कोभिड–१९ विरुद्धको लडाइँमा विश्वव्यापी तथ्य

अंग्रेजको पञ्जाबाट मुक्त भएयताकै सर्वाधिक सार्वजनिक स्वास्थ्य चुनौती सामना गरिरहेको छ, भारतले । तत्कालीन संकटमा बलियो आन्तरिक आयाम देखिएको छ र यस तथ्यलाई अधिक महत्त्व दिन सकिने परिस्थिति पनि छैन । कोरोना प्रसार तीव्र हुनुका केही घातक कारण सतहमै देखिन्छन्– सामूहिक धार्मिक समारोहका लागि सरकारले दिएको अनुमति, विज्ञान र विज्ञको नेतृत्व नदेखिनु, सार्वजनिक स्वास्थ्यलाई लिएर खराब सार्वजनिक सञ्चार रणनीति, पर्याप्त तयारीको कमी, विभिन्न चरणमा गरिएका चुनाव आदि । वर्तमान संकटमाथि बिहंगम दृष्टि लगाउँदा भारत मात्र होइन, पूरै विश्वले भविष्यको थप क्षति रोक्न तथा जनजीवनलाई सामान्य अवस्थामा फर्काउन खासगरी खोप अभियान नै प्रभावी सिद्ध हुन सक्छ ।

सन् २०२० को पहिलो ६ महिना त कोभिड–१९ को चुनौती सामना गर्ने कुरामा विश्वका शक्तिराष्ट्रबीचमै विवादकै विषय देखिन्थ्यो ।विश्वव्यापी मृत्युदर बढ्दै जाँदा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले एक मस्यौदा तयार पार्‍यो, त्यतिन्जेलसम्म अमेरिका र चीनबीचको द्वन्द्व यसमा अवरोधका रूपमा देखिएको थियो । धेरै महिनासम्म अमेरिका र चीनले यस्तो मस्यौदाका बारेमा छलफल मात्र गरे ।

सार्वजनिक स्वास्थ्य स्रोतमा पहुँच पुर्‍याउन सक्ने विश्वव्यापी नेताको अभावमा अनुसन्धानकर्ताहरूले बारम्बार औँल्याएझैँ खोप राष्ट्रवादले जनजीवनलाई सामान्य बनाउन बाधा पुगिरहेको छ । त्यसले मानवीय समस्या अझ विकराल बनाउँदैछ । भारतले अहिले सामना गरिरहेको परिस्थिति पनि त्यस्तै अवरोधको एक उदाहरण हो । अक्सफामले सेप्टेम्बर २०२० मै भनेको थियो– विश्वको १३ प्रतिशत जनसंख्याले कोभिड–१९ खोप करिब ५१ प्रतिशत डोज प्राप्त गरिसकेका छन् ।

नर्थ क्यारोलिनास्थित ड्युक विश्वविद्यालयको ग्लोबल हेल्थ इनोभेसन केन्द्रले आफ्नो तथ्यांकमा उच्च आय भएका मुलुकले हाल चार अर्ब ८) करोड डोज खोपमाथि कब्जा जमाएको बताएको छ । जब कि, कम वा मध्यम आय भएका मुलुकले ६७ करोड डोज मात्र प्राप्त गरेका छन् ।

अप्रिल २०२० मा विश्व व्यापार संगठनले पारदर्शिताको कमी एवं अन्तर्राष्ट्रिय वा सहकार्यको विफलताले कोरोना प्रसार कम गर्न गरिएका प्रयास सफल हुन नसकेको बताएको थियो । गत वर्ष अमेरिकाले महामारीको चपेटामा परेको अवस्थामा चीनलाई सुरक्षात्मक उपकरणका लागि आफ्नो निर्यातमा गुणस्तर नियन्त्रण नियममा सुधार गर्न आग्रह गरेको थियो । सोही नियमका कारण खोप आपूर्तिमा बाधा पुगेको अमेरिकी बुझाइ थियो । ८० वटा मुलुकले मास्क, पञ्जालगायत सामानको अभावको मुख्य कारण सोही नियम रहेको बताएका थिए ।

मार्च–अप्रिल २०२० सम्म अमेरिकाले पनि मास्कलगायत सामग्रीको अभाव झेलिरहेकै थियो । सोही कारण स्वास्थ्यकर्मी पनि व्यापक संक्रमणको शिकार बनेका थिए । कोभिड–१९ महामारीले वित्तीय स्रोतमा पहुँच हुँदा मात्र मानवीय जीवन सहज नहुने प्रष्ट्याएको छ ।

कोभिड–१९ विरुद्ध लड्दै गर्दा धनी र विकासशील मुलुकबीचको बौद्धिक क्षमताको पुरानो बहस सतहमा देखिएको छ । विकासोन्मुख मुलुकले बौद्धिक क्षमता, पेटेन्ट र अन्य प्रावधानमा अस्थायी छुट माग गरिरहेका छन् ।

प्याटेन्टसहितका औषधि महँगो पर्छन् किनकि औषधी कम्पनीहरूले अनुसन्धान र विकास लागत जोडेर आफ्नो उत्पादनको मूल्य निर्धारण गर्छन् ।

भारतको वर्तमान कोभिडको संकटले कम आय भएका मुलुकमा खोप कार्यक्रमलाई जोखिममा पारेको छ । भारत सबैभन्दा धेरै खोप उत्पादन गर्ने मुलुक हो । खोपमा समान पहुँच सुनिश्चित गर्न विश्वव्यापी पहलको रूपमा कोभ्याक्सअन्तर्गत ९५ मुलुकमा ६ करोड ६३ लाख डोज खोप निर्यात भएको छ ।

कोभिड–१९ विरुद्ध लडाइँको प्रारम्भिक अन्त्यको विषय सार्वजनिक स्वास्थ्य स्रोतहरूमा छरितो पहुँचका लागि बढीभन्दा बढी विश्वव्यापी समानता सुनिश्चितता देखाउनेछ । तर, अहिलेको विश्व व्यवस्था नै सर्वसम्मत अग्रिम समाधान दिन अपर्याप्त सावित भएको छ ।

- द टेलिग्राफबाट
 

 Published Date: Tuesday, 11th May 2021 6:39:00 am