Kathmandu Press

आगोले शरीर जलायो, आत्मविश्‍वास जलाएन

दुर्घटनावस आगोमा जलेका महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियानमा छिन्, राधा श्रेष्‍ठ। उनी आफैँ जलेर घाइते भएकी थिइन्। उपचारपछि उनले सुरु गरेको अभियानबाट अहिले उनले आफूजस्तै १८ जना महिलालाई सीप सिकाएर आत्मनिर्भरतातर्फ डोर्‍याएकी छन्। 
आगोले शरीर जलायो, आत्मविश्‍वास जलाएन

काठमाडौं, असोज १९ : ‘यो सबै उत्पादन आगोबाट जलेका दिदी-बहिनीहरूले तयार गर्नुभएको हो, यो हाम्रो आफ्नै उत्पादन हो,’ उनको स्टलमा सामान हेरिरहेका आगन्तुकलाई भन्दै थिइन्, राधा श्रेष्‍ठ (४३ वर्ष)। काठमाडौं वसुन्धरामा ‘राधाको बर्न सर्भाइभल नेपाल’ नामक संस्था सञ्‍चालन गर्छिन्, उनी। उनको संस्थामा दुर्घटनावस आगोमा जलेका महिलाहरू कार्यरत छन्।

यो संस्थामा विभिन्‍न थरिका वास्नादार मैनबत्ती, पोते र क्रिस्टलका सामग्री तयार गरिन्छ। यहाँ उत्पादित सामग्री विभिन्‍न प्रदर्शनी र कार्यक्रममा स्टल राखेर बिक्री गरिन्छ। राधाले कमलपोखरीस्थित सिटी सेन्टरको माथिल्लो तलामा महिला चेम्बरद्वारा आयोजित १५ दिने उद्यमी मेलामा स्टल राखेकी छन्। स्टलमा आएका ग्राहकलाई उनी आफ्नो संस्थाको बारेमा जानकारी दिन्छिन्। ग्राहकले निकै ध्यानपूर्वक सुन्छन् र सामान खरिद गर्छन्।

जुनुनले जन्माएको संस्था

Hardik ivf

संस्थाकी संस्थापक राधा आफैँ आगोबाट जलेकी पीडित हुन्। घरमै सिलिन्डरबाट खाना पकाउने ग्यास लिक भएर आगो लाग्दा उनी घाइते भएकी थिइन्। ‘१५ वर्ष भइसकेछ त्यो डरलाग्दो घटना भएको, मेरो जीवनको सबैभन्दा अप्रिय क्षण,’ उनले भनिन्। सोही घटनामा राधाले आमा गुमाउनुपरेको थियो। घटनापछि उपचारका लागि काठमाडौं साँखुस्थित सुष्‍मा कोइराला मेमोरियल अस्पतालको शय्यामा उनी ३९ दिनसम्म छटपटाइरहिन्।

आगोले पोलेको शरीर र आमा गुमाउनुपरेको पीडामा थिइन् उनी। तर, पीडा त्यतिमै सीमित थिएन, उनी बसेको अस्पतालका अन्य शय्यामा तड्पिँदै रुँदै गरेका अन्य धेरै दिदी-बहिनीलाई उनले देखिन्। उनको छटपटी झनझन बढ्यो, रातदिन। अस्पतालमा आगोले जलेका बिरामीमध्ये अधिकांश महिला देख्दा उनको मन भक्कानियो। ती दिदी-बहिनीको चित्कार र बिजोगका अगाडि आफ्ना पीडा केही नभएको महसुस गरिन्।

जलनको पीडाले भन्दा जलनपछि परिवारले गर्ने व्यवहारले उनलाई केही काम गर्नुपर्छ भन्‍ने लाग्यो। जलेका महिलालाई बोझको रूपमा लिने परिवारको व्यवहार देखेर उनको मनमा प्रश्न उठ्यो। ‘म छिटो निको भएपछि यी दिदी-बहिनीका लागि केही गर्नुपर्छ, यसरी अलपत्र अवस्थामा छोड्न हुँदैन भन्‍ने सोच पलायो,’ उनी भन्छिन्, ‘दिनरात आफू ठीक भएर उभिन सक्ने अवस्थामा पुग्‍ने कोसिस गर्थेँ।’

उपचारमा रहेका महिलाको पीडाले नै जतिसक्दो छिटो निको हुनैपर्छ भन्‍ने जिद उनको अन्तरहृदयमा पलायो। कतिपय दिदी-बहिनीका परिवारले त्यस्तो घाइते अवस्थामा पनि अस्पतालमा छाडेर भागेका उदाहरण देखेपछि ती बेसहारा महिलाको सहारा बन्‍न उनलाई प्रेरणा प्राप्त भयो। सहारा त बन्‍ने तर कसरी ? उनीसामु पहाडजत्रो प्रश्न उभियो। अस्पताल बसाइमा उनले के र कसरी गर्ने भनेर सोचेर नै समय बिताउन थालिन्। आफू निको भएर अस्पतालबाट डिस्चार्ज भई सामान्य हिँडडुल गर्न सक्ने भएपछि उनी फलफूल र जुस लिएर जलेका महिलाहरूलाई भेट्न जान थालिन्।

बसुन्धरास्थित एक गेस्टहाउसमा म्यानेजर थिइन्, राधा। आगलागीमा घाइते भएर निको भएपछि पनि उनलाई होटल व्यवस्थापनले काममा बोलाएको थियो। तर, उनलाई जागिर गर्न मन थिएन। उनले आफू मात्र बाँच्ने जागिरे जीवन छाडेर जलनको पीडा सहँदै बेवारिसे बनेका दिदी-बहिनीका लागि काम गर्नु थियो।

उपचार क्रममा उनको भेट डा. आन्द्रेआस सट्जीसँग भयो। जर्मनीका नागरिक डा. सट्जीले राधालगायत जलेका महिलाहरूको उपचार गरेका थिए। विभिन्‍न कारणले जलेका महिलाहरूको उनले नेपालमा वर्षौँसम्म निःशुल्क उपचार गरे। उनले तिनै विदेशी चिकित्सकको सहयोगमा साँखुमा लक्ष्‍मी महिला गृह सञ्‍चालन गरिन्। महिला आवास सञ्‍चालन गर्दा लाग्‍ने आर्थिकदेखि उपचारसम्ममा लागि डा. सट्जीले सघाए। तर, उक्त आवासमा आउने महिलाको संख्या दिनप्रतिदिन बढ्यो भने आवासका निम्ति आवश्यक आर्थिक सहयोग बन्द भयो। आर्थिक अभावकै कारण चार वर्षपछि आवास बन्द गर्नुपर्‍यो। तर, जलेका दिदी-बहिनीका लागि काम गर्ने सोचले उनलाई हात बाँधेर बस्न दिएन। त्यही जुनुनले ०७४ सालमा उनले घरेलु उद्योगमा ‘राधाको बर्न सर्भाइभल नेपाल’ दर्ता गरिन्।

आत्मनिर्भरता बढ्दाको खुशी

‘राधाको बर्न सर्भाइभल नेपाल’मा अहिले १८ जना महिला कार्यरत छन्। सिटी सेन्टरमा भइरहेको औद्योगिक मेलामा भने उनीहरू आउँदैनन्, त्यहाँ राधाले नै हेरिरहेकी छन्। जलनमा परेका महिलाहरूले वसुन्धारास्थित कार्यालयमै बसेर अर्डरका सामग्री तयार गर्छन्। गएको शनिबार भने राधाले सबै महिलालाई सिटी सेन्टरमा बोलाइन्। उनीहरू सिटी सेन्टर घुमे, आफूलाई आवश्यक र मन परेका सामान खरिद गरे।

‘सुरुमा दिनमा बाहिर निस्कन मन पराउँदैनथे, मानिसले गर्ने हेलाहोचो सहनुभन्दा लुकेरै बस्छौँ भन्थे,’ उनी भन्छिन्, ‘तर, अहिले निकै उत्साहित छन्, कतै जानु परे खुशी भएर जान्छन्। उनीहरूमा बढेको आत्मविश्‍वास देखेर खुशी लाग्छ।’

आगोमा जलेका महिलालाई परिवार र आफन्तले बोझ ठान्‍ने मानसिकतामा परिवर्तन ल्याउन उनले गरेको संघर्ष निकै प्रेरणादायी छ।

जलेर निको भएको शरीरले पूर्ण रूपमा काम गर्न नसक्ने हुनाले अन्य मानिससरह काम गर्न नसक्ने बुझाइका कारण परिवार र आफन्तजनले बोझको रूपमा लिने गरेको उनी बताउँछिन्। ‘अरूमा भर पर्न नपरोस्, जे सकिन्छ त्यही काम गरेर जीवन निर्वाह होस् भनेर काम गरिरहेका छौँ,’ उनी भन्छिन्।

जलेका महिलाप्रतिको हेराइ

पितृसत्ता र कुसंस्कारले भरिएको समाजमा महिलालाई विचरा पात्र मान्‍ने प्रवृत्ति अद्यापि कायम छ। समाजमा महिलाप्रति अविश्‍वास गर्ने समाजमा जलेर घाइते भएका महिलालाइ हेर्ने दृष्‍टि अझ दर्दनाक रहेको उनी बताउँछिन्। ‘कतिसम्म भने हामीले उत्पादन गरेका सामग्री निकै मन पराएर लिनलाई ठिक्क परेको मान्छेले सामान नलिएको अनुभव मसँग छ,’ उनी भन्छिन्। शिक्षित र चेतनशील मानिसको संख्या दिनानुदिन बढे पनि मानसिकता भने पुरानै रहेको उनी बताउँछिन्।

तर, सबै त्यस्ता कहाँ छन् र ! केही मानिसले आगोमा पोलिएका महिलाले उत्पादन गरेका सामग्री हुन् भन्दा कदर गरेर प्रोत्साहन पनि दिन्छन्। तर, कतिपयले नाक खुम्च्याउने गरेको उनको भोगाइ छ।

‘राधाको बर्न सर्भाइभल नेपाल’ले सुरुका दिनमा आवश्यक लगानी पनि जुटाउन सकेको थिएन। त्यतिबेला जिन्सका कपडा रिसाइकल गरेर टालो बनाउन महिलाहरूलाई सिकायो। त्यस्तो भान्छामा प्रयोग हुन्छ। त्यसपछि भने संस्था र त्यसमा आबद्ध महिलाले पछाडि फर्किनु परेको छैन।

‘भृकुटीमण्डपमा उद्यमी मेला लागेको थियो, हामीले जिन्सबाट तयार गरेको भान्छा पुछ्ने रुमालहरू राखेका थियौँ,’ उनी भन्छिन्, ‘एकजना महिलाले ३-४ वटा रुमाल लिने भनेर छान्‍नुभयो, अनि मैले यो रुमाल हामी जलेका, पोलिएका महिलाहरूले बनाएका हौँ नि भन्दा उहाँले त्यो रुमाल फालेर हिँड्नु भयो, केही नबोली।’

ती महिलाको व्यवहार देखेर आफू दंग परेको उनले बताइन्। कतिपय मानिसमा जलेका महिलाले तयार पारेका सामग्रीलाई अशुभ मान्‍ने गरेको त्यतिबेला मात्र थाहा पाइन् उनले।

जलेका महिलालाई समाजबाटै बहिष्‍कार गर्ने कुसंस्कार थियो त्यो। त्यस्तो कुसंस्कारमा जकडिएका मानिस धेरै रहेको बोध उनलाई भयो। त्यसपछि उनले अझ केही गरेर देखाउने अठोट लिइन्।

काम गर्दै जाँदा राधाले सामान कसरी र कहाँबाट लिएर आउने भन्‍ने जानकारी पाइन्। अहिले ‘राधाको बर्न सर्भाइभल नेपाल’मा आबद्ध महिलाहरूले होलसेल पसलका लागि थरिथरि डिजाइनका पोते तथा वास्नादार मैनबत्तिलगायत बनाउँछन्।

युट्युबबाटै सिकाइ

राधाले पोते र मैनबत्ति बनाउने तरिका सबै युट्युबबाट हेरेर सिकेकी हुन्। इन्टरनेटमार्फत आफूले सिकेको सीप अन्य महिलालाई सिकाउने गरेकी छन्। कोरोना प्रसार रोक्न जारी लकडाउनमा बसेका महिलालाई घर-घरमा पुगेर उनले राहत पनि वितरण गरिन्। आफ्नो सपना पूरा गर्न उनी दिनरात खटेकी छन्।

एउटै सपना आत्मनिर्भरता

‘राधाको बर्न सर्भाइभल नेपाल’को मुख्य उद्देश्य जलेका महिलालाई समाजले मागेर खाने भाँडो बनाएको नजर परिवर्तन गर्नु हो। उनी भन्छिन्, ‘हामी मागेर खाँदैनौँ, हामी कसैको बोझ होइनौँ। हामीलाई बिचरा पात्र बनाउनुभन्दा हाम्रो कामलाई हौसला दिनूस्।’

जलेका महिलाहरू कसैको बोझ भएर होइन, आफैँ काम गरेर आफ्नो जीविका चलाउन सक्ने रहेछन् भन्‍ने नजिर स्थापित गर्ने सपना छ उनको। अहिले सबै महिला आफैँले काम गरेर दुई पैसा कमाइरहेको देख्दा एकदिन आफ्नो सपना पूरा हुने ठानेकी छन् उनले। ‘राधाको बर्न सर्भाइभल नेपाल’को उत्पादन बजारमा बिक्री नभए पनि यहाँका महिलाहरू काम नपाएर हात खाली बस्नु नपरेको उनी बताउँछिन्।

उनका अनुसार अहिले यो संस्थामा जलेका महिला मात्र छैनन्, १२ वैशाख ०७२ को भूकम्पमा परेर अपांगता भएका महिला पनि आबद्ध भएका छन्। आगलागीमा जलेकी कक्षा-१० अध्यनरत किशोरी र सानी बच्चीलाई उनले पढाउनेदेखि सम्पूर्ण दायित्व वहन गर्दै आएकी छन्। कक्षा-१० अध्ययनरत किशोरीको लक्ष्‍य छ, चिकित्सक बन्‍ने।

उनलाई डाक्टर बनाएर जलेका महिलाले पनि देशलाई केही दिन सक्छन् भन्‍ने इतिहास कायम गर्ने लक्ष्‍य छ, राधाको। पढाइमा अब्बल छन्, दुवैजना। राधा भन्छिन्, ‘जलेका महिलालाई बोझ सम्झिने समाजका अगाडि यी दुई नानीलाई डाक्टर बनाउने मेरो एउटा सपना छ।’

प्रकाशित मिति: १०:४९ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्