Kathmandu Press

अस्पताल कोभिड बिरामीले भरिए, उपचार नपाएर सकसमा नन्-कोभिड बिरामी

कोरोना महामारी उत्कर्षमा रहँदा अन्य दीर्घरोगका बिरामीहरूको उपचार प्राथमिकतामा छैन। नियमित चिकित्सकको परामर्श लिइरहनुपर्ने नन्-कोभिड बिरामी यसबाट मारमा परेका छन्।
अस्पताल कोभिड बिरामीले भरिए, उपचार नपाएर सकसमा नन्-कोभिड बिरामी

काठमाडौं, जेठ १ : ‘हाम्रो हेल्थ सिस्टम कोल्याप्स भइसक्यो। गंगालाल अस्पताललाई सरकारले हृदय रोग भएका र त्यससँगै कोरोना संक्रमण पनि देखिएका बिरामीलाई हेर्नु भनेको थियो। तर, अहिले अस्पतालको इमर्जेन्सीलाई पनि पूरै कोभिडको उपचारमा प्रयोग गरिसकेका छौँ। हामी अहिले मुटु रोगीलाई समेत भर्ना लिने अवस्थामा छैनौँ। गंगालालमा बिरामीको उपचार गर्ने क्षमता दुई सय ३९ हो। तर, अहिले ८० जनाभन्दा बढी कोभिडका बिरामी छन्।’ गत मंगलबार काठमाडौं महानगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले गरेको गुनासो हो यो।

कोरोना महामारी उत्कर्षमा रहँदा अन्य दीर्घरोगका बिरामीहरूको उपचार प्राथमिकतामा छैन। त्यसमध्ये हृदय रोग र क्यान्सर पनि पर्छन्।

सहिद गंगालाल राष्‍ट्रिय हृदय केन्द्रमा अहिले मुटुरोगीसँगै कोभिड पनि देखिएका बिरामीसमेत उपचारत छन्। यो अस्पतालमा ८० जनाभन्दा बढी कोरोनाका बिरामी उपचाररत छन्।

मुटुरोगको उपचार गराउन आएका बिरामीमा कोरोना संक्रमण पनि देखिएकाहरूको उपचार भइरहेको अस्पतालले जनाएको छ। त्यस्ता बिरामीको अवस्था गम्भीर रहेको अस्पतालको भनाइ छ। बेड र अक्सिजन अभाव हुन थालेको बताएका निर्देशक डा. अधिकारीले थप कुरा गर्न चाहेनन्।

भक्तपुर क्यान्सर अस्पतालको अवस्था पनि उस्तै छ। उक्त अस्पतालको कुल बेड क्षमता एक सय २५ हो। तीमध्ये ७० वटा बेडमा क्यान्सरका बिरामी उपचाररत छन्। उनीहरूमध्ये १० जनामा कोरोना संक्रमण देखिएको र संक्रमण देखिएका बिरामीलाई अलग्गै कोठामा राखिएको अस्पतालका निर्देशक डा. विष्‍णुदत्त पौडेलले जानकारी दिए।

‘निषेधाज्ञाका कारण कतिपय क्यान्सरका बिरामी उपचार गर्न अस्पताल आउन पाइरहेका छैनन्। शल्यक्रिया गर्नुपर्ने केही बिरामीको पनि समय पछिलाई सारिएको छ,’ डा. पौडेलले काठमाडौं प्रेससँग भने, ‘आउने बिरामीहरूलाई भने सबै सेवा दिइरहेका छौँ। र, कोभिड देखिएका बिरामीका लागि छुट्टै व्यवस्था मिलाएका छौँ।’

अहिले सरकारको प्राथमिकतामा कोरोना संक्रमित मात्र परेकाले क्यान्सरलगायत नन्-कोभिड बिरामी समस्यामा रहेको डा. पौडेलले बताए। 

‘कोभिडलाई प्राथमिकता दिइनु स्वाभाविकै हो। तर, क्यान्सरजस्ता नन्-कोभिड बिरामीमा पछि समस्या आउने सम्भावना अत्यधिक छ। क्यान्सर दिन प्रतिदिन बढ्ने रोग हो। लामो समयसम्म उपचार नपाउँदा रोग स्टेज वन, स्टेज टु गरी बढ्दै जान्छ,’ उनले भने, ‘अहिले उपचार नपाएका क्यान्सरका बिरामीको स्वास्थ्य समस्या पछि गम्भीर रूपमा देखिने सम्भावना अत्यधिक छ।’

हृदयरोग विशेषज्ञ डा. प्रकाश रेग्मी पनि कोरोनाले अहिलेभन्दा पनि पछि धेरै स्वास्थ्य समस्या निम्त्याउने बताउँछन्। कोरोना भाइरसका कारण तत्कालका लागि रुघाखोकी, अक्सिजनको कमी, स्वाद नआउने, गन्ध नआउनेलगायत लक्षण देखिए पनि दीर्घकालीन रूपमा फोक्सो, कलेजो र मुटुमा असर पार्ने डा. रेग्मी बताउँछन्।

‘अहिले कोभिड संक्रमण पुष्‍टि भएकाहरूमध्ये ५० प्रतिशतभन्दा बढीलाई निमोनिया देखिएको छ। धेरै संख्यामा अक्सिजनको कमी पनि देखिएको छ। यसले शरीरको विभिन्‍न अंगमा प्रत्यक्ष वा अप्रत्यक्ष असर पारेको हुन्छ,’ डा. रेग्मी भन्छन्, ‘कोभिडकै बिरामीलाई आईसीयु र अक्सिजन पुगिरहेको छैन। त्यसमाथि मुटुरोगका कारण अक्सिजन नपुगेर आईसीयुमा राख्नुपर्ने बिरामी अहिले मर्कामा छन्।’

अहिले मुटुरोगभन्दा महामारीकै बढी प्रभाव परिरहेको हुँदा सरकारले पनि उनीहरूको कुरा सुन्‍ने अवस्था नभएको उनी बताउँछन्। ‘पहिला नै मुटु रोग भएको र थप कोरोना संक्रमण भएका कतिपय मानिस अस्पताल गएर उपचार पाउन सम्भव नभएर घरमै बसिरहेका पनि छन्,’ उनी भन्छन्, ‘केही समयपछि कोभिड नियन्त्रण भए पनि मुटु, फोक्सो र मानसिक रोगीहरू बढ्ने सम्भावना अत्यधिक छ।’

डा. रेग्मीका अनुसार अहिले कोराना संक्रमितको स्वास्थ्यमा त असर परेकै छ तर कोरोना नलागेका मानिसको स्वास्थ्यमा पनि यसले अप्रत्यक्ष प्रभाव पारिरहेको छ। ‘मानिसको उच्च रक्तचाप नियन्त्रणमा छैन, मुटुरोगको उपचार गर्न पाएका छैनन्, मधुमेह नियन्त्रणमा छैन,’ उनी भन्छन्, ‘बिरामीले नियमित परीक्षण गर्न पाएका छैनन्। औषधि छुट्नुलगायत धेरै समस्या नन्-कोभिड बिरामीले भोग्नुपरिरहेको छ। त्यसले गर्दा उनीहरूमा दीर्घकालीन स्वास्थ्य जटिलता हुने मात्र नभई मृत्युदर बढ्ने जोखिम पनि छ।’

प्रकाशित मिति: १४:१४ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्