Kathmandu Press

जेलमा रहेका नेता-कार्यकर्ता छुटाउन विप्लवको दौडधुप

ओली सत्तामा रहुन्जेल चुपचाप देखिएका विप्लवको नयाँ सरकार गठनसँगै सुरु भएको दौडधुप अन्य कुनै विषयमा नभई जेलमा रहेका आफ्ना नेता-कार्यकर्ता छुटाउने छटपटीको उपज रहेको स्रोत बताउँछ।
जेलमा रहेका नेता-कार्यकर्ता छुटाउन विप्लवको दौडधुप
Hardik ivfHardik ivf

काठमाडौं, साउन ५ : नेकपा महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले मंगलबार बालकोट पुगेर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग भेट गरे। त्यसअघि पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, पुष्‍पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईसँग भेटेका थिए, उनले। ओली सत्तामा रहुन्जेल चुपचाप देखिएका विप्लवको नयाँ सरकार गठनसँगै सुरु भएको दौडधुप अन्य कुनै विषयमा नभई जेलमा रहेका आफ्ना नेता-कार्यकर्ता छुटाउने छटपटीको उपज रहेको स्रोत बताउँछ, जुन सत्तामा रहुन्जेल ओलीले चासो दिएका थिएनन्।

विप्लव समूहका नेता चन्द्र खड्का ‘असल’को भनाइ भने फरक छ।  शीर्ष कम्युनिस्ट नेताहरूसँगको भेटघाट नयाँ मोर्चाबन्दीको सम्भाव्यता खोजीका लागि भइरहेको उनको भनाइ छ।

विप्लवले गत ९ चैतमा बालुवाटारमा तत्कालीन प्रधानमन्त्री ओलीसँग भेटेर आफ्ना नेता-कार्यकर्ता रिहा नभएकामा असन्तुष्‍टी जनाएका थिए। तत्कालीन सरकारसँग भएको सहमतिअनुसार नेकपाका नेता-कार्यकर्ताविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने विषय चार महिना बितिसक्दा पनि कार्यान्वयन नभएपछि भेटवार्ता बढाइएको खड्का बताउँछन्। भन्छन्, ‘अहिलेको नयाँ सरकारसँग हाम्रो खासै ठूलो अपेक्षा छैन, नेकपाका नेता-कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता गरी तीनबुँदे सहमतिको इमानदारिताका साथ कार्यान्वयन होस् भन्‍ने हो।’

खड्काका अनुसार जेलमा रहेका उक्त पार्टीका एक सय ४७ जनामध्ये केही छुटेका छन्। र, छुट्न बाँकी रहेका नेता-कार्यकर्तालाई समेत रिहा गर्नुपर्ने विषयमा छलफल अगाडि बढाइएको उनी बताउँछन्।

२८ फागुन ०७५ मा उक्त पार्टीमाथि तत्कालीन ओली सरकारले प्रतिबन्ध घोषणा गरेको थियो। तत्कालीन सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको र आफ्नो सत्ता धर्मराएको अवस्थामा ओली सरकारले लोकप्रियता हासिल गर्ने उद्देश्यले २० फागुन ०७७ मा प्रतिबन्ध हटाएको थियो।

पार्टीमाथिको प्रतिबन्ध हटेको भोलिपल्ट २१ फागुनमा विप्लवलगायत नेता भूमिगत जीवन त्यागेर काठमाडौं भृकुटीमण्डपस्थित राष्‍ट्रिय सभागृहमा सार्वजनिक भएका थिए। पार्टीमाथि प्रतिबन्धयता पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइको पाटोमा चार महिना बितिसक्दा पनि ओली सरकारले दरिलो पहल गरेको थिएन। जब कि, सशस्त्र आन्दोलनमा रहेको विप्लव समूहलाई शान्तिपूर्ण मुलधारमा ल्याउनुलाई आफ्नो सरकारको सबैभन्दा ठूलो उपलब्धी रहेको ओली र उनलाई समर्थन गरिरहेकाहरूले व्यापक रूपमा प्रचार गरिरहेका छन्। तर, ओली सरकारबाट तीनबुँदे सहमतिको इमानदारिताका साथ कार्यान्वयन नभएकैले नयाँ सरकारमार्फत उनीहरूको रिहाइ सहज बनाउन विप्लव दौडधुपमा रहेको बुझ्‍न गाह्रो छैन।

ओली सरकारसँग भएको तीनबुँदे सहमतिबारे अहिलेको सरकारसँग सकारात्मक अपेक्षा रहेको खड्का बताउँछन्। २९ असारमा गठित नयाँ सरकारबाट पनि सकारात्मक र अपेक्षाकृत प्रतिकृया आएको उनको भनाइ छ। अन्य राजनीतिक पार्टीसँगको संवाद र सहकार्य अनुरूप सहमतिको ३ नम्बर बुँदाप्रति सकारात्मक रहेको उनी बताउँछन्।

नेकपा नेता-कार्यकर्ताको रिहाइबारे छलफलका लागि विप्लव ३१ असारमा कोटेश्‍वरस्थित माधवकुमार नेपालको निवास पुगेका थिए। दुई नेताबीच कुराकानी जारी रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी भएका थिए।

विप्लवको चासो नेता-कार्यकर्ताको रिहाइबाहेक एउटै विचारधारा कम्युनिस्ट पार्टीहरूबीच मोर्चाबन्दी पनि रहेको उनको पार्टीका नेताहरू बताउँछन्। ३० असारमा प्रचण्ड, विप्लव र धमेन्द्र बाँस्तोलाबीच भएको भेटवार्तामा पनि पूर्वमाओवादी पार्टीहरू एक ठाउँमा उभिनुपर्ने विषयमा छलफल भएको थियो। यस्तै, २ असारमा जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराई, ३ असारमा पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साहसँग पनि विप्लवले भेटेका थिए। रायमाझी, भट्ट, थापा र साह तत्कालीन सत्तारुढ नेकपा विभाजनपछि एमालेतिर लागेका छन्। र, एमालेमा चित्तबुझ्दो भूमिका नपाउँदा कसरी अगाडि बढ्ने भन्‍ने छटपटीमा देखिन्छन्। त्यसैले उनीहरूसँग विप्लवको भेटघाटलाई अर्थपूर्ण मानिएको छ।

प्रकाशित मिति: १४:२५ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्