Kathmandu Press

आफूभन्दा सय गुणा ठूला सर्प मार्ने माकुरा

शरीरको आकार हेरेर अन्दाज गर्ने हो भने सर्प र माकुराको लडाइँमा कसले जित्ला? पक्कै पनि सर्पले जित्नुपर्ने हो।तर, खोजकर्ताहरूले यस्ता विषालु माकुराको बारेमा...
आफूभन्दा सय गुणा ठूला सर्प मार्ने माकुरा

शरीरको आकार हेरेर अन्दाज गर्ने हो भने सर्प र माकुराको लडाइँमा कसले जित्ला? पक्कै पनि सर्पले जित्नुपर्ने हो।

तर, खोजकर्ताहरूले यस्ता विषालु माकुराको बारेमा पत्ता लगाएका छन्, जसले आफूभन्दा सय गुणा ठूला सर्पसँग लडाइँ गर्छन्। अचम्मको कुरा के छ भने माकुराले सर्पसँग लडाइँ मात्र गर्दैनन्, विषालु सर्पलाई मार्छन् पनि।

अध्ययनकर्ताहरूले माकुराले सर्प मारेका तीन सय १९ वटा घटना पत्ता लगाएका छन्, जहाँ माकुराहरूले विषालु सर्प मारेर तिनीहरूलाई आहारा बनाएका छन्। त्यसमध्ये दुई सय ९७ वटा घटना खुला जंगलमा भएका थिए भने २२ वटा चाहीँ प्रयोगशालामा परीक्षणका क्रममा देखिएको थियो।

यसमध्ये एक सय हाराहारी घटना खोज तथा अनुसन्धान गरेर जर्नलमा प्रकाशित थिए भने बाँकी समाचार तथा सामाजिक सञ्जालमार्फत् पत्ता लगाइएको हो।

माकुराका केही प्रजाति खतरनाक सर्पहरूलाई मार्न सक्षम रहेको खोजकर्ता तथा वरिष्ठ अध्येता मार्टिन निफ्लरले बताएका छन्। निफ्लर बेस विश्वविद्यालयका संरक्षण जीव वैज्ञानिक हुन्। उनले यसअघि चमेरा खाने माकुराका बारेमा शोधपत्र प्रकाशित गरेका थिए।

निफ्लर र जर्जिया विश्वविद्यालयका सरिसृप वैज्ञानिक ह्वाइटफिल्ड गिबन्सले जर्नल अफ एराक्नोलोजीमा यससम्बन्धी रिपोर्ट प्रकाशन गरेका छन्। उनीहरूको अध्ययनअनुसार सबैभन्दा बढी सर्प मार्ने माकुराको प्रजाति ‘विडो स्पाइडर्स’ हुन्।

‘विडो स्पाइडर्स’मध्ये पनि ‘ब्ल्याक विडो स्पाइडर्स’ सबैभन्दा खतरनाक हुन्छन्। आधाभन्दा बढी सर्प मार्ने माकुरा यही ‘ब्ल्याक विडो’ प्रजातिका रहेको रिपोर्टमा उल्लेख छ। अफ्रिकन बटन स्पाइडर र टरान्टुला प्रजातिका माकुराले पनि थुप्रै सर्प मारेको तथ्यांक छ।

यी माकुराको लम्बाइ सामान्यतः एक सेन्टिमिटर हाराहारी हुन्छ। तर, यिनीहरू औसतमा एक मिटर लम्बाइ हुने सर्पलाई मारेर आहारा बनाउन सक्षम हुन्छन्। यी माकुराहरूले आफूभन्दा तीन सय ५५ गुणा बढी वजन भएका सर्पलाई समेत मारेको भेटिएको छ।

माकुराले सर्प मार्ने घटना अन्टार्टिकाबाहेक सबै महादेशमा भेटिएको छ। सबैभन्दा धेरै घटना भने अमेरिका र अस्ट्रेलियामा देखिएको छ। यी माकुराहरूले सर्प मात्र होइन, चमेरा र विभिन्न प्रजातिका चराहरूलाई पनि मारेर आहारा बनाएका छन्।

माकुराको विषले सर्पलाई मर्न केही घण्टादेखि २–३ दिनसम्म पनि लाग्न सक्छ। यस्ता माकुराले बलियो जालो बुनेर सर्पलाई फसाउँछन् र मरेपछि उनीहरूको शरीरको भित्री अंग चुस्छन्। एउटा सर्प खाइसक्न माकुरालाई कैयौँ दिन लाग्छ।

माकुराको आहारा बन्ने सर्पहरू आफैँमा पनि विषालु हुन्छन्। तर पनि, सर्प मारेर खाँदा माकुरालाई केही असर गरेको पत्ता लागेको छैन।

(साइन्स एलर्ट डट कमबाट)
 

प्रकाशित मिति: ०६:०१ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्