Kathmandu Press

गाउँपालिका केन्द्र निर्धारणको विषयमा स्थानीयको विरोध

सोलुखुम्बु, साउन ५ : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका केन्द्र निर्धारणको निर्णयप्रति असहमति जनाउँदै दुई दिनदेखि स्थानीयवासीले प्रदर्शन जारी राखेका छन्। सर्वसम्मतिमा केन्द्र निर्धारण गर्न...
गाउँपालिका केन्द्र निर्धारणको विषयमा स्थानीयको विरोध
Hardik ivfHardik ivf

सोलुखुम्बु, साउन ५ : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका केन्द्र निर्धारणको निर्णयप्रति असहमति जनाउँदै दुई दिनदेखि स्थानीयवासीले प्रदर्शन जारी राखेका छन्। सर्वसम्मतिमा केन्द्र निर्धारण गर्न नसकेको गाउँपालिकाले मतदान प्रक्रिया अपनाए पनि स्थानीयवासीले भने विरोध जनाएका छन्।

गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार उपलब्ध भएको चारवटै स्थानमा सहमति नजुटेपछि शनिबार मतदानमार्फत सर्सिलामा प्रशासनिक केन्द्र रहने गरी छनोट गरिएको छ। गाउँपालिकाको वडा नं १ मा पर्ने उक्त स्थान अपायक पर्ने भएकाले सोही वडाको गत्तेल या चौखिदोमा हुनुपर्ने मागसहित स्थानीयवासी आन्दोलित बनेका हुन्।

जनप्रतिनिधिको निर्णय गलत भएको भन्दै स्थानीयवासीले आइतबारदेखि गाउँपालिका केन्द्रमा नारा, जुलुस जारी राखेका छन्। गाउँपालिका अध्यक्ष सागर किराँतीको पुत्ला दहन गरेका स्थानीयवासीले निर्णय सच्याउनुपर्ने, स्थानीयवासीको मागअनुसार सम्बोधन हुनुपर्नेलगायतका माग राखेका छन्।

गाउँपालिकाले माटो परीक्षणदेखि भूगर्भविद्समेतलाई जग्गा व्यवस्थापन समितिमार्फत प्राप्त चारवटै ठाउँको रिपोर्ट गुपचुपमा राखेको स्थानीयवासी दुतिमान कुलुङले बताए।

गाउँपालिकाको लाखौँ खर्चबाट प्राविधिक टोली ल्याएको भए पनि त्यसको रिपोर्ट सार्वजनिक नहुनु र सबैलाई केन्द्र हुने स्थान उपलब्ध हुँदाहुँदै बस्ती नै नरहेको एकान्तमा रहेको जग्गामा बढी मत आउनु षड्यन्त्रपूर्ण रहेको कुलुङको भनाइ छ। स्थानीयवासी आन्दोलनमा उत्रिँदासमेत गाउँपालिकाका जनप्रतिनधिले बेवास्ता गर्दा समस्या थपिँदै जाने कांग्रेसका नेता सुवास कुलुङले बताए।

जनप्रतिनिधिसमेत किनबेचमा लाग्दा आम महाकुलुङवासीले दुःख पाउने भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ। यस विषयमा गाउँपालिका अध्यक्ष किराँतीसँग कुरा गर्न खोज्दा फोन सम्पर्क हुन सकेन।

वडा नं ४ का वडाध्यक्षसमेत जयकुवेर राईले भने भौगोलिक हिसाबसँगै भविष्यका लागि सर्सिलामा केन्द्र राख्न उपयुक्त हुने दाबी गरे। भूगोलका हिसाबले बलियो, सहज सञ्चारको पहुँच, खुला स्थान र दुई गाउँपालिका मिलेर नगरपालिका बन्ने अवस्थामा उपयुक्त हुनेलगायतका कारण उक्त स्थानमा बढी मत आएको उनको भनाइ छ।

वडा नं २ का वडाध्यक्ष प्रदीप कुलुङले भने क्षेत्रगत हिसाबमा सर्सिला अपायक पर्ने बताए। साविक बुङ गाविसलाई समेत उक्त क्षेत्रमा सेवा लिन सहज नहुने उनको तर्क छ। अहिले त्यस क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

स्थानीयवासीले गाउँपालिकामा तालाबन्दी गर्ने बताउँदै आएका छन् भने प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलन भड्किन सक्ने अवस्थामा बल प्रयोग गर्न बाध्य हुने बताउँदै आएको छ। (रासस)

प्रकाशित मिति: ०७:३४ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्