Kathmandu Press

पूर्वप्रधानमन्त्री खनाललाई उपचार खर्च दिने निर्णय ओली सरकारकै

गत १७ असारमा ओली सरकारको मन्त्रिपरिषद् बैठकले खनाललाई भारतमा उपचारका लागि लाग्ने खर्च दिने निर्णय गरेको थियो।
पूर्वप्रधानमन्त्री खनाललाई उपचार खर्च दिने निर्णय ओली सरकारकै

काठमाडौं, साउन ६ : पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार खर्च दिने निर्णय एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नै गरेको हो।

गत १७ असारमा ओली सरकारको मन्त्रिपरिषद् बैठकले खनाललाई भारतमा उपचारका लागि लाग्ने खर्च दिने निर्णय गरेको थियो।

‘पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने। उक्त खर्च अर्थ मन्त्रालयले परराष्‍ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्‍ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गर्ने,’ ओली सरकारको मन्त्रिपरिषद् बैठकको १७ असारको निर्णयमा उल्लेख छ।

‘नेपाल सरकारको निर्णय’ शीर्षकमा सार्वजनिक गरिएको उक्त निर्णय पुस्तिकामा मुख्यसचिव शंकरदास बैरागीको हस्ताक्षर छ।

मन्त्रिरिषद्को निर्णयबमोजिम केही रकम अर्थ मन्त्रालयले परराष्‍ट्र मन्त्रालयका नाममा निकासा गरिसकेको स्रोतको भनाइ छ। सोही कारण त्यसलाई रोक्न र रकम फिर्ता माग्न समस्या भएको स्रोतको भनाइ छ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले त्यस विषयमा जानकारी नभएको बताए। परराष्‍ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उक्त विषयबारे केही जानकारी दिइनन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भएको टेलिफोन कुराकानीमा आफूले उपचार खर्च नपाएको गुनासो पूर्वप्रधानमन्त्री खनालले गरेको सार्वजनिक भएको थियो। सोही कुराकानीलाई लिएर बुधबार सामाजिक सञ्जालमा सत्तारुढ कांग्रेसकै केही नेता र सामाजिक सञ्जाल प्रयोगकर्ताले खनाललाई उपचार खर्च दिन नमिल्ने बताइरहेका छन्।

तर, २९ असारमा गठित वर्तमान सरकारले खनाललाई उपचार खर्च दिनेसम्बन्धी कुनै निर्णय गरेको छैन। पूर्ववर्ति सरकारले गरेको निर्णयअनुसार केही रकम पनि निकासा भइसकेकाले रोक्न मिल्ने अवस्था नदेखिएको स्रोतको भनाइ छ।

प्रकाशित मिति: १५:४८ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्