धेरै कुरा बदलियो, किन बदलिएन समाज ?  

हालसालै फेसबुकमा एउटा भनाइ देखेँ, जसमा लेखिएको थियो– ‘कुनै त्यस्तो व्रत भए हामीलाई भन, जुन व्रत लिएर जातपात, भेदभाव, गरिबी, भ्रष्टाचार, पाखण्डपन, अन्धविश्वास, बेरोजगारी तथा अन्यायबाट मुक्ति मिलोस्।’

हिन्दीमा लेखिएको यस भनाइको एक छेउमा ‘शैक्षिक सरोकार मञ्च भारत’ पनि लेखिएको थियो। नेपालभन्दा भारत क्षेत्रफलले २२ गुना ठूलो छ। तर, धर्म–संस्कृति, चालचलन धेरै हदसम्म मिल्दाजुल्दा छन्। 

भारतमा जस्तै नेपाली समाजमा पनि जातपातमा आधारित विभेद छ। योसँग हामी अनेक अन्धविश्वास, गरिबी, भ्रष्टाचार, बेरोजगारीबबाट गुज्रिरहेका छौँ। तर, चेतनशील, शिक्षित र विद्वान् भनिएका कतिपय विभेदकारी प्रचलनप्रति मौन बसिदिन्छन्, संस्कृति र मान्यताका नाममा। जबकि घर, समाज र राष्ट्र बदल्ने शिक्षितले नै हो।

हाम्रा आनीबानी हाम्रा चालचलन दिमागमै सेट भएका छन्। धर्म र संस्कृतिभित्रका कतिपय असमानताले आज समाजको एक तप्का (दलित, महिला, जनजाति, अल्पसंख्यक लगायत) विभेद र गरिबीमा पिल्सिन बाध्य छन्। हुन त संविधानले महिला र पुरुष, दलित र कथित उच्च जाति भनेर विभेद गर्न नपाइने भनेको छ। तर, व्यवहारमा परिवर्तन आएको देखिँदैन, यसका थुप्रै उदाहरण हामीसँग छन्। 

उदाहरण– १ 

एक पठित पुरुष एक चेतनशील महिलासँग सवाल–जवाफ गर्छन्। खोई कहाँ छ विभेद ? महिला–पुरुष बराबर छन् त ! महिलालाई पनि पढ्न दिएकै छ, आफ्नो मन लागेको गरेकै छन्। खुला रूपमा हिँडेकै छन्। देश–विदेश गएकै छन्। 

यसको जवाफमा ती महिला भन्छिन्– हो, कानुनले महिला पुरुष दुवै बराबर भनेको छ। महिला पनि सशक्त रूपमा अगाडि बढिरहेछन्। यसमा पनि जात, वर्ग, क्षेत्र र विरासतका कुरा आउँछन्। विकट गाउँमा पढेका र सहरमा निजी विद्यालयमा पढेका बीच फरक पर्छ।

पढ्दै नपढे पनि आर्थिक गतिविधिमा जातले फरक पार्छ। अर्कोतिर समग्र महिलालाई हेर्ने दृष्टिकोण पुरुषवादी छ। बच्चा हुर्काउने जिम्मा, घरधन्दा महिलाको मात्रै ठानिन्छ। पुरुष घरबाट निस्कँदा एक्लै निस्कन्छ, महिलाले बच्चा बोक्नुपर्ने हुन्छ, पुरुष जुरुक्क उठेर निस्कन सक्छ, महिलाले घरधन्दा गर्नुपर्ने हुन्छ। हामीले भान्साको काम छोरालाई सिकाउँदैनौँ, छोरालाई नै दल्छौँ। त्यसमाथि अंश, वंशको कुरा छ। त्यस्तै, पुरुष रातमा स्वतन्त्र हिँड्न सक्छ, महिलालाई पुरुषकै डर हुन्छ। समाजले पुरुष र महिलाले गर्ने काम छुट्ट्याएको छ, पाश्रिमिकमा विभेद गरेको पनि पाइन्छ। विभेदलाई हेर्न पनि आँखा र विवेक चाहिन्छ। 

सामाजिक न्यायको अभ्यास गर्न विभेदको बोधसँगै आँट पनि चाहिन्छ। गहिरिएर बुझ्ने हो भने सामाजिक न्यायले समान न्यायकै कुरा गर्छ। 

दलितप्रति हाम्रो बुझाइ

हिन्दूको बाहुल्य रहेको हाम्रो समाजमा दलितका मुद्दालाई कथित उच्च जातीय मान्यताले सकभर दबाएर, लुकाएर राख्न चाहन्छ, राखेको पनि छ। जति परिवर्तन भएको छ भने पनि भित्रभित्र विभेदमै छन् दलितहरू। कानुनले कुनै पनि मानिसलाई कुनै पनि आधारमा विभेद वा विभेदजन्य व्यवहार गर्न दिँदैन, गरे सजाय तोकेको अवस्था पनि छ। तर, छुवाछूत हटाउने विषयमा हामी बाआमा, हजुरबाहजुरआमा लगायत पुरानो पुस्ताले मान्नुहुन्न, चित्त दुखाउनुहुन्छ भन्छौँ। मानिसले छुँदैमा, मानिससँग संगत गर्दैमा केही हुँदैन भनी पुरानो पुस्तालाई बुझाउँदैनौँ। अर्थात्, कताकता दलितलाई ‘सानै वा तल्लै’ ठान्छौँ। जबकि कुकुरलाई घरभित्र राख्न हामीलाई कुनै समस्या छैन। कोही एकजना विद्वान् भन्दै थिए कि अरुबेला अछूत भनिनेसँग सँगै बसेर खाना खाएकै हो नि। तर ती पितृ हुन लागिसकेका बाआमाको चित्त दुखाउन दलितलाई भान्सामा लिएर जानू ? 

हामीले विभेद वा अन्याय गर्नका लागि कहिलेसम्म बहाना बनाइरहने ? मान्छे बन्ने जैविक प्रक्रियामा जातको लेबल लागेको हुँदैन, केवल रगत मासु, हाडछाला, चेतनाले नै मानिसको दर्जा पाउने हो। यो कुरा थाहा भएर, बुझेर पनि कतिपय कथित उच्च जातका मानिसले छुवाछूत लगायत विभेदलाई संस्कृतिजस्तै मानिरहेको अवस्था छ। एक मानिसले अर्को मानिसमाथि छुवाछूत वा कुनै पनि किसिमको भेदभाव गर्नु भनेको उसलाई मानिसको दर्जा नदिनु हो। जबकि आजको युगमा यो हक कसैलाई छैन। र, यसो गरेमा सजायको भागिदार हुनुपर्छ। तर हामीकहाँ कानुनको कार्यान्वयन हुन सकिरहेको छैन। कतिले सामाजिक सञ्जालबाट कानुनमाथि नै प्रश्न गरिरहेको पनि पाइन्छ। यो सबै हाम्रा चेतनाको कमीको उपज हो।     

हामीले हिजो थुप्रै गलत प्रथा हटाउँदै आयौँ। जस्तो: दासप्रथा, सतीप्रथा आदि। आज पनि यी प्रथाले रुप बदलेका छन्। त्यसैले बहसका विषय धेरै छन्, बुझाइ मिहिन हुन जरुरी छ। सबैभन्दा पहिले त हामीले हाम्रो सोचलाई बदल्नुपर्छ। रुढीवादी, विभेदजन्य व्यवहार बदल्न सक्नुपर्छ, नसके कानुनको भागिदार बन्नुपर्छ भन्ने बुझ्नुपर्छ। त्यस्तै, हामीले पुराना चालचलन वा रीतिरिवाजमा पनि परिवर्तन गर्नुपर्छ। यसका लागि शिक्षाको आवश्यकता पर्छ।

विश्व प्रसिद्ध नेता नेल्सन मण्डेलाले भनेका छन्– शिक्षा नै सबैभन्दा ठूलो हतियार हो, जसको माध्यमबाट तिमीले विश्वलाई परिवर्तन गर्न सक्छौ। 

शिक्षा जुन शिक्षकमार्फत विद्यार्थीमा गई सञ्चार हुन्छ। विद्यार्थी जो भविष्यका कर्णधार मानिन्छन्, उनीहरूले परिवर्तनका वाहक बनेर समाज परिवर्तन गर्नेछन् भन्ने एउटा आदर्श सोच राखिन्छ। त्यसैले शैक्षिक प्रणाली, शिक्षक, पाठ्यक्रम नै जात, वर्ग, लिंग, क्षेत्र आदि रुपमा विभेदकारी वा असमान भइदियो भने परिवर्तन सम्भव हुँदैन। नागरिकमा चेतना फैलाउन पनि एउटा सार्वभौम विचार वा प्रणाली बनाइनुपर्छ।

सबै कुरा नमिलको अवस्थामा कम्तीमा शिक्षित वर्ग तथा युवाले विभेदलाई विभेद हो भन्न सक्नुपर्छ। यसरी नै हाम्रो सोचमा परिवर्तन आउने हो। 

 Published Date: Monday, 19th July 2021 5:10:00 pm