जो सात सेता घोडासँगै माछापुच्छ्रे किन कोर्छ?
ग्राहकको शान्तिका लागि चित्र कोर्ने श्यामलाई घरीघरी गुमाएको छोराको आकृतिले झस्काउँछ। उनका चित्रका कुनै न कुनै रङ र रेखामा गुमाएको छोराको झझल्को उत्रेको हुन सक्छ।
काठमाडाैं, साउन २ : क्यानभासको अघि कुची लिएर घोरिँदै थिए, श्याम फुयाल। क्यानभासमा माछापुच्छ्रे हिमालको दृश्यचित्रले आकृति लिन खोज्दै थियो।
‘यो वेलपेन्टिङ ल्यान्डस्केप (दृश्यचित्र) हो, यसको अलि बढी डिमान्ड छ। मानिसलाई प्रकृति नै मनपर्छ। त्यसमाथि माछापुच्छ्रेको आकृति राम्रो छ,’ श्याम मसिनो कुची क्यानभासमा बिस्तारै छुवाउँदै बोले, ‘दृश्यचित्रमा माछापुच्छ्रे निकै खुलेर आउँछ।’
खासमा ल्यान्डस्केपको काम फिल्डमै गएर गरिन्छ। तर, नेपालजस्तो प्राकृतिक रूपमा धनी देशमा जन्मेको व्यक्तिलाई फिल्डमा गइरहन जरुरी हुँदैन। ‘हाम्रो कल्पनामा पनि दृश्य छन्, जसलाई हामीले देखेर र हेरेर हुर्कियौँ,’ श्याम भन्छन्, ‘अहिले दृश्यचित्र उतार्न म कल्पनाकै सहारा लिइरहेको छु। आफूले देखेका, हिमाल, पहाड, बस्ती, वन, नदीको संयोजन गर्न के कठिन भयो र?’
काठमाडौं, अनामनगरको हनुमानस्थानमा उनको कला पसल छ। फ्रेममा सजिएका चित्र र प्रिन्ट फोटोले उनको पसल भरिएको छ, जसमा अधिकांश प्रिन्ट र पेन्टिङ दौडँदै गरेका सातवटा सेता घोडाका छन्। पृष्ठभूमिमा उदाउँदै गरेको घामले गर्दा ती सेता घोडा ऊर्जावान् लाग्छन्। वास्तुशास्त्रका दृष्टिले यस्तो चित्रलाई ऊर्जामूलक मानिन्छ। घर वा कार्यालयमा यस्तो चित्र राख्दा मानिसमा ऊर्जा बढेर कार्य, धन र व्यापार बढ्ने विश्वास गरिन्छ। घोडा, जो उठेरै निदाउँछ, सुत्ने भन्ने उसको अभ्यासमा छैन, जो वेगले कुदिरहन सक्छ। त्यसैले मानिसको प्रबल कार्यक्षमतालाई ‘हर्स पावर’को संज्ञा दिइन्छ। ‘यसैले पनि यी घोडाका चित्र अलि बढी बिकेका छन्,’ श्यामकी श्रीमती सविता बोलिन्। उनी पसलमा ग्राहकसँग डिल गर्छिन्। श्याम भने क्यानभासमै हराउँदै थिए, हराइरहन्छन्।
सात घोडाका चित्र केही महँगो पर्छ, फोटो भने निकै सस्तो। कतिले श्यामलाई सात घोडाको चित्र बनाउन अर्डर पनि गर्छन्। पछिल्लो समय काठमाडौंमा बनाइएका कतिपय घरमा इन्जिनियरले ‘पेन्टिङ वाल’ भनेर छुट्ट्याउने गर्छन्। त्यहाँ चित्र कोर्न कलाकारलाई बोलाइन्छ। ‘मैले पनि १०–१२ घरका भित्तामा चित्र कोरेको छु,’ श्याम भन्छन्, ‘बानेश्वरको एउटा घरमा सातवटा घोडाको चित्र बनाउन भनिएको थियो। अधिकांशले हिमाल, पहाडकै दृश्यचित्र बनाउन भन्छन्।’
घरका भित्तामा चित्र कोर्दा उनले भित्तोको साइज हेरी मूल्य लिन्छन्, ३० देखि ६० हजार रुपैयाँसम्म। यहाँ पसल खोलेको भने पहिलो लकडाउनपछि हो। त्यसअघि उनले विभिन्न आर्ट ग्यालरीसँग सम्पर्क गरेर चित्र बेच्थे। ग्यालरीबाट एक लाख ४० हजार रुपैयाँसम्मको चित्र बेचेको उनी बताउँछन्। ‘केहीअघि अस्ट्रेलियामा रेस्टुरेन्ट चलाएर बस्ने एक नेपालीले मसँग ७५ हजार रुपैयाँको दृश्यचित्र किन्नुभयो,’ श्याम भन्छन्, ‘तर, यहाँको पसलबाट त्यति महँगा चित्र बिक्री हुँदैनन्।’
आम नेपालीले चित्रकला बुझ्दैनन्, प्रायः पूजाका लागि देवीदेवताका फोटो किन्छन् भन्ने गरिन्छ। तर, श्याम यसमा सहमत छैनन्। ‘पछिल्लो समय नेपालीले चित्रको महŒव बुझ्न थालेका छन्,’ उनी भन्छन्, ‘अहिले पर्यटक छैनन्, मेरो पसल नेपाली ग्राहकले नै चलेको छ। पछिल्लो समय देखासिकी पनि बढेको छ। कोही यस्तो ग्राहक पनि आउनुहुन्छ, फलानोको घरमा मैले यस्तो चित्र देखेको थिएँ, त्यस्तो बनाउन कति लाग्छ भनेर सोध्नुहुन्छ।’
कोरोना महामारीका कारण उनको व्यापार त्यति छैन। त्यही महिनाको ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी हुन्छ। पसलबाट यतिखेर हजार, १२ सयदेखि १०–१२ हजार रुपैयाँ सम्मका चित्र बिक्ने गरेको उनी बताउँछन्। महामारी अघिसम्म उनले चित्र बेचेरै मासिक तीन–चार लाख रुपैयाँ कमाउँथे। सुन्दरहरैँचा नगरपालिका–३ मोरङका ४० वर्षीय श्यामले भक्तपुरको दुवाकोटमा घर ठड्याइसकेका छन्। झन्डै चार वर्षजति चित्र बनाएर बेचेको पैसाले उनले भक्तपुरमा घर बनाएका हुन्। ‘दुई वर्षको कमाइले तीन आना जग्गा किनेँ, त्यसपछि दुई वर्षको कमाइले दुई तलाको घर बनाएँ,’ उनले भने। घर ठडिन एक करोड ८० लाख जति लाग्यो। उनको घरमा पनि कला स्टुडियो छ, जहाँ उनले चित्र कोर्छन्।
चित्रकलामा बाल्यकालदेखि रहर र रुचि भए पनि श्यामले ०६८ देखि व्यावसायिक रूपमा चित्र कोर्न थालेका हुन्। कक्षा ७ सम्म जन्मथलोमै र ८ देखि एसएलसीसम्म उनले काठमाडौंको पद्मोदय माविमा पढे। पद्मोदयमा पढ्दा उनले साथीहरूको आग्रहमा चित्र कोरिदिन्थे। पछि विद्यालयले पनि भित्तामा चित्र बनाउन लगाएको उनी बताउँछन्।
विद्यालयको चित्र बनाउँदा उनले एक हजार पाँच सय रुपैयाँ पाएका थिए, जुन उनको चित्रकलाबाट कमाएको पहिलो ठूलो कमाइ थियो। त्यसअघि साथीहरुले खाजा खुवाएर पनि उनलाई चित्र कोराउँथे। बिस्तारै उनले स्कुलमा चित्रकलाका विभिन्न प्रतिस्पर्धामा भाग लिन थाले। एसएलसीपछि ललितकला क्याम्पसमा दुई वर्ष चित्रकला पढेर ०५८ मा गाउँ फर्किए। गाउँमा उनले बोर्डहरूमा लेख्ने काम गरे। एक दिन चित्र बनाउने क्रममा उनको भेट सवितासँग भयो। ०६० सालमा उनीहरूले विवाह गरे।
गाउँमा जीवन राम्रैसँग चलिरहेको थियो। विडम्बना, उनीहरूका दुई छोरामध्ये कान्छोलाई ब्लड क्यान्सर भयो, उपचारका सिलसिलामा यी दुई दम्पती काठमाडौं आए। खर्च जुटाउनका लागि हातमा सीप भनेकै चित्रकला थियो, उनले चित्र कोरेर ठमेलका कला पसलमा बेच्न थाले। यता उनको सात वर्षको छोरोलाई क्यान्सरले जित्यो, उनले छोरा गुमाए। यसपछि मन बहलाउन पनि उनले चित्रकै सहारा लिनुपर्ने भयो। चित्रकलालाई निरन्तरता दिन उनले सिर्जना कलेज अफ फाइन आर्टस्बाट एक वर्षको कोर्स गरे।
अचेल हरेक बिहानजसो दुवाकोटदेखि श्याम दम्पती अनामनगर आइपुग्छन्। पत्नी सविता विशेषतः चित्र बेच्न र ग्राहकलाई चित्रको महŒवबारे बुझाउन व्यस्त हुन्छिन्। उनी भन्छिन्, ‘सेता सात घोडा, हाँस पानीमा चलेको साथै झरनाको चित्र धेरै बिक्छन्। किनकि यस्ता पेन्टिङ घरभित्र राख्दा शुभ हुन्छ भन्ने मान्यता छ।’
श्यामले मुहार चित्र पनि कोर्छन्। ग्राहकको शान्तिका लागि चित्र कोर्ने श्यामलाई घरीघरी गुमाएको छोराको आकृतिले झस्काउँछ। उनका चित्रका कुनै न कुनै रङ र रेखामा उनको गुमाएको छोरो उत्रेको हुन सक्छ।