Kathmandu Press

ओलीले जनमत र पार्टी व्यवस्थापन गर्न नसकेर नै अहिलेको अवस्था आएको होः सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले निवर्तमान प्रधानमन्त्री केपी ओलीले प्राप्त दुई तिहाइ बहुमत र पार्टीको व्यवस्थापन गर्न नसकेर अहिलेको अवस्था निम्तिएको बताएका छन्।
ओलीले जनमत र पार्टी व्यवस्थापन गर्न नसकेर नै अहिलेको अवस्था आएको होः सिंह

काठमाडौं, साउन ८ : कांग्रेस नेता प्रकाशमान सिंहले निवर्तमान प्रधानमन्त्री केपी ओलीले प्राप्त दुई तिहाइ बहुमत र पार्टीको व्यवस्थापन गर्न नसकेर अहिलेको अवस्था निम्तिएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिने कार्यसूचीअन्तर्गत दलको तर्फबाट बोल्दै सिंहले चुनावका बेला ओलीले देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री घोषणा गरेको उल्लेख गरे ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई जवाफ दिँदै आफ्नै नेतृत्वमा निर्माण भएको संविधानमा राखिएको धारा ७६ (५) को अपव्याख्या नगर्न आग्रह गरे । सत्ता पक्षमा हुन्जेल मूल्य मान्यताको कुरा नगर्ने अनि विपक्षमा पुगेपछि त्यसैमा जोड दिनु आश्चर्यजनक भएको उनले बताए ।

निवर्तमान प्रधानमन्त्री ओलीले साढे तीन वर्षमा पानीजहाज चलाइसकेको, चुच्चेरेल गुडाइसकेको र राजमार्गमा द्रुतमार्ग बनाइसकेको भन्दै सिंहले व्यंग्य गरे । र, ओली सरकारको गैरजिम्मेवार शैलीका कारण मुस्किलले ३० सिटमा खुम्चिएको कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आएको उनले बताए ।

सरकारको प्राथमिकता कोभिड–१९ विरुद्ध खोप रहेको उनले बताए । सरकारको ध्यान महामारी नियन्त्रणमै हुनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: १४:१६ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्