Kathmandu Press

दसैं–तिहारका लागि सरकारको ढुकुटीमा कति छ खाद्यवस्तु ?  

सुवेदीका अनुसार, देशभर कम्पनीका लागि दुई सय ५० कर्मचारी कार्यरत छन् । देशभर गरी लिमिटेडको भण्डारमा एक लाख ८५ हजार क्विन्टल खाद्यवस्तु रहेको छ।
दसैं–तिहारका लागि सरकारको ढुकुटीमा कति छ खाद्यवस्तु ?  

काठमाडौं, असोज १८ : हिन्दु धर्मावलम्बीको विशेष पर्व दसैं–तिहारलाई लक्षित गर्दै ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ले असोज १ गतेदेखि नै सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ । 

दसैं, तिहार र छठलाई लक्षित गरेर उपत्यकामा चार स्थानसहित देशभर कुल ४३ स्थानमा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याइएको लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । उपत्यकामा भक्तपुर, रामशाहपथ, थापाथली र नख्खुमा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याइएको छ । 

सर्वसाधारणले यी पसलबाट अन्य पसलमा भन्दा सस्तो (लिमिटेडको तोकिएको मूल्यभन्दा ५ देखि १० रुपैयाँ कम) मूल्यमा खाद्यान्न खरिद गर्न पाउने सूचना अधिकारी सुवेदी बताउँछिन् । 

Hardik ivf

लिमिटेडको भण्डार 

देशभर लिमिटेडको ५९ वटा डिपो कार्यालय रहेका छन् । त्यस्तै, एक प्रधान कार्यालय, सातवटा प्रादेशिक कार्यालय, पाँचवटा मुख्य शाखा कार्यालय, २३ वटा शाखा कार्यालय छन् । सुवेदीका अनुसार, देशभर कम्पनीका लागि दुई सय ५० कर्मचारी कार्यरत छन् ।
देशभर गरी लिमिटेडको भण्डारमा एक लाख ८५ हजार क्विन्टल खाद्यवस्तु रहेको छ । ‘यो बिक्री हुँदै गर्छ । त्यसलाई प्रतिस्थापन गर्न खाद्यान्न आयातको नयाँ प्रक्रिया सुरु गर्छौं,’ सूचना अधिकारी सुवेदी भन्छिन्, ‘तर यो प्रक्रिया दसैंपछि मात्र सुरु हुन्छ । दसैंका लागि पर्याप्त खाद्यान्न छ ।’

लिमिटेडसँग मुख्यतः चामल र गहुँ भण्डारण गरिएका छन् । काठमाडौं उपत्यकाका लागि भने दाल, तेल, नुन, घिउ, पिठो, चिउरा लगायत खाद्यवस्तु बिक्रीमा राखिएको सुवेदी बताउँछिन् । ‘हामीले तेल, नुन, चिनी लगायत खाद्यान्न त्यति धेरै मात्रामा भण्डारण गरेका छैनौँ । दसैं–तिहारलाई लक्षित गरेर आवश्यक मात्रामा ल्याउँदै, बिक्री गर्दै गरेका छौँ,’ उनले भनिन्, ‘चामल नै बढी मात्रामा भण्डारण गर्छौं । अरु करिब दुई सय क्विन्टलको हाराहारीमा छन् ।’

कसरी ल्याइन्छ खाद्यवस्तु ?

लिमिटेडले विशेषतः तराईको कार्यालयमा खाद्यान्न भण्डारण गर्ने गरेको छ । ढुवानीका लागि वर्षभरि ठेक्का दिइएको हुन्छ । ‘एक स्थानबाट अर्को स्थानमा खाद्यान्न पु¥याउनका लागि निश्चित कम्पनीले ठेक्का लिएका हुन्छन् । त्यही अनुसार नै ठाउँ–ठाउँमा खाद्यान्न आयात र निर्यात हुन्छ,’ सुवेदीले भनिन् ।

लिमिटेडमा स्वदेशी उत्पादनलाई मात्रै प्राथमिकता दिइन्छ । चामलको सन्दर्भमा कृषकसँग धान खरिद गरेर चामल बनाउने सबै प्रक्रिया पूरा गरेर बजारमा पठाइने सुवेदी बताउँछिन् । कारणवश नपुगेको खण्डमा तेल, नुन, दाल लगायतका सामग्री आन्तरिक बजारबाटै खरिद गरेर व्यवस्थापन गरिने सुवेदीले जानकारी दिइन् । 

अहिले देशका विभिन्न ठाउँमा पहिरो गएको हुँदा खाद्यान्न आपूर्तिमा केही समस्या आइरहेको उनी बताउँछिन् ।

घटस्थापनादेखि खसी–बोका कारोबार

दसैंमा मासुजन्य पदार्थको अत्यधिक माग हुन्छ । त्यसैकारण मासुजन्य पदार्थको मूल्य वृद्धि हुने सम्भावनालाई मध्यनजर गर्दै बजारमा मूल्य स्थिरता कायम राख्न विशेषगरी काठमाडौं उपत्यकामा खसी–बोका कारोबार एवं बिक्री–वितरण सुरु गर्ने योजनामा रहेको लिमिटेडले जनाएको छ । जुन सम्भवतः घटस्थापनाको भोलिपल्टदेखि सुरु हुने सूचना अधिकारी सुवेदी बताउँछिन् ।

‘खाद्यान्नको धेरै माग हुने अर्थात् चाडपर्वको समयमा मूल्य स्थिरीकरण भइरहोस्, अस्वाभाविक रूपमा मूल्य वृद्धि नहोस् भनेर खाद्य संस्थानले आफ्नो उपस्थिति जनाइरहेको हो,’ उनले भनिन् ।

खाद्यान्नको कारोबार गर्न २०३१ मंसिर १६ गते ‘नेपाल खाद्य संस्थान’को स्थापना गरिएको थियो, जसले खाद्यान्न खरिद गर्ने र दुर्गम जिल्लामा पु¥याउने गर्दै आएको थियो । २०७६ साउन २८ देखि नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेड गाभी नयाँ सरकारी कम्पनीका रूपमा ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ गठन भएको हो ।

यो पनि

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले के गर्छ ? 

प्रकाशित मिति: ११:०० बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्