Kathmandu Press

माधव नेपाललाई छाड्ने १० नेता किन ‘कर्नर’मा परे?

लामो समय नेपाल समूहमा आबद्ध रहँदै आएका र तेस्रो धार भनेर चिनिएका नेताहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, भीम आचार्य, घनश्याम भुसाल, योगेश भट्टराई, अमृतकुमार बोहरालाई भने टोली नेता चयन नगरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसले ती नेताहरू एमालेभित्र घर न घाटको हुन सक्ने सम्भावनालाई इंगित गर्छ। 
माधव नेपाललाई छाड्ने १० नेता किन ‘कर्नर’मा परे?
Hardik ivfHardik ivf

काठमाडौं, असोज १० : एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी छ।

शुक्रबार सुरु भएको बैठकको दोस्रो दिन आज (शनिबार) विभिन्न प्रतिवेदनमाथि छलफलपछि सुझाव पेस हुँदैछ।

पहिलो दिनको बैठकमा एमाले अध्यक्ष केपी ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनसँगै महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि केन्द्रीय कमिटी बैठकमा टोली समूहका नेताले सुझाव प्रस्तुत गरिरहेका हुन्।

प्रतिवेदनहरूमाथि छलफल गरेर सुझाव पेस गर्न शुक्रबार १० समूहमा टोली विभाजन गरिएको थियो। प्रदेशका सात तथा जनसंगठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले शुक्रबार बैठकमा वितरित प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए।

प्रदेश १ बाट हिक्मत कार्की, २ बाट रामचन्द्र मण्डल, वाग्मतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल र सुदूरपश्चिमबाट कर्ण थापा टोली नेताका रूपमा चयन भएका छन्।

त्यसैगरी उपत्यका विशेष प्रदेशबाट माधव ढुंगेल, जनवर्गीयबाट खिमलाल भट्टराई र विभागहरुबाट खगराज अधिकारी चयन भएका छन्। टोली नेतामा चुनिएका यी सबै नेता अध्यक्ष ओलीनिकट रहँदै आएका छन्।

यिनै टोली नेताले दिएको सुझावका आधारमा तीनवटै प्रतिवेदन पारित गर्ने र तिनलाई यही असोज १५ देखि १७ सम्म हुने विधान महाधिवेशनमा पेस गरिनेछ। 

लामो समय नेपाल समूहमा आबद्ध रहँदै आएका र तेस्रो धार भनेर चिनिएका नेताहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, भीम आचार्य, घनश्याम भुसाल, योगेश भट्टराई, अमृतकुमार बोहरालाई भने टोली नेता चयन नगरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसले ती नेताहरू एमालेभित्र घर न घाटको हुन सक्ने सम्भावनालाई इंगित गर्छ। 

ओली पक्षधर नेताहरूले यसलाई संयोग मात्रै भनेर विश्लेषण गरे पनि नियोजित रूपमै यसो भइरहेको भनी एकथरी नेताहरूले आकलन गरेका छन्।

यसअघि स्थायी कमिटी बैठकमा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा समेटिएका १० बुँदे कार्यन्वयन, व्याख्यालगायत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जोडिएका सन्दर्भमा जोडएका व्याख्याबारे विगतमा नेपाल समूहमा आबद्ध नेताहरूले आपत्ति जनाएका थिए।

केन्द्रीय कमिटी बैठकमा पनि सोही विषय हाबी हुन सक्ने भयले ओलीले समूह विभाजनमा उनीहरूलाई किनारा लगाएको केही नेताहरू बताउँछन्। १० नेतामध्येबाट कोही न कोही एकजना भए पनि टोली नेतामा नपरेपछि अध्यक्ष ओली पूर्वाग्रही ढंगले प्रस्तुत भएको संकेत देखिएको उनीहरूको भनाइ छ।। 

गत भदौ नेता नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी एकीकृत समाजवादी गठन गरेपछि विगतमा एमाले एकताका लागि गठित कार्यदलले अघि सारेको १० बुँदे सहमति कार्यान्वयनलाई मुल मुद्दा बनाएर ती नेताहरूले नेपाललाई छाडेका थिए।

प्रकाशित मिति: १६:३६ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्