हक्वा (कुहिएको धानको चामल) खाएको सम्झना छ,’ उनी भन्छन्, ‘अहिले पश्चिमतिर धेरै नै वर्षा भइरहेको छ । दसैंपछि यसरी पानी पर्नु अनपेक्षित हो, तर पहिला पानी पर्दैनथ्यो यो वर्ष मात्र परेको हो भन्न मिल्दैन ।’

जल विज्ञान तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, प्रदेश १ र २ मा भारी वर्षा भइरहेको छ । यस्तै, काठमाडौं उपत्यकालगायत देशभरि सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । साथै, वामती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

भोलि (बुधबार) सम्ममा वर्षा कम हुने र क्रमशः मौसममा सुधार आउने मौसमविद् सजिना शाक्य बताउँछिन् । ‘विगतमा पनि न्यून चापीय क्षेत्रहरू बंगालको खाडीमा बन्ने र उत्तर–पश्चिमतर्फ सर्ने गरेका छन्,’ उनी भन्छिन्, ‘पोस्ट मनसुनमा पहिला पनि यस्तो भएको छ । हरेक वर्ष यस्तो हुँदैन ।’

मंगलबार बिहान ८ः४५ बजेसम्मको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दिपायलमा १८७.५, डडेलधुरामा २२०, धनगढीमा १४०.२ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । 

यस्तै, सुर्खेत वीरेन्द्रनगरमा ८४.४, नेपालगञ्जमा २५, जुम्लामा ६८.६, दाङ घोरहीमा ९०.२, पोखरामा ६७, भैरहवामा ७६.३ र सिमरामा १४ मिलिमिटर वर्षा भएको छ ।

यसैगरी, काठमाडौं उपत्यकामा ३.६, ओखलढुंगामा २७.१, ताप्लेजुङमा ७.५, धनकुटामा ४७.५, विराटनगरमा ६७.२ र जनकपुरमा ४२.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

बिहान पौने नौ बजेसम्मको वर्षाको तथ्यांक

प्रकाशित मिति: १६:३७ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्