Kathmandu Press

समुद्री आँधीको प्रभाव हिमाल आरोहणमा

अरब सागरबाट सुरु समुद्री आँधी ‘चक ते’को प्रभावलाई मध्यनजर गर्दै हिमाल आरोहण तत्काललाई रोक्न मौसमविद्ले सुझाव दिएका छन् ।
समुद्री आँधीको प्रभाव हिमाल आरोहणमा
फाइल तस्बिर

काठमाडौं, जेठ ३ : अरब सागरबाट सुरु समुद्री आँधी ‘चक ते’को प्रभावलाई मध्यनजर गर्दै हिमाल आरोहण तत्काललाई रोक्न मौसमविद्ले सुझाव दिएका छन् ।

मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन्।

‘मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन’, आधार शिविरबाट आचार्यले भनिन्, ‘यतिबेला आरोहीहरू आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा हुनुहुन्छ।’

२४ बैशाखदेखि सगरमाथा आरोहणको वसन्त सिजन सुरु भएको थियो। २८ र २९ वैशाखमा धेरै आरोहीले सगरमाथाको शिखर चुमेका थिए। यसबीचमा दुई विदेशी आरोहीको मृत्यु पनि भएको छ।

दुई दिनमा करिब डेढ सयभन्दा बढी आरोहीले सगरमाथा शिखरमा पाइला टेकेको अनुमान छ । कोरोना जोखिमका कारण यकिन तथ्यांक संकलनमा समस्या भएको निर्देशक आचार्यको भनाइ छ।

उनका अनुसार आमादब्लम हिमालको आरोहण सकिएको छ भने ल्होत्से, नुप्त्सेलगायतको आरोहण जारी छ। मौसम अनुकूल नहुँदा ३० वैशाखदेखि आरोहण प्रभावित बनेको छ ।

अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिन थालेकाले तत्काल हिमाल आरोहण नगर्न–नगराउन मौसमविद्ले सुझाएका छन्।

हिमाल आरोहणमा गएकाहरू यो समयमा आधार शिविरभन्दा माथि नजाँदा राम्रो हुने मौसमविद् मीनकुमार अर्यालले बताए । आगामी बिहीबारदेखि यसको प्रभाव बढी देखिने हुँदा उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाइ छ।

‘भोलि पर्सिसम्म हिमालको माथिल्लो क्षेत्रमा गएकाहरू आधार शिविरमा झर्ने या सुरक्षित स्थानमा बस्नुपर्छ,’ मौसमविद् अर्यालले भने, ‘यो समयमा उच्च वेगको हावा, पानी र हिमपात हुने सम्भावना हुन्छ, त्यसैले सतर्कता अपनाउन आवश्यक छ।’
 

प्रकाशित मिति: १४:०६ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्