Kathmandu Press

जति ठूलो मस्तिष्क, त्यति नै धेरै हाई!

जनावरहरूमा गरिएको एक बृहत अध्ययनले हाई काट्ने विषयमा केही रोचक तथ्य पत्ता लागेको छ। ठूलो आकारको मस्तिष्क र अधिक स्नायु कोशिका भएका जनावरले...
जति ठूलो मस्तिष्क, त्यति नै धेरै हाई!
Hardik ivfHardik ivf

जनावरहरूमा गरिएको एक बृहत अध्ययनले हाई काट्ने विषयमा केही रोचक तथ्य पत्ता लागेको छ। ठूलो आकारको मस्तिष्क र अधिक स्नायु कोशिका भएका जनावरले लामो समयसम्म हाई काढ्न सक्ने पत्ता लागेको हो।

शोधकर्ताले चिडियाखानाका ५५ स्तनधारी र ४५ प्रजातिका चराचुरुंगीबाट खिचिएका एक हजार दुई ९१ वटा भिडियोबाट जनावरको मस्तिष्कको आकारसँग हाई काढ्नुको सम्बन्ध पत्ता लगाएका हुन्।

‘हामी क्यामेरा लिएर धेरै चिडियाखानामा घुम्यौँ र हाई काढ्ने समयसम्म जनावरको नजिक बस्यौँ,’ नेदरल्यान्ड्सको युट्रेक्ट विश्वविद्यालयका इथोलोजिस्ट जर्ग म्यासनले भने, ‘त्यो एक लामो पर्खाइ थियो।’

शोधकर्ताहरूका अनुसार जनावरको हाई काट्ने ढाँचा निश्चित भए पनि मस्तिष्कको आकार र स्नायु कोशिकाको संख्याले यसको अवधिमा प्रभाव पार्ने देखिएको छ। यस्तै, स्तनधारी जनावर र चराचुरुंगीका पुर्खादेखि नै हाई काढ्ने ट्रेन्ड विकसित हुँदै आएको उनीहरूको ठम्याइ छ।

अनुसन्धानकर्ताले सन् २००७ मा हाई काढ्नु भनेको मस्तिष्कलाई शान्त पार्ने तरिका भएको दाबी गरेका छन्। त्यसैले मस्तिष्कको आकार जति ठूलो भयो, त्यति नै बढी हाई काढ्नु आवश्यक भएको अध्ययनमा देखिएको हो।

सोही तथ्यलाई पछिल्लो अध्ययनले पनि पुष्टि गरेको छ। जस्तो– मस्तिष्कको आकार ठूलो रहेकाले स्तनधारी जनावरले चराचुरुंगीभन्दा बढी हाई काढ्ने गरेको पत्ता लागेको छ। चराचुरुंगीमा भित्री तापमान स्तनधारी जनावरको तुलनामा बढी हुन्छ। त्यसको अर्थ हो– चिसोका कारण पनि हाई बढी काढिन्छ।

यस्तै निष्कर्ष सन् २०१६ को अध्ययनमा निस्किएको थियो। त्यतिबेला मानिसमा अध्ययन गरिएको थियो। र, त्यस अध्ययनमा एकपटक हाई काढ्ने अवधि मानिसमा ६.५ सेकेन्ड र मुसामा ०.८ सेकेन्ड पाइएको थियो।

स्टेट युनिभर्सिटी अफ न्युयोर्कका इथोलोजिस्ट एन्ड्रु गेलपका अनुसार हाई काढ्दा मस्तिष्कमा चिसो रक्तप्रवाह हुन्छ। र, ताप नियमन क्रियाविधि सक्रिय हुन्छ।

यस अध्ययनमा हाई काढ्नु र ज्ञानको प्रसार तथा हाईको आवृत्तिबारे केही शोध गरिएन। अहिलेसम्मको बुझाइमा मानिसले दैनिक पाँचदेखि १० पटकसम्म हाई काढ्ने अनुमान छ।

हाई काढ्ने जनावरको भिडियो खिच्न धेरै धैर्य आवश्यक हुने अस्ट्रियाको भियना युनिभर्सिटीकी बायोलोजिस्ट मार्गरिटा हार्टलेबले बताइन्। शोधकर्ताहरूको निष्कर्ष मस्तिष्कलाई शान्त पार्ने एक प्राकृतिक विधिका रूपमा हाई काढ्नु रहेको भन्ने छ।

(साइन्स अलर्ट डट कमबाट)
 

प्रकाशित मिति: ०६:१० बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्