‘पारिजातले भेट्न बोलाउनुभएको छ भन्दा रामेशले पत्याएनन्’ 

काठमाडौं, चैत २१ : एसएलसी दिएर रिजल्ट पर्खेर बसेका थिए, ज्ञान उदास। त्यहीबेला पारिजातको ‘शिरीषको फूल’ उपन्यास प्रकाशित भएको थियो। त्यो उपन्यास उनलाई यति मन पर्‍यो कि तीन–चारपटक पढे। उनले अठोट गरे, ‘एसएलसी पास भएपछि काठमाडौं गएर सबैभन्दा पहिला पारिजातलाई भेट्छु।’ काठमाडौं आउन उनले पहिले एसएलसी पास गर्नुपर्थ्याे। 

संखुवासभाको चैनपुरमा १९९९ सालमा जन्मेका ज्ञान उदासले सरस्वती हाई स्कुलबाट एसएलसी दिएका थिए। त्यतिबेला उनको एसएलसी परीक्षाकेन्द्र धनकुटाको गोकुण्डेश्वर हाई स्कुलमा परेको थियो। २०२१ सालमा चैनपुरदेखि दुई दिन हिँडेर उनी धनकुटा पुगे। त्यो बेला संखुवासभाका विद्यार्थीले एसएलसी दिन धरान कि धनकुटा पुग्नुपर्थ्याे। 

ज्ञानका बुवा कृष्णप्रसाद उदासले कपडाको व्यापार गर्थे। त्यो बेला कोरा खाँडी, उन्यू, टेली कटनका कपडा प्रचलनमा थियो। उनका बुवाले १९९७ सालदेखि नै खाँदबारीमा कपडा राखेका थिए। उनलाई बुवाको व्यापार हेर्न खासै मन लाग्दैनथ्यो। उनी विद्यार्थी जीवनदेखि नै साहित्य लेखन र स्टेजमा नाटक प्रदर्शन गर्न मन पराउँथे। २०१९ सालमा उनको ‘कुन बेस’ भन्ने कविता संग्रह प्रकाशित भएको थियो। २०२२ मा उनी क्याम्पस पढ्न काठमाडौं आए। त्रि–चन्द्र कलेजमा पढ्ने क्रममा उनले साथीहरूबाट थाहा पाए, साहित्यकार पारिजात बिरामी छन्। उनी त्यही क्षणलाई सम्झना गर्दै भन्छन्, ‘पुतलीसडकस्थित उहाँको डेरामै भेट्न पुगेको थिएँ। सोही भेटमा पारिजातले मलाई सोध्नुभएको थियो– रेडियो नेपालमा गीत गाउने केटा कहाँ छन्, तिमी चिन्छौँ ?’ 

पारिजातले गायकहरू रामेश (रामेश्वर श्रेष्ठ) र रायन (नारायणभक्त श्रेष्ठ) लाई सोधेकी थिइन्। ०१९ सालमा रायन र रामेश रेडियो नेपालको राष्ट्रिय लोकगीत सम्मेलनका लागि धनकुटादेखि आएका थिए। त्यतिबेला उनीहरूले ‘लोकलहरी’ र ‘हिमाली संगम’ रेडियो कार्यक्रममा लोकगीत प्रस्तुत गर्थे, जसलाई पारिजातले सुन्थिन्।

पारिजातले आफ्ना साथीहरूको बारेमा सोधेपछि ज्ञानले खुसी हुँदै भने, ‘चिन्छु दिदी, उनीहरू मेरा साथी हुन्, म उनीहरूलाई लिएर आउँछु।’ 

त्यसपछि ज्ञान आफ्ना साथीहरूलाई भेट्न कुदे। पारिजातसँग आफ्नो भेट भएको र पारिजातले भेट्न खोजेको कुरा उनले साथीहरूलाई एकै सासमा सुनाए। रामेशले आफ्नो कुरा सुन्नेबित्तिकै अपत्यारिलो स्वरमा भनेको ज्ञान सम्झन्छन्, ‘कहाँ त्यस्तो ठुल्ठूला मान्छेले हामीलाई भेट्न खोज्छन् !’ तर, ज्ञानले जोड गरेर भनेपछि सबैले पत्त्याए। 

यसबारे रामेशले ‘नेपाल साप्ताहिक पत्रिका’मा भनेका छन्, ‘हामीजस्तो थाङ्नेमाङ्ने र दुब्लापातला गीतांगेलाई पारिजात दिदीले बोलाएको पत्याएका थिएनौँ। मजाक गर्न होला भनेर चैनपुरका ज्ञान उदासमार्फत दिदीको पुतलीसडकको डेरामा पुग्यौँ।’

ज्ञानसहितको टोली सिमसिमे पानी परिरहेका बेला पारिजातलाई भेट्न गएका थिए। ज्ञान सम्झन्छन्, ‘त्यो भेट हामीहरूका लागि धेरै दिनसम्म गफ गर्ने माध्यम बन्यो। त्यतिबेला हरेक साँझ कवि–लेखक न्युरोडस्थित पिपल बोटमुनि भेट हुने गर्थे। पछि त मेरा साथीहरू र पारिजात दिदीबीच घनिष्ठ मित्रता भयो।’

रामेश–रायनहरूले पारिजातकै सल्लाहमा राल्फा सांगीतिक अभियान चलाए। 

भैरव अर्याललाई कविता सुनाउँदा

कलेजमा ज्ञानको भेट साहित्यकार भैरव अर्यालसँग पनि हुन्थ्यो। ज्ञानका आँखामा भैरव अर्याल अत्यन्तै भलादमी, थोरै बोल्ने, बुझेर मात्रै बोल्ने, ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने स्वभावका थिए। 

कहिलेकाहीँ भेट हुँदा भैरवले ज्ञानलाई कविता सुनाउन भन्थे। ज्ञानले पनि कविता सुनाइहाल्थे। ज्ञान भन्छन्, ‘भर्खरभर्खर क्याम्पस पढ्दा मलाई आफ्ना ६–७ वटा कविता कण्ठै थियो।’ त्यसो त आज ज्ञान उदास ७८ वर्ष पुगे, अहिले पनि उनलाई आफ्ना कतिपय कविता कण्ठै छ।

त्यतिबेला कविता सुनिसकेपछि अर्यालले पूर्वेली लबजमा प्रतिक्रिया दिएको ज्ञान सम्झन्छन्, ‘तिम्रो कविता कति राम्रो हौ।’ 

उतिबेला भैरव अर्याल, नारायणबहादुर सिंह गोरखापत्रमा हुँदा राम्रा सिर्जना जसको पनि छापिने ज्ञान बताउँछन्। तर अहिले अनुहार हेरेर मात्र सिर्जना प्रकाशित हुन थालेको उनको गुनासो छ। 

बत्ती नहुँदा रात्रिकालीन कक्षा चलेन

ज्ञानले २०२४ सालमा आफूभन्दा एक वर्ष जेठी प्रेमासँग भागी विवाह गरेका थिए। प्रेमा पनि चैनपुरकै हुन्। प्रेमा खान्दानी परिवारको भएकाले भागी विवाह गर्नुपरेको उनी बताउँछन्। 

काठमाडौंमा पढाइ सकेर (२०२८ सालमा) ज्ञान गाउँ फर्के र ‘रात्रीकालीन पाठशाला’मा पढाउन सुरु गरे। उक्त विद्यालय रात्रिमा सञ्चालन गर्ने भनी स्थापना गरिएको थियो तर बत्तीका कारण त्यो सम्भव भएन र बिहानमा पढाउन थालियो। ‘एक–दुईपटक त पेट्रोम्याक्स (मैनटोल) बालेर पनि पढाउन प्रयास गरेका थियौँ,’ ज्ञान भन्छन्, ‘एकपटक मट्टीतेल भरेको पेट्रोम्याम्स दुई घन्टा जतिमा निभ्ने भएपछि राति पढाउन सम्भव भएन र विद्यालय सञ्चालन समितिले बिहान पढाउने निर्णय गर्‍यो।’

बिहान ६ बजेदेखि १० बजेसम्म विद्यालय सञ्चालन हुन्थ्यो। दिउँसो खेती किसान गर्ने, कर्मचारी जीवन बिताउनेहरू तथा दिउँसो विद्यालय जान नपाएकाहरू पढ्न आउँथे। त्यहाँ ज्ञान सहित चार जना शिक्षक थिए भने सय जना हाराहारीमा छात्रछात्रा थिए। यस विद्यालयमा तीन वर्ष पढाएर उनी खाँदबारीको हिमालयन माध्यमिक स्कुलमा पढाउन पुगे। यहाँ दुई वर्ष पढाएपछि उनी खाद्यान्न व्यापारमा लागे।

साहित्य र राजनीतिमा

२०३९ सालमा खाँदबारीबाटै उनले नयाँखबर साप्ताहिक पत्रिका दर्ता गरेका थिए। सुरुवातमा यो पत्रिका विराटनगरबाट प्रकाशित हुन्थ्यो, पछि काठमाडौंबाट हुन थाल्यो र अहिलेसम्म प्रकाशित भइरहेको उनी बताउँछन्। 

२०४१ देखि उनी राजनीतिमा लागे। पञ्चायतकालमा नीति तथा जाचँबुज समिति प्रमुख थिए, मरिचमान सिंह श्रेष्ठ। काठमाडौंमा बसिरहेका ज्ञानलाई मरिचमानले भने, ‘स्थानीय चुनावमा हुँदैछ, किन यहाँ बसिरहेको ? गाउँ गएर चुनावमा लड।’ २०४२ सालमा उनी तत्कालीन पञ्चायतको उपसभापतिमा निर्वाचित भए, बहुदल आएपछि उनको उक्त पद स्वतः सकिएको थियो। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा रबारबाट सिफारिस भई उनी संखुवासभा जिल्ला विकास समिति उपसभापति भए र ११ महिना कार्यभार सम्हाले। 

कवितामा विशेष दख्खल राख्ने ज्ञानका हालसम्म सातवटा कविता संग्रह प्रकाशित छन्। महाकवि देवकोटा शताब्दी सम्मान, भानु पुरस्कार, वासुशशि स्मृति सम्मान आदिबाट सम्मानित भएका उनका केही कृति अंग्रेजीमा अनुवाद भएका छन्। 

 Published Date: Saturday, 3rd April 2021 4:01:00 pm