त्यो चोट, जसले वसन्तलाई फुटबलरबाट गजलकार बनायो
वसन्तले घुँडाको दोस्रो शल्यक्रिया पनि आर्मी अस्पताल छाउनीमै गरे र लामो समय वैशाखीको सहारा लिए । नेपाली राष्ट्रिय टिमबाट खेल्ने उनको सपनामा घुँडाको चोट बाधक बन्यो । उनको फुटबल करिअर र जीवनकै सबैभन्दा ठूलो सपनामा पूर्णविराम लाग्यो।काठमाडौं, वैशाख १८ : युवा पुस्तामाझ रुचाइएका गजलकार हुन्, वसन्त ओली ‘वसन्ती’ । उनी गजल विधामा लागेको मुस्किलले आधा दशक मात्र भयो।
खासमा वसन्त फुटबलर बन्न चाहन्थे तर बने गजलकार ।
वसन्त यसलाई सोच्दै नसोचेको सफलता मान्छन् । भन्छन्, ‘फुटबलर बन्न काठमाडौं छिरेको म, अहिले गजलकार बनेको छु। फुटबलरका रूपमा चिनिन चाहेको थिएँ तर गजकारका रूपमा परिचित भएँ, जुन मैले कहिल्यै सोचेको थिइनँ।’
फुटबलका क्रेजी वसन्तले तत्कालीन एन्फा अध्यक्ष गणेश थापाको नम्बर पत्ता लगाए र उनलाई फोन गरे । गणेश थापाले ‘ट्रेनिङका लािग आउन’ भनेपछि दाङको दुन्द्रा गाउँमा जन्मिएका वसन्त ०६४ सालमा फुटबलर बन्ने सपना बोकेर काठमाडौं छिरे।
दाङमा फुटबल खेलेरै चर्चा गाएका वसन्तलाई फुटबल कौशल सिकाउने काम गरे, राजुकाजी शाक्य र डम्बरसिंह गुरुङले। ‘अहिले नेपाली राष्ट्रिय टिमबाट खेलिरहेका रोहित चन्द, विशाल राई र विशाल श्रेष्ठसँगै एन्फा एकेडेमीमा खेलेँ। उनीहरू एन्फा एकेडेमीका पहिलो ब्याच थिए, म भने ट्रेनिङका लागि आएको थिएँ,’ खुसी हुँदै वसन्तले भने, ‘सबैको एउटै सपना थियो, राष्ट्रिय टिमबाट खेल्ने। कतिको सपना पूरा भयो पनि, केहीको भने अधुरै रह्यो, अधुरै रहनेमा म पनि परेँ।’
एन्फा एकेडेमीमा १६ वर्षमाथि खेलाडीलाई नराख्ने भए पनि वसन्तले त्यहाँ सात महिना प्रशिक्षण लिए। एन्फाको आन्तरिक विवादले लिग नभएपछि उनी दाङ नै फर्किए । त्यसबेला तीन तीन वर्ष एन्फाले घरेलु लिग आयोजना गर्न सकेको थिएन।
दाङ गएपछि पनि उनी फुटबलमै सक्रिय भए । वसन्तले आफ्नै अग्रसरतामा ‘न्यू स्टार फुटबल क्लब’ खोले र फुटबलमा चासो भएका युवालाई ट्रेनिङ गराए।
खेलजीवन नै सिध्याउने त्यो चोट
काठमाडौंमा फुटबल खेल्दै राष्ट्रिय टिमबाट खेल्ने सपना पूरा नहुने देखेर गृहजिल्ला फर्किएका वसन्त कुनै मौका खोजिरहेका थिए । आफ्नै क्लबमा ट्रेनिङ गराउँदै र खेल्दै बसिरहेका वसन्तलाई साथीहरूले बुटवलमा सेनामा भर्ना खुलेको जानकारी दिए । र, आवेदन दिन कर गरे । साथीहरूले धेरै नै कर गरेपछि उनले बुटवल गएर आवेदन दिए । ‘साथीहरूले धेरै कर गरे, खेलाडीलाई राम्रो हुन्छ । यसपटक झन् खेलाडी पनि मागेको छ भनेपछि बुटवल गएर आवदेन दिएँ,’ उनले भने, ‘६ सयभन्दा बढीले आवेदन दिएका थिए, ११औँ स्थानमा नाम निकालेँ र सेनामा भर्ती भएँ ।’ फुटबलर बन्न चाहेका वसन्तले सेनाका लागि दिइएको अन्तर्वार्तामा पनि फुटबलकै मात्र प्रश्न सोधिएको स्मरण गरे।
दाङका वसन्तले सेनामा भर्ना हुन बुटवल गएर निवेदन दिए र सिरहा पुगेर तालिम लिए। सेनामा भर्ना भए पनि उनले फुटबल छाडेनन् । त्यहाँ तालिमसँगै आफ्नो फुटबल कौशल पनि देखाए। सोही कारण वसन्त तालिम सकिएलगत्तै त्रिभुवन आर्मी क्लबमा आबद्ध भए।
आर्मी क्लबमा पुगेपछि वसन्तमा पुनः राष्ट्रिय टिमबाट खेल्ने चाहना पलाउन थाल्यो। भन्छन्, ‘सेनामा भर्ना भए पनि फुटबललाई छाड्न सकिनँ । दुवैलाई सँगै लगेँ, उत्तिकै मिहिनेत गरेँ। तालिमलगत्तै त्रिभुवन आर्मी क्लबमा छनोट भएपछि फेरि राष्ट्रिय टिमबाट खेल्ने सपना देख्न थालेँ ।’ यति भनिनसक्दै वसन्तको मुहारमा चमक देखियो।
राष्ट्रिय टिमका स्ट्राइकर नवयुग श्रेष्ठ र आफू एकैदिन आर्मी क्लबमा आबद्ध भएको वसन्तले सम्झिए । ‘आर्मी क्लबमा छनोट त भइयो तर क्लबले युनिट रेफ्रेसर तालिमका लागि सबैलाई आ–आफ्नो पल्टनमा पठायो । मेरो पल्टन पाल्पामा थियो, म पनि त्यतै लागेँ,’ उनी भन्छन्।
पाल्पामा पनि वसन्तले फुटबलको माहोल पाए। त्यहाँ ‘वाहिनीपति ट्रफी’ हुन लागेकाले उनले युनिट रेफ्रसर तालिमसँगै फुटबलको पनि अभ्यास गरे। वाहिनीपति ट्रफीको तयारीकै क्रममा पेनाल्टी हान्दा उनी घाइते भए । ‘पेनाल्टीको अभ्यास गरिरहेको थिएँ, अलि जोडले बल हानेको थिएँ, हान्नेबित्तिकै घुँडामा चस्स ग¥यो, घुँडा एकैछिनमा सुन्नियो । एक्सरे गरेपछि थाहा भयो, हड्डीले ठाउँ छाडेको रहेछ,’ वसन्त भन्छन्, ‘पेनाल्टीचाहिँ निहुँ मात्र भयो, अभ्यासका क्रममै साथीहरूले धेरैपटक नराम्रोसँग लडाएका थिए। लगत्तै उपचारका लागि छाउनी आएँ।’
‘घुँडा छाम्नेबित्तिकै डाक्टरले शल्यक्रिया गर्नुपर्छ भने, शल्यक्रिया भयो। केही समयपछि डाक्टरहरूले क्याप लगाएर खेल्न सल्लाह दिए। सुदूरपश्चिमबाट दुईपटक प्रधानसेनापति कप खेलेँ । तर, घुँडाको चोट फेरि बल्झियो । पुनः शल्यक्रिया गर्नुपर्ने भयो,’ मलिन र निराशामिश्रित स्वरमा वसन्त बोले ।
वसन्तले घुँडाको दोस्रो शल्यक्रिया पनि आर्मी अस्पताल छाउनीमै गरे र लामो समय वैशाखीको सहारा लिए । नेपाली राष्ट्रिय टिमबाट खेल्ने उनको सपनामा घुँडाको चोट बाधक बन्यो । उनको फुटबल करिअर र जीवनकै सबैभन्दा ठूलो सपनामा पूर्णविराम लाग्यो।
०००
घुँडाको शल्यक्रिया गरेर अस्पतालमै रहेकाबेला वसन्तले नवयुग श्रेष्ठको तस्बिर पत्रिकामा देखे, उनको मन अमिलो भयो । ‘आफूसँगै एकैदिन त्रिभुवन आर्मी क्लबमा आएको साथी राष्ट्रिय टिमको प्रतिनिधित्व गरिरहेको थियो, आफू भने वैशाखीको सहारामा अस्पतालमा,’ मलिन स्वरमा उनले भने ।
करिब एक वर्षपछि उनले वैशाखीलाई थन्क्याए, विदामा घर गए। त्यसपछि वसन्तले पुनः फुटबल सुरु गरे, खेलाडी होइन प्रशिक्षकका रूपमा। आफूले सिकेको सीपलाई उनले गाउँकै न्यू स्टार क्लबका खेलाडीलाई सिकाए। वसन्त भन्छन्, ‘केही समयपछि नै हाम्रो गाउँले टिम दाङका राम्रा भनिएका टिमलाई पनि टक्कर दिन सक्ने भयो ।’ त्यो समय न्यू स्टारले उत्कृष्ट खेले खेलेको उनी सम्झिन्छन्।
‘अरूका गजलमा आफ्नो नाम हालेर रेडियोमा पठाएँ’
घुँडाको शल्यक्रिया गरेर छाउनी अस्पतालमै बसिरहेका वसन्तलाई साथीले एउटा किताब ल्याइदिए । किताब थियो, ललितजन रावलको गजल संग्रह– ‘एउटा बन्द खाम’। किताब ल्याइदिने ती साथीको नाम वसन्तले बिर्सिए तर त्यो किताब र किताबभित्रका प्रत्येक गजल उनको मनपटलमा अझै ताजै छन्।
‘किताबमा गजल त थिए नै, गजल संरचनाका बारेमा पनि राम्रा व्याख्या गरिएको थियो। अस्पतालमा त्यसै बस्दा किताबमा पाना–पाना पढेँ, कैयौँ पटक। विस्तारै गजलले तान्यो र लेख्न थालेँ,’ वसन्त भन्छन्।
गजलसँगको वसन्तको त्यो साइनो पहिलो भने थिएन । ०५८–५९ सालतिरै उनले रेडियोमा गजल र गजलबारे सुन्ने गरेका थिए। ‘रेडियो स्वर्गद्वारीमा साहित्यिक कार्यक्रम गीताञ्जली आउँथ्यो, त्यहाँ गजल वाचन र गजलका बारेमा छलफल हुन्थ्यो। मलाई अहिले पनि सम्झना छ, गीताञ्जली गजलकार लोकराज अधिकारीले चलाउनुहुन्थ्यो। त्यहीँबाट गजलका बारेमा केही जानेँ,’ उनी भन्छन्।
अरूका थुप्रै गजल रेडियोमा सुनेका वसन्तलाई आफ्नो नाम पनि रेडियोमा उच्चारण भएको सुन्न मन लाग्यो । र, प्रिय कार्यक्रम ‘गीताञ्जाली’मा पठाए, अरूको गजलमा आफ्नो नाम राखेर। ‘गजल मन परे पनि लेख्न खासै आउँदैनथ्यो, पत्रिका छापिएको गजल कागजमा सारेँ र आफ्नो नाम लेखेर रेडियो स्वर्गद्वारीमा पठाएँ,’ उनी भन्छन्, ‘केही दिनपछि गजल रेडियोमा पढियो, मेरो नाम पनि आयो । अरूकै गजल भए पनि आफ्नो नाम उच्चारण हुँदा धेरै खुशी भएँ ।’
वसन्तले त्यो गजल र आफ्नो नाम रेडियोमा आफैँले सुनेको मिति बिर्सिए पनि त्यसले दिएको खुशी उनको मानसपटलमा अझै ताजै छ।
०००
चोटले दिएको पीडा भुलाउन वसन्तले लेख्न सुरु गरे। अस्पताल जानुबाहेकको समय उनले घरमै बिताए। भन्छन्, ‘सुरुमा आफ्नैबारेमा लेखेँ, लेख्दै गएपछि धेरै कुरा फुर्न थाल्यो र समाजका बारेमा पनि लेख्न थालेँ।’ अस्पतालमा छँदै जानी नजानी उपन्यास लेख्न थाले।
छुट्टी सकेर फर्किएलगत्तै उनले उपन्यास निकाल्न पल्टनमा निवेदन दिए। सेनाले उनलाई उपन्यास निकाल्न स्वीकृति दियो। १९ चैत ०६९ मा वसन्तको उपन्यास ‘तिर्सना’ विमोचन भयो। त्यसले साहित्यिक क्षेत्रमा आफूलाई थोरबहुत चिनाएको उनी बताउँछन्।
०००
०७० तिहारकै आसपास फेसबुक चलाइरहेका वसन्त ‘बहर बहार’ भन्ने गजलको ग्रुपमा जोडिए । त्यतिबेलासम्म फाट्टफुट्ट गजल लेख्ने उनलाई त्यसपछि गजलले तान्यो । ‘त्यो ग्रुपमा जोडिएपछि ‘बहर बहार’मा गजल लेख्न सुरु गरेँ । गजलकार टक गुरुङ र आवाज शर्माले पनि बहरमा लेख्न सिकाउनुभयो,’ उनी भन्छन्।
त्यसपछि उनले बहर गजलका थुप्रै किताब पढे र त्यसलाई कापीमा उतार्ने प्रयास गरे। ड्युटीमै पनि लेख्ने प्रयासलाई निरन्तरता दिए।
‘पल्टनमा लेख्न खासै समय हुँदैनथ्यो। कापी कलम साथमा नभएको बेला ट्वाइलेट गएर वा एकान्तमा गएर मोबाइलमा रेकर्ड गर्थेँ,’ उनी भन्छन्, ‘गजल लेख्नकै लागि कोही ड्युटी बस्न नमान्ने एकान्त ठाउँमा ड्युटी राखिदिन भन्थेँ। मिलेन भने साथीहरूसँग साट्थेँ, साथीहरू पनि खुशी, म पनि खुशी ।’
अरू साथी ड्युटीको समयमा पनि सुत्न खोज्थे तर वसन्त गजलका सेर सोच्नै तल्लिन हुन्थे । भन्छन्, ‘सबैले ‘कल्पनाको ठूलो घर बनाउने हो ड्युटीभर अनि ड्युटी सकिँदा भत्काएर हिँड्ने हो’ भन्थे तर म सेर सोचेरै ड्युटी पूरा गर्थेँ ।’ वसन्तले गोजीमा सानो कागज र कलम कहिल्यै छुटाएनन्, सेर फु¥यो भने त्यहीँ टिप्थे ।
‘घुँडाको समस्याले पट्रोलमा जान नसेकपछि एकदिन बिहान तीन बजेदेखि राति नौ बजेसम्म ड्युटी बसेँ। त्यो दिन गजलका सेरहरू खुब फुरे,’ वसन्त भन्छन्, ‘गजल लेख्नकै लागि त्यति लामो समय एकै ठाउँमा बन्दुक भिरेर बसेँ ।’ कञ्चनपुरमा रहँदा उनले त्यहाँ रेडियोमा पनि फोन गर्थे, समय मिलाएर । गजल सुनाएर धेरै कार्यक्रममा उत्कृष्ट पनि भए।
०००
०७१ सालमा वसन्तको पल्टन डडेलधुराको अमरगढी किल्ला सरुवा भयो। त्यहाँको चिसोले उनलाई खुब सतायो । चिसोले घुँडा धेरै दुख्न थालेपछि दौडिने गरेको उनी बताउँछन्। ‘नुहाएपछि चिसो पानीले गर्दा घुँडा खुब दुख्थ्यो। कति दुख्यो भनेर मात्र भन्नु भनेर दौडिन्थेँ, जे होला होला भनेर।’
त्यही दुखाइकै कारण वसन्तले जागिर छाड्ने मनसाय पनि बनाए । तर, गजलकार टंक गुरुङले सम्झाएपछि जागिर छाडेनन्। अहिले उनी प्राविधिक हुद्दा (टेक्निकल सार्जेन्ट)का रूपमा नेपाली सेनामा कार्यरत छन्।
अमरगढी किल्लामा वसन्तले साहित्यक वातावरण पाए। त्यहाँ हुँदा थुप्रै गजल लेखे र सुनाए पनि । ‘भेट हुनेबित्तिकै हाकिमलाई गजल सुनाउनुपथ्र्यो । यसले मलाई गजल लेख्न थप ऊर्जा मिल्यो,’ वसन्त भन्छन्।
त्यहीबेला वसन्तले रेडियो युनिटीमा एकहप्ते उद्घोषण तालिम लिए र नेपाल टेलिभिजनको कार्यक्रम ‘माटोले माग्दैन आफैँले दिनुपर्छ’मा स्वरांकनका लागि आवेदन दिए । स्वरांकनका लागि छानिएपछि उनी काठमाडौं बसे। ‘नेपाली सेनाले आफैँ एफएम चलाउने कुरा आयो, त्यसपछि त्यसको तयारी गरेँ,’ उनले भने, ‘सैनिक एफएममा प्राविधिक अमल्दार खुल्यो, आवेदन दिएँ र उत्तीर्ण पनि भएँ।’
सैनिक एफएममा नाम निकालेपछि सेवा परिवर्तन गरेर वसन्त कार्यक्रम प्रस्तोता बने। ‘सेवा निवृत्त भएपछि कार्यक्रम सञ्चालक बन्ने चाहना थियो, निवृत्त नहुँदै त्यो अवसर पाएँ,’ उनी भन्छन्, ‘शारीरिक रूपमा खट्ने ठाउँबाट मानसिक रूपले खट्नुपर्ने ठाउँमा आएँ । घुँडालाई धेरै राहत भयो । लेख्नलाई धेरै सहज भयो।’
सेवा परिवर्तन गरेपछि वसन्त केही फुर्सदिला भए । त्यो फुर्सद उनले गजल लेखन र गजलकारहरूसँगको भेटघाटलाई दिए। यहीबीच वसन्तको परिचय अर्का गजलकार बाबु त्रिपाठीसँग भयो। वसन्तको गजल लेखन र वाचनबाट प्रभावित बनेका त्रिपाठीले उनलाई ‘महफिल’मा उभ्याए । नेपाली गजलको सबैभन्दा ठूलो स्टेज ‘महफिल’मा उनको प्रस्तुतिले चर्चा पायो र अग्रजबाट तारिफ पनि।
‘महफिलको त्यो प्रस्तुतिपछि गजल वाचनका लागि विभिन्न ठाउँबाट निम्ता आउन थाल्यो,’ उनी भन्छन्, ‘गजल क्षेत्रमा यहाँसम्म आउनुमा मिहिनेत र बाबु दाइको साथको भूमिका उत्तिकै छ । उहाँप्रति सधैँ आभारी छु।’
वसन्तलाई गजलकार रूपमा चिनाउन नेपाली सेनाको योगदान पनि उत्तिकै छ । ‘सेना प्रवेश नगरेको र सरहरूले हौसला नदिएको भए यो विधामा आउने नै थिइनँ होला । नेपाली सेना प्रतिभा हुनेको लागि सपना पूरा गर्ने ठाउँ पनि हो,’ वसन्त भन्छन्।
गजल लेखनको छोटो समयमै वसन्त ‘पुष्प पराग वर्षको सर्वोत्कृष्ट गजलकार सम्मान, २०७४’, ‘गोदावरी गजल साधना सम्मान, २०७५’ र ‘सारथि साहित्य प्रतिष्ठान, २०७६’ बाट सम्मानति भइसकेका छन् ।
‘गजल लघु कविताहरूको समूह’
नेपाली साहित्यमा गजल विधा माथिल्लो स्थानम रहेकैले गजलमा अहिले युवापुस्ताको आकर्षण बढेको वसन्त बताउँछन् । गजलको बढ्दो क्रेजसँगै यसमा केही समस्या र आक्रमण भए पनि विकृति भने नआएको तर्क उनको छ।
‘गजलमा विकृति आयो भन्छन् तर मलाई त्यस्तो लाग्दैन । विषयवस्तु फरक–फरक हुन्छन्, ती गजलका विशेषता हुन्, त्यसलाई विकृति कसरी भन्ने,’ उनी भन्छन्।
वसन्त गजललाई लघु कविताहरूको समूहका रूपमा परिभाषित गर्छन्। भन्छन्, ‘एउटै लय अनुशासनमा रही, समान रदीफ र फरक–फरक अर्थ बोकेका काफिया, जो एउटा गजलमा एउटै काफिया बन्धन हुन्छ, ती बोकेर लेखिएका लघु कविताहरूको समूह हो ।’
नेपाली गजलले हरेक दशकमा फरक–फरक गजलकार जन्माएको उनी बताउँछन्। गजल लेख्नेले केही न केही बुझेकै हुने वसन्तको तर्क छ। ‘गजल सबैले अध्ययन गरेरै लेख्छन्, फरक यत्ति हो– कसैले गहिरो अध्ययन गरेका हुन्छन् भने कसैले सतही,’ वसन्त भन्छन्, ‘धेरै अध्ययन गरेर लेखिएका गजल र हल्काफुल्का अध्ययन गरेर लेखिएका गजलमा फरक भइहाल्छ । अध्ययन गरेर लेखिएका गजल पूर्ण अर्थात् दोषरहित हुन्छन् । अध्ययन नगरी लेखिएकामा दोष भेटिन्छन्।’
सबैले सुरुमा स्वतन्त्र नै लेख्न सिक्ने र पछि विस्तारै बहर, छन्दमा लेख्न थाल्ने उनको अनुभव छ । भन्छन्, ‘मैले पनि त्यसरी नै सिकेँ । सकेसम्म बहरमा लेख्नुपर्छ, सकिएन भने मात्रिक बहर । अझ हामीसँग थुप्रै लोक लय छन्, त्यसमा लेख्दा पनि गजलले न्याय पाउँछ ।’
‘मलाई सानो–सानो कुराले पनि छुन्छ । त्यही कुरालाई कुरालाई फरक तरिकाले गजलमा उतार्ने प्रयास गर्छु,’ उनी भन्छन्। सबै पुगेको र देखेको कुरालाई फरक तरिकाले गजलमा उतार्नु आफ्नो सफल पक्ष भएको वसन्त बताउँछन्। गजल पढेर आउने सकारात्मक या नकारात्मक प्रतिक्रियाले अझ लेख्न प्रेरित गर्छ उनलाई ।
‘मेरा गजल बहर, छन्दमै बढी छन् र स्वतन्त्र पनि,’ वसन्त भन्छन् । उनी सेरजस्तो सेर अझै लेख्न नसकेको बताउँछन् ।
‘बहरमा गजल लेख्न जादै गाह्रो हुन्छ, अप्ठ्यारोमै रमाउन मन पराउने हुँदा बहरमै लेख्ने गर्छु । त्यसले आफू र दर्शकलाई पनि सन्तुष्टी दिन्छ,’ बहरमै लेखिएका गजलको संग्रह निकाल्ने तयारी गरेका वसन्त भन्छन्, ‘संग्रहका लागि पुग्नेजति गजल लेखिसकेको छु। प्रकाशकहरूसँग कुरा भइरहेको छ, उहाँहरूले नपत्याए आफ्नै खर्चमा पनि निकाल्छु।’
०००
महेन्द्रनगरमा गजल प्रतियोगितामा सहभागी हुँदाको त्यो क्षण वसन्त अहिले पनि सम्झन्छन्। उनले त्यो क्षण सम्झिए–
०७३ वसन्त पञ्चमीको दिन थियो। महेन्द्रनगरमा गजल प्रतियोगिता भएको थियो। गजल लेखेर बुझाउनैपर्ने थियो, मैले पनि बुझाएँ । बुझाइएका गजलबाट छनोट गरेर वाचनका लागि बोलाइयो। गजल वाचन गर्न पाउनेमा म ढुक्क थिएँ तर अन्तिमसम्म पनि मेरो नाम आएन। म त अचम्ममा परेँ नै, अन्य साथीहरू सबै छक्क परे। हामीलाई आयोजकले बिर्सेर छुटाएका हुन्जस्तो लाग्यो । आयोजकलाई भन्न गएँ ।
एकजनाले सोधे– कहाँबाट आउनुभयो ?
दाङबाट– मैले उत्तर दिएँ ।
टाढाबाट आउनुभएको रहेछ, हामी मौका दिन्छौँ, अन्तिममा वाचन गर्न आउनूस्– ती व्यक्तिले भने।
‘हुन्छ सर !’ भन्दै म केही आशा बोकेर स्टेजबाट फर्किएँ।
सहभागी धेरै भएकाले ढिलै भए पनि मलाई वाचनका लागि बोलाइयो । मैले तरन्नुम प्रस्तुत गरेँ। सबैले तारिफ गरे, नभन्दै मेरै गजल प्रथम भयो ।
०००
आफूलाई जेमा सजिलो लाग्छ, त्यसैमा गजल लेख्न वसन्तले युवापिँढीलाई सुझाए । अनावश्यक विवादमा पर्नुभन्दा आफ्नो मन र मस्तिष्कले जे लेख् भन्छ, त्यसैमा लेख्दा राम्रो हुने तर्क उनको छ ।
‘गजलकार भएपछि बहर, छन्द, बेबहर सबैमा लेख्न सक्नुपर्छ । गजलमा नयाँ कुरा ल्याउन मात्र खोज्नूस्, त्यसले तपाईंलाई अरूभन्दा फरक बनाउँछ र चिनाउन मद्दत गर्छ,’ वसन्तले सुझाए।