Kathmandu Press

अस्पताल जाँदैनन् सङक्रमित, घरमै उपचार

झापा, जेठ ३ : नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ। आफूलाई कोरोना सङ्क्रमण भएको...
अस्पताल जाँदैनन् सङक्रमित, घरमै उपचार

झापा, जेठ ३ : नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ। 

आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले छुट्टै होम आइसोलेशनमा बसिरहेका छन्। सास फेर्न समस्या देखिए सकभर घरमै अक्सिजन सिलिण्डर लाने र अक्सिजन सिलिण्डर नपाए मात्रै उपचारका लागि अस्पताल जाने गरेका छन्। 

गौरीगञ्ज गाउँपालिकामा कोरोनाको दोस्रो भेरियन्टपश्चात् आजसम्म ६० सक्रिय सङ्क्रमित रहेका छन्। गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सङ्क्रमितमध्ये ५० जना होम आइसोलेशनमा छन् भने दुई जनाले कोशी अस्पतालमा उपचार गराइरहेका छन् । कूल सङ्क्रमितमध्ये एक जनाको मुत्यु भइसकेको छ।

दोस्रो भेरियन्ट देखा परेपश्चात् गाउँपालिकाद्वारा १२२ जनाको स्वाव सङ्कलन गरिएको स्वास्थ्य शाखाप्रमुख रामचन्द्र मिश्रले बताए। कोरोना सङ्क्रमित ६० मध्ये सात जना सङ्क्रमण मुक्त भइसकेका छन्। कोरोना रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाले १५ शय्याको आइसोलेशन र ८ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ। 

पचास शय्या क्वारेन्टिन कोरोना सङ्क्रमित बिरामीका लागि तयारी अवस्था राखिए पनि दोस्रो भेरियन्टपछि कोही पनि बिरामी अस्पताल आएका छैनन्। शय्याहरू खाली छन् । बिरामीले घरमै उपचार गराइरहेका छन्। 

गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले नेपाल सरकारको प्रोटोकलअनुसार नै बिरामी होम आइसोलेशनमा बसेको बताए। उनले होम आइसोलेशनमा बसेका बिरामीहरुसँग नियमितरूपमा स्वास्थ्यकर्मीहरुको सम्पर्क भइरहेको र उनीहरुको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गरेको जानकारी दिए। (रासस)

प्रकाशित मिति: ०८:२९ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्