Kathmandu Press

भाइरल बनेका गाउँपालिका अध्यक्षको प्रश्‍न- नि:शुल्क शिक्षालाई बेवास्ता, बोर्डिङमा पैसा तिरेको मात्र महत्त्व हुने?

‘सरकारी विद्यालयमा पढ्दा बच्चासँग कापी जुत्ता छ-छैन भन्‍ने थाहा छैन, बच्चाले किताब पातलो बनाइसक्यो पनि थाहा छैन। बच्चाले होमवर्क गर्‍यो-गरेन हेर्नु छैन। बच्चा विद्यालय पुग्यो-पुगेन हेर्नु छैन। पैसा खर्च गरेपछि मात्र त्यसको महत्त्व हुँदो रहेछ।’
भाइरल बनेका गाउँपालिका अध्यक्षको प्रश्‍न- नि:शुल्क शिक्षालाई बेवास्ता, बोर्डिङमा पैसा तिरेको मात्र महत्त्व हुने?
Hardik ivfHardik ivf

काठमाडौं, चैत १९ : ‘बोर्डिङ स्कुलमा पढ्न जाँदा टिफिनमा खाना झुन्ड्याएर, टाई, जुत्तामोजा लगाइदिएर पठाउने, कहाँ जान लागेको भन्दा छोरो पुर्‍याउन जान लागेको भनेर झोला बोकिदिएर पुर्‍याउन र लिन जान हुने। तर, सरकारी विद्यालयमा पढ्दा बच्चासँग कापी जुत्ता छ-छैन भन्‍ने थाहा छैन, बच्चाले किताब पातलो बनाइसक्यो पनि थाहा छैन। बच्चाले होमवर्क गर्‍यो-गरेन हेर्नु छैन। बच्चा विद्यालय पुग्यो-पुगेन हेर्नु छैन। पैसा खर्च गरेपछि मात्र त्यसको महत्त्व हुँदो रहेछ।’

केही दिनयता एक जनप्रतिनिधिले सार्वजनिक कार्यक्रममा दिएको मन्तव्यको यो भिडियो सामाजिक सञ्‍जालमा भाइरल बनेको छ। बोर्डिङ स्कुलतर्फ आकर्षित भएका स्थानीय बासिन्दालाई गाउँपालिकाका अध्यक्षले भौतिक पूर्वाधार, शिक्षकलगायत सबै सेवामा सरकारी विद्यालय अब्बल रहेको जानकारी गराइरहेका छन्।

उक्त भिडियोमा धादिङ थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले सरकारी विद्यालयको भौतिक र शैक्षिक दुवै गुणस्तर राम्रो भएको बताउँदै निजी विद्यालयको भन्दा राम्रो शिक्षा प्रदान गर्न सकिने जानकारी दिइरहेका छन्।

उनले उक्त भिडियोमा भनेका छन् ‘तपाईंले कर तिरेको पैसाले विद्यालयका कर्मचारीले तलब खानुहुन्छ। विद्यालय गएर शिक्षकहरूलाई पढाइ राम्रो भएन, बेलामा आउनु हुन्‍न, समयावधिसम्म बस्नु हुन्‍न। किन यस्तो गर्नु हुन्छ भनेर यहाँहरूले प्रश्‍न गर्नुपर्छ। चारैतिर जस्ताको बार, तात्तिएर खपिसक्नु हुँदैन, त्यहाँ पढाउनु काइदा। ढलान गरेका चार-पाँचवटा भवन छन्, त्यहाँ पढाउनु बेकाइदा?’

उनले भौतिक पूर्वाधारले भरिपूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने बताउँदै स्थानीयवासीलाई सम्झाइरहेको भिडियोको नेतादेखि पत्रकारसम्मले तारिफ गरेका छन्।

करिब एक साताअघि धादिङ थाक्रे गाउँपालिकास्थित ज्योति उच्चमावि नजिकै भएको सरसफाइसम्बन्धी कार्यक्रममा गाउँपालिका अध्यक्ष आचार्यले स्थानीयवासीको सरकारी विद्यालयतर्फ बढ्दो विकर्षणप्रति असन्तुष्‍टि पोखेका हुन्।

१७ चैत साँझपख ‘रबिश३०८’ नामको ट्विटर ह्यान्डलबाट सार्वजनिक भएको यो भिडियो हालसम्म ९१ हजार पाँच सयले हेरेका छन्। यस्तै, पाँच सय ८८ रिट्विट, एक सय पाँच कोट ट्विट र एक हजार सात सय ६७ जनाले लाइक गरेका छन्। सुविधासम्पन्‍न सरकारी विद्यालयमा निःशुल्क पढाइ हुँदा गाउँलेले अपनत्व बोध गर्न नसकेकामा गाउँपालिका अध्यक्ष आचार्यले व्यंग्य कसेका छन्। र, शुल्क तिरेकै कारण निजी विद्यालयप्रति अनावश्यक आशक्ति देखाएकामा असन्तुष्‍टि पोखेका छन्। खासमा, गाउँपालिका अध्यक्ष आचार्यले आफ्नो मन्तव्यमा देशकै शिक्षा प्रणालीमाथि चोटिलो प्रहार गरेका छन्।

आफूले व्यक्त गरेको धारणापछि स्थानीयवासी केही हदसम्म आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउन सहमत भएको आचार्य बताउँछन्। उनका अनुसार थाक्रे गाउँपालिकामा ४५ वटा सामुदायिक विद्यालय छन्, जसमा तीन सय ६० जना शिक्षक र कर्मचारी छन् भने करिब सात हजार दुई सय विद्यार्थी छन्। गाउँपालिकामा पाँचवटा निजी विद्यालय छन्।

यस्तै, ४५ वटा विद्यालयमध्ये १२ वटामा कक्षा-१२ सम्म पढाइ हुन्छ। सबै सरकारी विद्यालयमा कक्षा १० सम्म निःशुल्क शिक्षा दिइरहेको आचार्य बताउँछन्। उनका अनुसार आर्थिक समस्या भएका विद्यार्थीलाई क्याम्पसमा पनि निःशुल्क पढाउने व्यवस्था पनि छ।

‘सरकारी विद्यालयमा पढाइ राम्रो हुँदैन भन्‍ने मानसिकता, निजी विद्यालयले हाइफाइ देखाउन खोज्नु, निजीमा पढाउँदा अभिभावकलाई पनि गौरव महसुस हुनुलगायत कारण पनि सरकारी विद्यालयप्रति आकर्षण घटेको हो,’ उनले काठमाडौं प्रेससँग भने, ‘पोसाक, किताब, हाजिरी, समय सान्दर्भिक तालिमलगायत विषयमा सामुदायिक विद्यालयहरूले अलि बढी ध्यान दिनुपर्ने देखिएको छ।’

शिक्षणलाई प्रविधिमैत्री बनाउने उद्देश्यले थाक्रेका विद्यालयहरूमा कृषि, सिभिल इन्जिनियरिङ र विज्ञानको पढाइ सुरु गर्न लागिएको आचार्यको भनाइ छ। यस्तै, आगामी दिनमा पशु चिकित्सा, संगीतलगायत विषय पनि थप्ने योजनामा रहेको उनले बताए।

निजी विद्यालयको तुलनामा सरकारी विद्यालयमा भएका कमजोरी विस्तारै कम गर्दै लैजाने योजना गाउँपालिकाको छ। ‘केही विद्यालयमा यातायातको सुविधासमेत सुरु भइसकेको छ। हरेक विद्यालयमा कम्प्युटरको सुविधा, विद्यालयको नियम र सरसफाइमा विशेष ध्यान दिने, हरेक विद्यालयमा शिक्षकको विद्युतीय हाजिरीलगायत सुधार प्रयास भइरहेको छ,’ आचार्यले भने, ‘यस्तै सबै सामुदायिक विद्यालयमा सीसीटीभी क्यामेरा, ल्याब र इन्टरनेटको सुविधा प्रदान गर्ने योजनासमेत छ।’
 

प्रकाशित मिति: १२:५७ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्