पर्यटक तान्दै राम्चे सामुदायिक वन

रामपुर, असोज ५ स् चारैतिर हरियाली वन, उत्तरतर्फ कालीगण्डकी नदी कलकल बहेको दृश्य। झट्ट हेर्दा काठमाडौं उपत्यकाजस्तो देखिनेगरी सहरीकरणतर्फ उन्मुख रामपुर उपत्यका। त्यसनजिकै बजार भरिँदै गरेको रामपुरको मुख्य मुटु बेझाड बजार।

कालीगण्डकी बेँसीको दृश्य एकै नजरमा देख्न सकिने बेझाड बजारको सिनारमा रहेको राम्चे सामुदायिक वन यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ। ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अवलम्बन गरी वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएपछि अहिले यहाँ रमाउन आउने पर्यटक बढ्दैछन्।

हरियाली वनको चिसो शीतलता, चराचुरुङ्गीको मीठो गुञ्जयमान आवाज, उत्तरतिर हेर्दा सुन्दर रामपुर उपत्यकासँगै कालीगण्डकी बेँसीको दृश्य यहाँबाट हेर्दा मनका पीडा, दुःख नै भुलाइदिने खालको प्राकृतिक सुन्दरता रहेको ललितपुर गोदावारी निवासी सुबि बराल बताउँछिन्। 

पोखरामा अध्ययनरत बराल राम्चे वन घुम्न आउने क्रममा यहाँको प्राकृतिक सुन्दरता, वातावरण देखेर यो क्षेत्र नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल रहेको अनुभूति गर्छिन्।

उनी भन्छिन्, ‘घुम्नका लागि काठमाडौँ, पोखरा जस्ता ठूला सहर बजार नै जानुपर्छ भन्ने छैन, यहाँ त प्रकृतिले दिएको अथाह सुन्दर वातावरण, जहाँ घण्टौँ समय यहाँको प्रकृतिसँग रमाउँदा स्व आनन्दको अनुभूति हुन्छ,’ उनले थपिन्, ‘कृत्रिम रुपमा विकास गरिएको संरचनाबाट भन्दा प्रकृतिले दिएको सुन्दरताले पर्यटकको मनलाई प्रफुल्ल पारिरहेको हुन्छ, जुन यहाँको राम्चे सामुदायिक वन एक उदाहरणीय बनेको छ।’

सरकारले पर्यावरण र पर्यटन प्रवद्र्धनका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अगाडि सारेकाले पनि सोही अनुरुप यस राम्चे सामुदायिक वनले धमाधम पर्यटकीय क्षेत्र विकासका काममा जोड दिएपछि पर्यटक बढ्दै गएका छन्।

हाल दैनिकजसो १५० देखि २०० को हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन्। कोरोनाको कहर कम भएलगत्तै पर्यटकको चहलपहल बढेको छ। बेझाड बजारदेखि करिब तीन÷चारसय मिटर माथि पर्ने यस वनमा विशेषगरी बिदाका दिन र साँझपख घुम्न आउनेहरु बढी हुन्छन्। बजारमा सामान किनमेल गर्न आउने तथा विभिन्न कामले आएका कतिपय आन्तरिक पर्यटक राम्चे वन घुमेर फर्कन्छन्।

रामपुर नगरपालिका–५ स्थित यस वन ९७।९ हेक्टर क्षेत्रफलमा फैलिएको छ। वन क्षेत्रको पाँच हेक्टर क्षेत्रफल छुट्याएर पर्यापर्यटनका रुपमा विकासका कामहरु भइरहेको छ। 

विसं २०५४ देखि वनभोजस्थलका रुपमा विकास गर्न थालियो। वनमा पर्यापर्यटनको उद्देश्यले ०६५÷०६६ देखि वनभोजका रुपमा निकै चहलपहल हुँदै गएपछि ०६९ मा दृश्यावलोकन स्तम्भ (भ्यू–टावर) निर्माण कार्य सुरु गरी ०७२ सालमा सम्पन्न भई सञ्चालनमा आएपछि पर्यटकको थप आकर्षण बढ्दै जान थाल्यो। 

रामपुर उपत्यका, स्याङ्जाको चापाकोट, तनहुँको घिरिङ्ग क्षेत्र लगायतका विभिन्न कालीगण्डकी बेँसीको उपत्यकाको दृश्यावलोकन नियाँल्न यहाँ पाँच तलाको दृश्यावलोकन स्तम्भ निर्माण गरिएका छ। वनभोजस्थललाई पनि गुरुयोजना बनाएर क्रमिक रुपमा बर्सेनि पर्यापर्यटन रुपमा विकास गरिँदै लगियो। 

तीन कोठाको कार्यालय भवन, रामपुर क्षेत्रमा हुने विभिन्न कार्यक्रम, वन समूहको भेला, बैठक, गोष्ठी सञ्चालन गर्नका लागि उपभोक्ता तथा विभिन्न व्यक्तिको सहयोगमा निर्मित ३५० मानिस अट्ने क्षमताको सभाहल पनि छ। जिल्ला भूक्षय तथा जलाधार नियन्त्रण कार्यालय पाल्पाको रु १० लाख सहयोगमा पानीको फोहरा निर्माण तथा पानी ट्याङ्की व्यवस्थापनको काम भएको छ।

यहाँ पर्यटकलाई लक्षित गरी पानीको फोहरा, वनभोजस्थलको तल्लो भागदेखि दृश्यावलोकन स्तम्भसँग पुग्ने पक्की पैदलमार्ग, दैनिक चार समूहसम्म अट्ने क्षमताका छुट्टाछुट्टै वनभोजका लागि संरचना तयार छ। 

एक समूहबाट रु पाँच सय शुल्क कायम गरिएको छ भने घुम्नका लागि मात्रै आउनेलाई प्रतिव्यक्ति रु दशको टिकटको व्यवस्था छ। बस, कार, भ्यान जस्ता ठूला सवारी साधनमा आउने भ्रमण टोलीलाई रु २५०, मोटरसाइकल, स्कुटरमा आउने एक जनाको रु ३०, दुई जना आउनेलाई रु ५० शुल्क तोकिएको छ।

आर्थिक वर्ष २०७६÷७७ मा लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु ५० लाख बजेटबाट तीनवटा वनभोज सेड तयार, दृश्यावलोक स्तम्भसम्म पुग्न करिब १५० मिटर पक्की पर्खाल, वनभोजस्थल परिसरमा १५० मिटर पक्की पैदलमार्ग निर्माण, दृश्यावलोकन स्तम्भसम्म जाने मार्गमा फूल बगैँचा तयार पारिएको छ।

यस्तै आव २०७७÷७८ मा लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु १५ लाख बजेटबाट दुईवटा विश्रामस्थल, एकवटा झुला, सभाहल परिसरमा करिब एक सय मिटर पर्खाल, ६० मिटर पैदलमार्ग निर्माणको काम भएको वन समूहका सचिव राधिका भण्डारीले बताइन्। 

उनका अनुसार हालसम्म यस वन क्षेत्रमा विभिन्न पर्यटकीय भौतिक संरचना निर्माणमा रु दुई करोड बराबरको रकम खर्च भएको छ। आव २०७८÷७९ का लागि लुम्बिनी प्रदेश सरकारबाट रु १० लाख रकम विनियोजन भएको समितिले जनाएको छ।

पर्यापर्यटनका रुपमा काम भइरहेको यस वन क्षेत्रमा पर्यटकलाई लक्षित गरी बाल उद्यान, चमेना गृह, पानीपोखरी, चिडियाखाना, आधुनिक खालको दृश्यावलोकन स्तम्भ, सिमसार, फूल बगँैचा निर्माण गर्ने योजना रहेको वन समूहका अध्यक्ष दयाराम गैह्रे बताउँछन्। ‘विभिन्न क्षेत्रबाट पर्यटकहरु भित्रिने क्रम बढेको छ, पर्यटकलाई दृष्टिगत गर्दै आयआर्जन हुने गरी विभिन्न संरचना निर्माणमा समितिले जोड दिएको छ, सामुदायिक वनमध्ये नेपालकै नमूना वन बनाउने लक्ष्य छ,’ उनले भने।

यहाँ बँदेल, मृग, खरायो, कालिज, चितुवा, दुम्सी लगायतका वन्यजन्तु, चराचुरुङ्गीहरु छन्। साल, खयर, कटुस, अमला, हर्रो, बर्रो, सर्पगन्ध, कुरिलो लगायतका विभिन्न प्रजातिका बहुमूल्य वानस्पति छन्। उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्व तथा विभिन्न समय समयमा घाँस, दाउरा, स्याउला उपलब्ध गराइएको छ । वनसँग आबद्ध उपभोक्ताले वनबाट सुपथ मूल्यमा काठपात उपभोग गर्न पाएका छन्।

नेपालकै सामुदायिक वनहरुमध्ये राम्चे सामुदायिक वन नमूनाका रुपमा रहेको हँुदा पर्यापर्यटनका रुपमा विकास हुँदै गरेको यस राम्चे वन भविष्यमा वन स्कुलका रुपमा अगाडि बढ्ने सामुदायिक वन महासङ्घका केन्द्रीय सदस्य तथा वन समूहका पूर्वाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ बताउँछन्। 

‘भौगोलिक रुपमा बजार क्षेत्रसँग जोडिएको विभिन्न वन पैदावारले भरिपूर्ण राम्चे वनको रमणीय दृश्य यहाँको पर्यापर्यटनलाई हेर्दा भोलिका दिन वन स्कुलका रुपमा विकास हुने देखिएको छ,’ श्रेष्ठले भने।

यहाँ उपभोक्ता समूहको बस्ती परापूर्वकालदेखि नै बस्दै आएको हुँदा जनसङ्ख्या वृद्धिले गर्दा बस्ती दिनानुदिन बाक्लिँदै गयो। काठ दाउरा अनियमित तरिकाले काट्दा वनको हैसियत क्रमिक रुपमा घट्न थाल्यो। 

प्राकृतिक वातावरणको संरक्षण, जैविक विविधताको स्थान कायम राख्न, अनियमित रुपमा काठ दाउरा काट्ने क्रम रोक्न वन पैदावारबाट केही आर्थिक लाभ लिने उद्देश्यले विसं २०५१ मा तत्कालीन रामपुर गाविस–४ ९हालको रामपुर नगरपालिका–५० का सबै उपभोक्ताको सल्लाह र निर्णयबाट वनको संरक्षण गरिँदै आइएको छ।

विसं २०१३ मा वनहरु सरकारीकरण भएपछि वन मासेर जग्गा बनाउने काम भएकाले ०४७ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपश्चात् नयाँ प्रजातान्त्रिक वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार सामुदायिक वन दिने भनी व्यवस्था भएअनुरुप वनलाई विधिवत् रुपमा समुदायमा हस्तान्तरण गरी संरक्षण र उपभोग गर्न पाउने नीतिका साथमा उपभोक्ता समूह दर्ता भएको हो। 

विसं २०३०÷३२ देखि राम्चे वनको अवधारणा आएको हो। तत्कालीन रामपुर गाउँ पञ्चायतले राम्चे वनलाई संरक्षण गर्नुपर्छ भन्ने धारणा ल्याएर वडाको कार्यालय सहयोगी खटाएर वनको रेखदेख गर्न थालियो । विसं २०४७ मा सामुदायिक वनका रुपमा हस्तान्तरण गरिएपछि धेरै सुधार हुँदै हराभरा बन्न सकेको छ। 

दर्ता भएको समयमा १९८ घरधुरी उपभोक्ता समावेश भएको पाइएको छ। पछि अन्यत्रबाट बसाइँसराइ गरी यस समूहमा आबद्ध छन्। वनको महत्व र आवश्यकता महसुस हुँदै जाँदा यस वनप्रति धेरैको आकर्षण बढ्दै गयो। हाल यस वन समूहमा ३२३ घरधुरी उपभोक्ता आबद्ध छन्। वन प्रवेश गर्न चाहने वडाका स्थानीयवासीलाई समितिले तोकेको नियमअनुसार हाल प्रतिघरधुरी रु २५ हजार शुल्क तोकिएको छ। रासस
 

 Published Date: Tuesday, 21st September 2021 3:30:00 pm