Kathmandu Press

यस्तो सपना, जो बारम्बार दोहोरिन्छ

एउटै सपना केले दोहोर्‍याएर देखाउँछ? सपनाको अध्ययन गर्ने विज्ञानले दोहोरिने सपनाहरू सपना देख्ने मान्छेको वास्तविक जीवनमा नसुल्झिएका विभिन्न कडीको उपज भएको बताउँछ।
यस्तो सपना, जो बारम्बार दोहोरिन्छ
Hardik ivfHardik ivf

बारम्बार एउटै सपना देख्नु नौलो कुरा होइन। विश्वका लगभग दुई तिहाइ व्यक्तिले एउटै सपना धेरैपटक दोहोरिने गरेको बताएका छन्।

कसैले खेदाइरहेको, सार्वजनिक ठाउँमा नांगै पुगिरहेको, प्राकृतिक प्रकोप वा कुनै ज्यान जोखिममा पर्ने घटनामा पुगेको, दाँत फुस्केको वा स्कुलमा र काममा जानै बिर्सेकोलगायत दोहोरिएर देखिने सपनाका केही उदाहरण हुन्।

तर, कसरी यस्तो हुन्छ? एउटै सपना केले दोहोर्‍याएर देखाउँछ? सपनाको अध्ययन गर्ने विज्ञानले दोहोरिने सपनाहरू सपना देख्ने मान्छेको वास्तविक जीवनमा नसुल्झिएका विभिन्न कडीको उपज भएको बताउँछ।

दोहोरिने सपनाहरू वा पुनरावर्ती सपनाहरू मुख्यतः तनाव बढी भएको समयमा देखिन्छ। ती लामो समय, धेरै वर्ष वा जिन्दगीभर पनि देखिरहन सकिन्छ। हरेक रात देखिने सपनाका विषयवस्तु मात्र उस्तै हुँदैनन्, एकपछि अर्को रात एउटै घटना दोहोरिरहन पनि सक्छ।

धेरैले दोहोरिने सपना देख्ने गरे पनि व्यक्तिपिच्छे देखिने सपना भने बेग्लै हुन्छ। यद्यपि, केही व्यक्तिको सपनामा भने एक किसिमको समानता हुने गरेको देखिन्छ। यो मिल्ने क्रम विभिन्न समयमा समान परिवेश र समान संस्कृतिमा रहेका व्यक्तिबीचमा पाइएको हो। जस्तै– कसैले खेदाउनु, लड्नु, तयारी नै नगरी परीक्षा दिन जानु, ढिलो पुग्नु, वा घरिघरि एउटै चिज गरिरहनु दोहोरिने सपनाका केही साधारण उदाहरण हुन्।

दोहोरिएर देखिने अधिकांश सपनामा डर, पीडा, तनाव, रिस, पश्चातापलगायत नकारात्मक भावना बढी हुने गरेको छ। आधाभन्दा बढी दोहोरिने सपनाहरूमा सपना देख्ने मान्छे खतराजनक अवस्थामा हुन्छ। यद्यपि, केही सपना भने सकारात्मक पनि हुन्छन्। जस्तै– कुनै प्रतिस्पर्धा जितेको, उड्न सकेको, नयाँ कुरो भेटिएको, मनपर्ने कुरा पाएको आदि।

कहिलेकाहिँ बच्चा बेलामा देखेको सपना बयस्क अवस्थासम्म पनि देखिरहन सकिन्छ। यस्ता सपनाहरू केही वर्षलाई हराउने, जिन्दगीमा नयाँ तनाव आएपछि फेरि देखिने र त्यसको समाधान भएपछि फेरि हराउने हुन सक्छन्।

हाम्रो दिमागले किन एउटै सपना बारम्बार देखाइरहन्छ? हामीले देख्ने सपनाहरूले सामान्यतया हाम्रो भावनालाई नियन्त्रणमा राख्न र तनाव दिइरहेका विषयको सामना गर्न मद्दत गर्ने केही वैज्ञानिक अध्ययनले देखाएका छन्। सपनामा भावनात्मक घटनासँग साक्षात्कार हुँदा त्यसले वास्तविकतामा हुने कठिन अवस्थासँग जुध्न र त्यसको पीडादायी प्रक्रियाको सामना गर्न सघाउ पुर्‍याउँछ।

बारम्बार देखिने सपनाहरूमा दोहोरिने घटनाहरूले ती पीडादायी अनुभवसँग जुध्ने हाम्रो असफल प्रयत्नलाई प्रतिनिधित्व गरेको हुनसक्छ। धेरै सिद्धान्तले बारम्बार दोहोरिने सपनाहरू जीवनमा भएका, नसुल्झिएका र समाधान गर्न नसकिएका पीडादायी एवं जटिल मानसिक वा भावनात्मक संघर्षको चित्रण भएको बताएका छन्।

(साइन्स अलर्ट डट कमबाट)

प्रकाशित मिति: ०६:४४ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्