Kathmandu Press

क्रसर र टिपर आतंकः मरुभूमिमा परिणत हुँदैछन् डुकुछाप र देवीचौर

ललितपुर गोदावरी-७ र ८ का डुकुछाप र देवीचौर क्रसर उद्योगको अनियन्त्रित दोहनका कारण मरुभूमि बन्ने दिशातर्फ उन्मुख छन्। अनियन्त्रित दोहन रोक्न कुनै सरकारी निकायले चासोसम्म दिएका छैनन्।
क्रसर र टिपर आतंकः मरुभूमिमा परिणत हुँदैछन् डुकुछाप र देवीचौर

ललितपुर, चैत २५ : केही दिनयता काठमाडौँ उपत्यकामा प्रवेश गरेको धुवाँसहितको वायुले राष्‍ट्रिय चर्चा पायो। नपाओस् पनि किन, यो वायुले सर्वसाधारणदेखि सम्भ्रान्त वर्ग र सरकारका उच्चपदस्थहरूको पनि आँखा पोल्यो। तर, राजधानीकै एक कुनाका दुई गाउँ ललितपुरका डुकुछाप र देवीचौरका बासिन्दा तीन वर्षदेखि टिपर र क्रसर चलाउँदा निस्किने यस्तै आँखा पोल्ने धुवाँ र धुलोबाट आजित छन्। त्यहाँको ध्वनी, धुलो र धुवाँ प्रदूषणले राष्‍ट्रिय चर्चा पाएको छैन। किनकि, त्यहाँसम्म उच्चपदस्थ कोही बस्दैन।

ललितपुर बुङमती बजारबाट पश्‍चिम-दक्षिणतर्फ मोडिनासाथ गिटी, बालुवा लिएर सहरतर्फ हुइँकिइरहेका टिपर देखिन थाल्छन्। जति जति कच्ची सडक हुँदै गाउँतिर लागिन्छ, त्यति नै धुलोबाट छोपिएका बस्ती, रुखबिरुवा र खेतबारी देखिँदै जान्छन्। जतासुकै खोस्रिएका ढिस्का देखिन्छन्। तिनै ढिस्का आसपासबाट गिटी, बालुवा बोकेर सहरतिर हुइँकिँदै गरेका टिपरलाई साइड दिन हम्मे पर्छ, अन्य सवारी साधनका चालक र पैदल यात्रीलाई।

उपत्यकाको दक्षिणतर्फ भैंसेपाटीबाट अगाडि बढेपछि आउँछ, बुङमती बजार। त्यहाँबाट फसीडोल हुँदै फास्टट्र्याक जोड्ने सडक पुगिन्छ। फसीडोलबाट अगाडि बढेपछि फास्टट्र्याक जोड्ने सडकको दायाँ-बायाँ धुवाँको मुस्लो छाडिरहेका इँटाभट्टा चलिरहेको देखिन्छ। फास्ट ट्र्याक जोड्ने सडकमा धुवाँको मुस्लो छाड्दै र धुलो उडाउँदै दौडिरहेका हुन्छन्, टिपरहरू।

Hardik ivf

गोदावरी नगरपालिका-७ देवीचौर पुग्दा कच्ची सडकमै जोडिएको केदार तिमिल्सिनाको मच्छिन्द्र ढुंगा उद्योग (क्रसर) देखिन्छ। स्थानीय बासिन्दाले खेत र घाटतर्फ जान प्रयोग गर्ने बाटो नै कब्जा गरेर यो क्रसर सञ्‍चालनमा छ।

त्यहाँबाट केही पर पुगेपछि आउँछ, वागमती नदीस्थित कटुवाल दह र दहकै माथि मच्छिन्द्रनाथको थान देख्‍न सकिन्छ। स्थानीय बासिन्दाले त्यस क्षेत्रलाई वनभोज स्थल पनि बनाएका छन्। तर, वरिपरि धुलो यसरी फैलिएको छ कि वनभोज स्थलबाट जतिसक्दो चाँडो निस्किन चाहन्छन्, आगन्तुक।

वनभोज स्थलबाट करिब एक किलोमिटर दूरीमा र निर्माणाधीन फास्ट ट्र्याकको ठ्याक्कै पारिपट्टि टीकाभैरवका मधुसुदन डोटेलले चलाइरहेको अर्को क्रसर छ। जंगलबीचमा र नदी किनारमै सञ्‍चालित यो क्रसरबाट बुङबुङ धुलो उडिरहेको देख्‍न सकिन्छ, टाढैबाट।

अर्को क्रसर छ- गोदावरी नगरपालिका-८ डुकुछाप खोलाखेत टोलमा बस्तीकै बीचमा र त्यसको नाम हो सजिलो ढुंगाखानी। यो शशि शाही ठकुरी नामका व्यवसायीको क्रसर उद्योग हो। नाम सजिलो छ तर वरिपरिका घरलाई अप्ठ्यारोमा पारिसकेको छ, यो क्रसरले। नजिकको जंगल क्षेत्रबाट सजिलो ढुंगा खानीले धमाधम ढुंगा उत्खनन् गरिरहेको छ। त्यसबाट केही मिटर तल मात्र छ, तिमिल्सिनाको मच्छिन्द्र ढुंगा उद्योग।

गोदावरी नगरपालिका-८ का वडाध्यक्ष हुन्, सुकबहादुर लामा। गोदावरी-८ डुकुछापमा उनका दुईवटा क्रसर छन्। वागमती नदी किनारमा सडकछेउमै छन्, उनका दुवै क्रसर। गोदावरी नगरपालिका-७ र ८ लाई महादेव खोलाले छुट्याउँछ। टिपर दौडिन बनाइएको सडकका कारण खोलोको डोब मेटिएको छ। वर्षायाममा सोही कारण बाढी बस्ती र खेततिर सोझिन्छ। दुवै वडाका बासिन्दा क्रसर र टिपर आतंकबाट पीडित छन्।

खहरेस्थित बसपार्कछेउमै नयाँ क्रसर खुल्दैछ, जुन सञ्‍चालनमा आइसकेको छैन। त्यो पनि गोदावरी-८ मा पर्छ। वरिपरि बस्ती छ, सडकमै टँसाएर क्रसर निर्माण गरिएको छ। त्यसबाट नजिकै वागमती नदी किनारमा वडाध्यक्ष लामाका दुईवटा क्रसर छन्।

क्रसर सञ्‍चालकमध्ये वडाध्यक्ष लामा र तिमिल्सिना स्थानीय बासिन्दा हुन्। अरू सबै क्रसर सञ्‍चालक बाहिरकै हुन्। लामा र तिमिल्सिना दुवै माओवादी केन्द्रसँग निकटस्थ हुन्। लामाले स्वतन्त्र हैसियतमा चुनाव जितेका थिए। तर, उनी माओवादी केन्द्रका स्थानीय नेता हुन्।

बिनादर्ता र मापदण्ड मिच्दै सञ्‍चालनमा रहेका यी क्रसर उद्योगबारे जिल्ला प्रशासनले आँखा चिम्लिदिएको छ।

बिहान जुरुक्क उठ्नासाथ गाउँलेलाई टिपर र क्रसरले उडाएको कुहिरीमण्डल धुलोले स्वागत गर्छ। दिनभर र रातभर पनि धुलो उडी नै रहन्छ। किनकि, क्रसर सञ्‍चालन र टिपर दौडिने क्रम चौबीसै घण्टा जारी रहन्छ।

कच्ची सडकमा टिपर दौडिँदा आउने आवाजले रातभर निदाउन सक्दैनन्, स्थानीय बासिन्दा। बिहान पनि बिग्रियो भन्दै टिपर बाटोमा तेस्र्याइदिन्छन्, चालक र सहचालकले। जतिबेला स्थानीय बासिन्दा कार्यालयतिर दौडिने समय हुन्छ, टिपरले सडक अवरुद्ध बनाइदिन्छन्। स्कुले बालबालिका समयमा विद्यालय पुग्न पाउँदैनन्। ‘टिपरहरू ओभरलोड हुन्छन्, धुले सडकमा भार तान्दैन र बीचमा पुगेर नटबल्टु खुस्किन्छन् अनि सडक अवरुद्ध हुन्छ,’ एक स्थानीय बासिन्दा भन्छन्।

माथिपट्टि बस्ती छ, मुनिबाट माटो र ढुंगा निकाल्न डोजर लगाएर खोस्रिएको छ। गोदावरी नपा-७ देवीचौरमाथिको तामाङ बस्ती टोकलमाटको नियती हो यो। केही दिनअघि स्थानीय बासिन्दाले माटो खोस्रिन नदिन विरोध गरे। केही दिन रोकियो पनि। तर, फेरि खोस्रिन सुरु भइसकेको छ। ‘प्रशासन मौन बसेको छ, निरिह स्थानीय बासिन्दाको विरोधको अर्थ हुँदैन। कहिलेकाहीं स्थानीय बासिन्दाले पनि पैसामा बार्गेनिङ गरिदिन्छन्,’ एक स्थानीय बासिन्दा भन्छन्, ‘फोन गरेर धक्याउँछन्, थर्काउँछन् अनि चुपचाप बस्‍नुको विकल्प हुँदैन।’ उनका अनुसार धुलो उड्यो, सडकमा पानी हालिदेऊ भन्यो भने टिपरले हिर्काइदिउँला भनेर धम्क्याउँछन्।

स्थानीय चण्डीदेवी प्राविसम्म आउजाउ गर्न बालबालिकालाई सकस छ। तीव्र गतिमा दौडिने टिपरले आफ्ना सन्तानलाई किचिदिने त्रासमा रहन्छन्, अभिभावक।

गोदावरी-७ को घुमाउने डाँडाको बेग्लै सौन्दर्य थियो। त्यसलाई डोजरले खोस्रेर अब घुमाउनेको चिनो मात्र बाँकी छ।

माटो, ढुंगा र बालुवाको अनियन्त्रित उत्खननका कारण गोदावरी नगरपालिका-७ र ८ का डुकुछाप र देवीचौर क्षेत्र मरुभूमि बन्‍ने दिशातर्फ उन्मुख छन्। जथाभावी दोहन नभएका सार्वजनिक पर्ति जग्गा भेटिँदैनन्।

वागमतीको किनारमा बसेका समथर भूभाग तीन वर्ष अघिसम्म उर्बर भूमि थिए। जब अनियन्त्रित उत्खनन् सुरु भयो, वागमती किनारको उर्बर भूभाग मरुभूमि बन्‍नतर्फ उन्मुख छन्। सीधासोझा गाउँलेको पहुँच राज्यको उपल्लो तहमा छैन। त्यसैको फाइदा उठाइरहेका छन्, क्रसर व्यवसायीले।

बस्ती, जंगल, नदी, सडक र खेतीयोग्य जमिनबाट कम्तिमा पाँच सय मिटर टाढा मात्र क्रसर खोल्न पाइने सरकारी मापदण्ड छ। तर, डुकुछाप र देवीचौरका क्रसर उद्योगहरू नदी र सडक किनारमा मात्र होइन, खेतीयोग्य जमिनमै र बस्तीकै बीचमा सञ्‍चालनमा छन्। स्थानीय रायमाझी गाउँकै बीचमा क्रसर खुल्दैछ। चौबीसै घण्टा क्रसर र टिपरको आतंक छ। कुहिरी मण्डल छन्, गाउँ।

क्षमताभन्दा बढी भार बोकेका टिपरले कच्ची सडकमा भासिने धुलो थुप्रिएको छ। मोटरसाइकल यात्रीले त यो सडकमा प्रवेश नगरेकै राम्रो। किनकि, धुलोले छोपिएर बिरुप बन्छन्, उनीहरू।

‘हामी राजधानीमै छौँ तर हाम्रो अवस्था कर्णालीका बासिन्दाको भन्दा दयनीय छ,’ अर्का स्थानीयवासीले भने, ‘ललितपुरको एक नम्बर क्षेत्र लेले र गोदावरीका ग्रामीण भेगसम्म सरकार भएको अनुभूति नै हुँदैन। काठमाडौंमा बसेर ठूला कुरा गरिरहेका सरकारका मन्त्रीहरू एकपटक आएर हाम्रो अवस्था हेरिदिए हुन्थ्यो।’

यो क्षेत्रमा क्रसर र टिपरको आतंक सुरु भएको तीन वर्ष बित्यो। ‘अहिलेको पालिचाहीँ ज्यादै लापरवाही भयो,’ अर्का एक स्थानीय बासिन्दा भन्छन्। उनका अनुसार तीन वर्षअघि शशि ठकुरीले ‘सजिलो ढुंगा खानी उद्योग’बाट यस क्षेत्रमा क्रसर प्रवेश गराएका थिए। त्यसपछि केदार तिमिल्सिनाले मच्छिन्द्र क्रसर उद्योग खोले।

स्थानीय बासिन्दा भइकन पनि तिमिल्सिनाले भने सार्वजनिक बाटो नै ओगटेर क्रसर उद्योग सञ्‍चालनमा ल्याए। त्यो बाटो खुलाउन स्थानीय बासिन्दा नगरपालिकासम्म पुगे। तर, नगरपालिकाले चासोसम्म दिएन। स्थानीय बासिन्दाको घाट र खेतमा जाने बाटो हो त्यो। बाटोमै हपर राखेका छन्, तिमिल्सिनाले। आफ्नै खेतबाट हिँड्न दिने बताउँदै उनले बाटो खाली गर्न चासो दिएका छैनन्। मेसिन हटाएपछि बाटो बनाइदिन्छु भन्‍ने गरेका छन्।

यस क्षेत्रमा क्रसर र टिपरको आतंक घट्ने होइन, बढ्दो क्रममा छ। थप क्रसर धमाधम खुल्दै छन्। चौबीसै घण्टा धुलोमा छोपिने स्थानीय बासिन्दालाई त्यसभन्दा ठूलो डर छ- आगामी वर्षायाममा जताततै पहिरो बगेर उठिबास लगाउने। वागमती किनारका खेतसहित घरबारी सबै बगाउने चिन्तामा छन्, उनीहरू। किनकि, बस्तीमाथिको वन क्षेत्रमा जथाभावी खोस्रिएका कारण पहिरो बगेर वागमतीमा मिसाउने चिन्ता स्थानीय बासिन्दामा छ।

वन क्षेत्रबाट ढुंगा र बालुवा निकाल्न डोजर लगाएर खनेका छन्, क्रसर र टिपर व्यवसायीले। क्रसर उद्योग र सडकमा धुलो उड्न नदिन व्यवसायीले पानी छम्किने गरेका छैनन्।

स्थानीय बासिन्दाले दिएको निवेदन गोदावरी नगरपालिकामा दर्ता नै भएन। उपमेयर मुना अधिकारीले बेवास्ता गरेको स्थानीय बासिन्दाको आरोप छ। गोदावरीका मेयर र उपमेयर दुवै कांग्रेसबाट निर्वाचित भएका हुन्।

नगरपालिकाले स्थानीय बासिन्दाको कुरा सुनोस् पनि किन ! लेलेका ढुंगाखानी डुकुछापमा सार्ने नीति नै लिएको छ, नगरपालिकाले। र, सोही नीतिका कारण डुकुछाप र देवीचौरमा क्रसर खोल्ने होडबाजी सुरु भएको हो। खासमा, पुस ०७७ देखि लेलेका क्रसर उद्योग गोदावरी-७ र ८ मा सार्ने निर्णय भएको हो। तर, व्यवसायीले तीन वर्षअघि नै क्रसर खोल्न थाले। कटुवाल दह आसपास लेलेका क्रसर सार्ने योजना छ। तर, स्थानीय बासिन्दाको विरोधका कारण लेलेका क्रसर भने सर्न पाएका छैनन्।

‘मुसाले दुलो खनेजस्तो जथाभावी सडक खनिएको छ, ती सडकले हाम्रो उठिबास लगाउँदै छन्,’ एक स्थानीय बासिन्दा भन्छन्, ‘केही परिवार त यहाँबाट हिँडिसके। कसैले जग्गा जमिन बिक्री गरे भने कसैले बाँझै छाडिदिएका छन्।’ तिनैमध्येका हुन्, बद्री सिलवाल। उनले डुकुछापको जमिन बिक्री गरेर सहरतिर बसाई सारे।

पहिलो खोलाले छुँदैनथ्यो, बस्तीमा। अहिले जथाभावी खोस्रिएका कारण बस्तीतिर सोझिन थालेको छ, महादेव खोलो पनि। १०-११ वटा घर मात्र भएको सानो टोल भएकाले स्थानीय बासिन्दालाई क्रसर र टिपर व्यवसायीले हेपिरहेको देखिन्छ।

‘डुकुछाप र देवीचौर मरुभूमि बन्दैछन्, हाम्रो पक्षमा बोलिदिने कोही भएन,’ स्थानीय सुजिता केसी भन्छिन्। उनले भरखरै किनेको स्कुटी टिपर दौडिने धुले सडकमा चलाउँदा थोत्रोजस्तो भइसकेको छ। धुले सडकमा स्कुटीसँगै पछारिनु त कति हो कति !

उनको घरछेउमै नयाँ क्रसर खुल्दैछ। क्रसर चलाउने हो भने आफ्नो घर र जग्गा किनिदिन आग्रह गरिन्, उनले। तर, त्यसपछि कुरा गर्न कोही आएन। डुकुछापमा वडाध्यक्ष लामाले सञ्‍चालन गरिरहेको क्रसरबाटै फास्ट ट्र्याकका लागि पुल निर्माण गर्ने योजना छ। पुल बन्‍न सुरु भए क्रसर बन्द हुन्छ। तर, पुलको काम सुरु नहुँदा क्रसर निर्बाध सञ्‍चालनमा छ।

यी कुनै क्रसर उद्योग कतै दर्ता नरहेको स्थानीय बासिन्दाको दाबी छ। अवैध क्रसरले गरिरहेको अवैध गतिविधि रोक्न कतैबाट ठोस पहल भएको छैन। केही समयअघि गोदावरीका नगर प्रमुख गजेन्द्र महर्जन डुकुछाप पुगेका थिए। स्थानीय बासिन्दाले आफ्नो समस्या उनलाई सुनाए। तर, नगरपालिकाले यी क्रसर उद्योग बन्द या व्यवस्थापन गर्न पहल गरेको कतै देखिएको छैन।

सबै क्रसरले ट्यांकर राख्‍ने, उद्योग र सडकमा धुलो उड्न नदिने बताउने गरेका छन्। तर, मौखिक आश्वासन दिने मात्र हुन्, कार्यान्वयन गर्दैनन्। राति क्रसर र टिपर नचलाउने आश्वासन पनि नदिएका होइनन्, जुन कार्यान्वयन भएको छैन। ‘अहिले त १० पांग्रेवाला टिपर चलाउँछन्, रातभरि,’ केसी भन्छिन्।

कटुवाल दहनजिकका रायमाझी परिवारहरू त धुलो र प्रदूषणबाट आजित भएर सुरक्षित ठाउँमा घडेरी खोज्दै छन्।

सुरुमा स्थानीय बासिन्दासँग सम्झौता गर्दा धुलो उड्न नदिने, पानी हालेर चलाउने प्रतिबद्धता व्यवसायीले गरेका थिए। तर, सम्झौता पत्र नै व्यवसायीले स्थानीय बासिन्दालाई दिएनन्। स्थानीयवासीले पटक-पटक सम्झौता पत्र मागिसके तर व्यवसायीले दिएका छैनन्। पाँच वर्षका लागि सम्झौता गरेका छन्, स्थानीय बासिन्दाले। आगामी फागुनमा पाँच वर्ष पुग्छ। बाजेले दिएको जग्गा अझै दिइरहन अब नाति पुस्ता तयार छैन।

स्थानीयवासीको जग्गाबाट पनि सडक खनेर क्रसर चलाइएको छ। त्यसबापत बर्सेनि १० हजार रुपैयाँ दिने गरेका छन्। हरेक वर्ष भाडा बढाउने भनेका थिए। तर, बढाएनन्। सम्झौताको अवधि अझै एक वर्ष बाँकी छ। तर, सम्झौता पत्र नै नदिएका कारण व्यवसायीले अब सजिलै त्यो बाटो छाडिदिनेमा स्थानीयवासी शंका व्यक्त गर्छन्।

खानामा पनि माटो नै हुन्छ। पानी थापेर राखेका गाग्री र भाँडाकुँडामा धुलोको तर बसेको हुन्छ। बिछ्यौनामा धुलै धुलो हुन्छ। जति सफा गरे पनि खानामा धुलो कम हुँदैन। किरिकिरी धुलो लाग्दै खाना खान्छन्, उनीहरू।

भूकम्पबाट भत्किएको घर पुनर्निर्माण गर्न नसकेपछि छाप्रोमा बसिरहेका छन्, स्थानीयवासी। छाप्रोभित्र धुलो नै धुलो हुन्छ। बारीमा लगाएका तरकारी धुलोले छोपिएको छ।

चारवटा चालु अवस्थामा छन्। थप दुईवटा निर्माणाधीन छन्। ‘हामीलाई त क्रसर व्यवसायीले मान्छेजस्तो पनि गनेका छैनन्,’ एक स्थानीय बासिन्दा आक्रोस पोख्छन्, ‘अति गर्नु अत्याचार नगर्नु भन्छन्। हामीमाथि निरन्तर अत्याचार भइरहेको छ। आफूसँग पैसा र पावर छ भनेर हामीलाई त भुसुनाजति पनि गनेका छैनन्।’

डुकुछाप र देवीचौरमा क्रसर घट्ने होइन, बढ्ने क्रममा देखिन्छन्। गाउँमाथिको वन क्षेत्र धुलिसात नहुन्जेल दोहन रोकिने छैन। अहिलेसम्म अलि अलि बचेको हरियाली पनि केही वर्षभित्र सकिने छ। र, यो क्षेत्र मरुभूमिमा परिणत हुनेछ।
 

प्रकाशित मिति: १३:१८ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्