Kathmandu Press

किन चिडचिडाहट बढ्दै छ नेपाली समाजमा ?

समाजशास्त्री डा. सुधीन्द्र शर्मा यी सबै घटनाक्रमलाई नेपाली समाजमा विश्वास खण्डित हुँदै गएको उदाहरण मान्छन् । भन्छन्, ‘विश्वासको कमी देखिँदै गएको छ, समाजमा । फर्केर हेर्दा मुख्य राजनीतिक घटनाबाट परिवर्तन हुने क्रममा जुन नेतृत्व वर्ग सत्तामा पुग्यो, उनीहरू अविश्वसनीय रहेको भान मानिसमा परेको छ । त्यसैले जताततै अविश्वास बढ्न थाल्यो ।’
किन चिडचिडाहट बढ्दै छ नेपाली समाजमा ?
Hardik ivfHardik ivf

काठमाडौं, माघ २३ : नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार नेपाल बन्द आह्वान गर्‍यो, तर सामाजिक सञ्जालमा बन्दको अवज्ञा गर्ने उद्घोषका कारण मानिस बिहानै झोला बोकेर निस्किए, सार्वजनिक सवारी साधन सञ्चालन हुने आशामा । बन्द नहुने आशामै ट्याक्सी लिएर निस्केका चालकले आफ्नो कमाइखाने साधन बन्दकर्ताबाट आगजनीमा पर्ने कल्पना पनि गरेका थिएनन् । किनकि, बन्दकर्ता त्यति आक्रामक होलान् भन्ने सोचेको भए उनी ट्याक्सी लिएर निस्किने नै थिएनन् ।

बन्दका क्रममा दुई ठूला नेता सामाजिक सञ्जालमा ट्रोल बनाइए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुरक्षाकर्मीको घेरामा ‘लक्जरियस’ गाडी चढेर बन्दकर्ताको मनोबल बढाउन सडकमा पुगेको कुराले सामाजिक सञ्जालमा आक्रोश बढायो । तर, प्रयोगकर्ताले प्रचण्ड समकालीन नेतामध्ये सबैभन्दा बढी सुरक्षा थ्रेट भएका नेता हुन् भन्ने हेक्का राखेनन् । र, कार्यकर्ताको मनोबल बढाउन उनी पैदल सबै ठाउँ पुग्न सक्दैनथे भन्ने पनि ख्याल गरेनन् । तथानाम गाली गर्नमा दिनभर खर्चिए, सामाजिक सञ्जाल प्रयोगकर्ताले ।

त्यति मात्रै होइन, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पैदल भीडबाट छलिँदै बन्दमा सहभागी भएको विषयले सहानुभूति बटुलेन, कार्यकर्ताको स्कुटरमा चढेकैमा उनले पनि ट्रोलको शिकार बन्नुपर्‍यो ।

सामाजिक सञ्जालमा तल्लोस्तरमा उत्रेर गाली गर्ने प्रवृत्ति सामान्य बन्दै गएका उदाहरण हुन् यी । जस्तो– युट्युबमा जसले बढी गाली गर्न सक्यो, ऊ नै सेलिब्रिटी बन्छ । अर्थात्, गाली नेपाली समाजको मानक बन्दै गएको छ ।

जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती भन्छिन्, ‘राजनीतिक र सामाजिक कारण यसमा जिम्मेवार छन्, मानिसको आर्थिक अवस्था खराब भएको छ । भविष्यप्रति आशा नदेखिएपछि चिडचिडापन देखिएको हुन सक्छ ।’

समाजका विभिन्न पाटोलाई केलाउने हो भने चिडचिडापन बढ्दै गएका विभिन्न उदाहरण भेट्न सकिन्छ । जस्तो– बढीमा एक सय २० सेकेन्ड (दुई मिनेट) पर्खिनुपर्ने ट्राफिक सिग्नलमा अधैर्य देखिन्छन्, साना चारपांग्रे सवारी र मोटरसाइकल चालक । सामूहिक हर्न बजाएर ट्राफिक प्रहरीलाई तनाव दिन्छन् । यस्तै, सानातिना मनमुटावमा पनि घातक आक्रमणमा जाइलाग्ने प्रवृत्ति बढ्दो छ ।

नेपाली समाजमा किन बढ्दै छ, चिडचिडाहट ? त्यसको जवाफ देशको राजनीतिक अवस्थाले दिन्छ । जब राजनीतिक उतारचढाव बढ्छ, समाज विभाजित बन्दै जान्छ । पछिल्ला दिनमा त्यसरी नै नेपाली समाज विभाजित बनेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय ठीक कि बेठीक भन्ने दुईलाइन संघर्ष जारी छ । त्यो संघर्ष संवैधानिक इजलासको बहसमा सीमित छैन, सडकमा आक्रोशका रूपमा पोखिइरहेको छ । र, ओलीको असंवैधानिक कदमले ‘प्रतिगमन’ संज्ञा पाएको छ । लामो अस्थिरतापछि दुई तिहाइ बहुमतको सरकार पाएको नेपाली नागरिकको हातमा फेरि पनि अस्थिरता नै परेको छ । र, चिडचिडापन उपहारमा पाएको छ ।

सामाजिक परिवर्तनलाई नजिकबाट नियालिरहेका नयाँ पत्रिका दैनिकका सम्पादक उमेश चौहान ३० वर्षदेखि नयाँपन नपाएकैले समाजमा चर्को निराशा देखिन थालेको बताउँछन् । ‘उनै नेताहरू नेतृत्वमा भएको हुनाले उनीहरूसँग सिर्जना भए पनि अब त्यो सकियो, आउटडेटेड भइसक्यो । एउटाले संसद् विघटन गर्ने र अर्कोले सडक बन्द गर्ने चिन्तन ३० वर्षअघिको हो,’ चौहान भन्छन्, ‘३० वर्षअघि कसैले संसद् विघटन गथ्र्यो र त्यसविरुद्ध सडकमा हुने प्रदर्शन, आगजनी र तोडफोडले मानिसमा जोश पैदा गथ्र्यो । ३० वर्षअघिको त्यो आइडिया अहिले थोत्रो भइसक्यो । अनि त्यही रहिरहँदा उनीहरूको चिन्तन र कार्य प्रणाली पनि त्यही दोहोरिइरह्यो । अनि जनतामा निराशा बढ्यो ।’

चौहानको बुझाइमा सामाजिक सञ्जालमा पनि त्यही प्रतिविम्ब देखिन्छ, मानिसले बहसका लागि नयाँ विषय नै पाएको छैन ।  ‘राजनीतिक र गैरराजनीतिक नेतृत्वले नयाँ विषय ल्याउँछन् अनि त्यसमा बहस हुन्छ । हामीकहाँ एउटै विषयले निरन्तरता पायो, जुन बहसका रूपमा नभई कर्कसका रूपमा सुनिन थाल्यो,’ चौहान भन्छन्, ‘त्यो सिर्जनशील बहस नभएर कर्कश बन्न थाल्यो ।’

उनको विश्लेषणमा राज्य डेलिभरी दिन चुक्यो । र, डेलिभरी नपाएको विषय आपसमा निराशा व्यक्त गर्नमै सीमित बन्यो । चौहान भन्छन्, ‘मानिसमा ‘फ्रस्टेसन’ छ । र, त्यो एकअर्कालाई गाली गर्दै कुण्ठा व्यक्त गर्ने तहमा देखिन्छ ।’ नेपाली समाजमा बाटो देखाउने अगुवाको अभाव देख्छन्, उनी । जस्तो– पछिल्ला तीन वर्षमा बन्द, हडतालको मारमा मानिस पिल्सिनुपरेको थिएन । तर, ती तीन वर्षमा पनि परिणाम केही आएन । ‘त्यसैले त हो, सडक फेरि तात्तिँदै गएको पनि । नेपालमा तर्कको दुःख छैन, डेलिभरीको मात्र दुःख भयो खासमा,’ चौहानको विश्लेषण छ ।

सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्की भन्छन्, ‘अहिलेसम्म भएका परिवर्तन अमेरिका र युरोपलाई हेरेर भए । पश्चिमा मुलुकको विकासलाई हेरेर नेपालमा त्यस्तै विकासको परिकल्पना गरियो । तर, अमेरिकाको लोकतन्त्रलाई नै समाप्त पार्न खोजेका डोनाल्ड ट्रम्पलाई त्यहाँको प्रणालीले नै बाहिरिन बाध्य बनाएको ठम्याउन सकेनौँ ।’

समाजशास्त्री डा. सुधीन्द्र शर्मा यी सबै घटनाक्रमलाई नेपाली समाजमा विश्वास खण्डित हुँदै गएको उदाहरण मान्छन् । भन्छन्, ‘विश्वासको कमी देखिँदै गएको छ, समाजमा । फर्केर हेर्दा मुख्य राजनीतिक घटनाबाट परिवर्तन हुने क्रममा जुन नेतृत्व वर्ग सत्तामा पुग्यो, उनीहरू अविश्वसनीय रहेको भान मानिसमा परेको छ । त्यसैले जताततै अविश्वास बढ्न थाल्यो ।’

जस्तो– सँगै काम गरेका तीन नेताहरू तीन वर्षसम्म अहिलेको तहमा गाली गलौजमा उत्रिएका थिएनन् । तर, भित्र त विश्वासको तह पटक्कै नरहेको उनीहरू विभाजित बनेपछि मात्र आम नागरिकले जानकारी पाए । बाटो छुट्टिएपछि उनीहरू एकअर्कालाई तथानाम गाली गर्न थाले । त्यसको अर्थ तीन वर्षसम्म उनीहरू भित्र आक्रोस गुम्सिएर बसेको देखियो । र, अहिले आएर त्यो छताछुल्ल भयो । डा. शर्मा भन्छन्, ‘समाजमा भइरहेको परिवर्तन मानिसलाई चित्त बुझिरहेको छैन । अविश्वसनीय वातावरण माथिदेखि तलसम्म पुगेको छ ।’

कोभिड–१९ महामारी पनि यसमा जोडिएको छ । लकडाउनका कारण धेरै मानिसको जीविका भद्रगोल भएको छ । नर्मल समय सुरु नभइसकेकाले मानिसले केही योजना बनाउन सकेका छैनन् । सकसमा छन् मानिस । कोभिड–१९, लकडाउन र त्यसले ल्याएको आर्थिक उथलपुथलले पनि समाजमा इरिट्रेसन बढाएको बुझ्न गाह्रो छैन ।

पछिल्ला राजनीतिक घटनाक्रम, कोभिड–१९ र आर्थिक मन्दीले चौतर्फी नकारात्मकता बढेको पाइन्छ । यस्तो नकारात्मकता अन्य मुलुकमा पनि देखिन्छ, नेपालमा मात्र होइन । प्रधानमन्त्री ओलीका रेल र पानीजहाजका ठूला भाषण पत्याएरै उनलाई मत दिएका होइनन्, उनलाई मत दिँदा स्थायी सरकार आउने आशा गरेका थिए, जनताले । स्थिर सरकार आउँदा मुलुक आर्थिक उन्नतीको बाटोमा लाग्ने भन्ने मानिसमा आशा थियो, जुन पछिल्ला दुई महिनाका घटनाक्रमले निराशामा परिणत भयो ।

गएको तीन वर्षको घटनाक्रमलाई फर्केर हेर्दा देशमा केही सुधार नभएको होइन । इन्टरडिसिप्लिनरी एनासिस्ट (आईडीए), एसिया फाउन्डेसन र काठमाडौं विश्वविद्यालयले गरेको ‘अ सर्भे अफ दी नेपाली पिपुल’मा कोभिड–१९ महामारी अगाडिसम्म मानिसमा एकप्रकारको आशा देखिन्थ्यो । देश सही दिशातिर गइरहेको छ कि गलत भन्ने प्रश्नमा अधिकांशको जवाफ ‘सही’ भन्ने आउँथ्यो । सडकलगायत पूर्वाधार तयार हुँदै गरेकामा मानिसमा एकप्रकारको आशा देखिन्थ्यो ।

तर, मार्च २०२० बाट परिदृष्य फेरियो । कोभिड–१९, लकडाउन, आर्थिक मन्दी र त्यसमाथि अहिले राजनीतिक अस्थिरताले जनतामा निराशा अझ बढायो । समाजलाई केही योगदान दिएका मानिसमा पनि निराशा व्याप्त देखिन्छ । किनकि, उनीहरूलाई आशा लाग्न छाडिसक्यो । देश भद्रगोलमै गइरहेको बुझाइ उनीहरूमा बाक्लिएको छ ।

नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्की यसमा राजनीतिशास्त्रको ज्ञान बाँड्ने व्यक्तिहरूको पनि समस्या देख्छन् । ‘कहीँ न कहीँ नेपाली समाज र सभ्यता अनि नेपाली नागरिकमा जोडिएर रहेको भित्री पाटोलाई अहिलेको राजनीतिशास्त्र र समाजशास्त्रका धेरै सिद्धान्त र मेथडले चिनेका छैनन्,’ उनी भन्छन्, ‘अहिलेसम्म भएका परिवर्तन अमेरिका र युरोपलाई हेरेर भए । पश्चिमा मुलुकको विकासलाई हेरेर नेपालमा त्यस्तै विकासको परिकल्पना गरियो । तर, अमेरिकाको लोकतन्त्रलाई नै समाप्त पार्न खोजेका डोनाल्ड ट्रम्पलाई त्यहाँको प्रणालीले नै बाहिरिन बाध्य बनाएको ठम्याउन सकेनौँ ।’

उनको विश्लेषणमा नेपाल र नेपालीले नै बुझ्ने–बुझाउने प्रकृतिको राजनीतिक प्रणालीतर्फ राजनीतिशास्त्री र समाजशास्त्रीहरूले मार्गनिर्देशन गर्न सकेनन् । अहिलेका नेताले विकृत राजनीतिक संस्कार देखाए । ‘तर, त्यो संस्कार विकास गरिदिने काम त्रिभुवन विश्वविद्यालयजस्ता प्राज्ञिक थलोहरूको हो । जब राजनीतिक संस्कार नै बसेको थिएन, संघीयताले पनि मानिसका विकास चाहना पूरा गर्न सक्ने थिएन, सकिरहेको पनि छैन । त्यसैले विकृत राजनीतिको दोष ती राजनीतिशास्त्रीहरूले पनि लिनुपर्छ,’ डा. कार्की भन्छन् ।

उनका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको सल्लाहकार हुने, मन्त्रालय चलाउने र नीति निर्माण गर्ने आधारभूमि राजनीतिशास्त्रीहरूले तयार पारे । त्यसलाई कार्यान्वयनमा लैजाँदा अपेक्षाविपरीत परिणाम आयो । ‘त्यसको दोष ‘एक्टर’को मात्र हुँदैन, त्यसको आधारभूमि बनाउनेहरू पनि यसमा भागिदार छन् । उनीहरूले मौलिक प्रणाली निर्माण गर्न नसक्दाको परिणाम हो यो,’ डा. कार्की भन्छन् ।

लेखक तथा विश्लेषक जुगल भुर्तेल आफ्नो पुस्ताले यो देश राम्रो भएको देख्ने आशा मारिसकेको बताउँछन् । ‘हामी बाँचुन्जेलसम्म यो देश बन्दैन, हामीपछिको पुस्ताले केही गर्‍यो भने गर्‍यो, नत्र हाम्रो आशा सिद्धियो भन्ने एक किसिमको निराशा छ,’ भुर्तेल भन्छन्, ‘हामीलाई लागेको थियो– सबै द्वन्द्व सकिए, सबैको सम्झौतामा लोकतान्त्रिक संविधान बन्यो । अब देश अगाडि बढ्छ । र, त्यसपछि मुलुक आर्थिक समानताको बाटोमा अगाडि बढ्छ । त्यसका लागि एउटा दरिलो पार्टी चाहिन्छ भनेर जनताले नेकपालाई दुई तिहाइ मत दिए । तर, उनीहरू झगडा मात्रै गरेर बसे ।’

नेकपा फुटेपछि नेतृत्व वर्गको भाषा अत्यन्त विकृत देखिँदै आएको छ । नेताहरू एकअर्काविरुद्ध तुच्छ गालीमा उत्रिएका छन् । ‘त्यसले समाजको ध्रुवीकरणमा एकदमै असहिष्णुता घोलिएर गएको छ,’ भुर्तेल भन्छन्, ‘समाजले आफ्ना रोल मोडेलहरूको असहिष्णुताकै सिको गर्ने हो ।’

त्यो असहिष्णुताले १० वर्ष अघिसम्म एकैपटक व्यापकता पाउँदैनथ्यो । अहिले सामाजिक सञ्जालको पहुँचमा छन्, आम नागरिक । ‘त्यो माध्यम उपलब्ध भएकाले पनि समाजको ‘इरिट्रेसन’ तत्काल देखिएको महसुस भएको हुन सक्छ,’ भुर्तेल भन्छन्, ‘तर, हामीकहाँ मात्र होइन, संसारभर त्यो असहिष्णुता बढेको छ । विश्वव्यापी रूपमा दक्षिणपन्थी राजनीति व्यापक हुँदै जाँदा मानिसमा असहिष्णुताको मात्रा पनि बढेर गएको देखिन्छ ।’

त्यसै पनि दक्षिणपन्थी राजनीति भनेकै ‘म राम्रो’ नभई ‘तिमी नराम्रो’ भनेर गरिने राजनीति हो । ‘अरूलाई नराम्रो देखाएर आफू राम्रो देखिनुपर्ने राजनीतिको व्यापकता बढ्दै गएकाले समाजमा त्यसको प्रतिविम्ब आएको होला । र, सामाजिक सञ्जालले त्यसलाई प्रतिविम्बित गर्ने सजिलो माध्यम दियो,’ भुर्तेल भन्छन् ।

जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती यसरी चिडचिडापन बढ्नुमा सामाजिक अस्थिरतालाई कारक मान्छिन् । ‘राजनीतिक र सामाजिक कारण यसमा जिम्मेवार छन्, मानिसको आर्थिक अवस्था खराब भएको छ । भविष्यप्रति आशा नदेखिएपछि चिडचिडापन देखिएको हुन सक्छ,’ डा. उप्रेती भन्छिन्, ‘अहिलेको युवा पुस्तालाई सबै कुरा छिट्टै चाहिएको छ, धैर्य भन्ने कुरा नै छैन । आफूले चाहेको कुरा छिटो नपाउँदा यस्तो समस्या देखिन्छ ।’


समाजशास्त्री डा. सुधीन्द्र शर्मा यी सबै घटनाक्रमलाई नेपाली समाजमा विश्वास खण्डित हुँदै गएको उदाहरण मान्छन् । भन्छन्, ‘विश्वासको कमी देखिँदै गएको छ, समाजमा । फर्केर हेर्दा मुख्य राजनीतिक घटनाबाट परिवर्तन हुने क्रममा जुन नेतृत्व वर्ग सत्तामा पुग्यो, उनीहरू अविश्वसनीय रहेको भान मानिसमा परेको छ । त्यसैले जताततै अविश्वास बढ्न थाल्यो ।’

त्यस्तो समस्याले आवेशप्रेरित अपराधसम्ममा मानिसलाई डोर्‍याउने उनी बताउँछिन् । विगतमा दोस्रो विश्वयुद्ध र अहिले इराक युद्धबाट फर्केका सिपाहीहरूमा पनि यस्तै समस्या देखिएको उनी बताउँछिन् ।

‘अन्य देशमा पनि यस्तो समस्या नदेखिएको होइन, विकसित मुलुकमा यस्ता विषय अभिलेखीकृत हुन्छन्, हामीकहाँ अभिलेखीकरण गर्ने प्रचलन नै छैन,’ डा. उप्रेती भन्छिन्, ‘नेपालमा पछिल्लो समयमा बालबालिकामा पनि चिडचिडापन बढेको छ । स–साना कुरामा झगडा गरिहाल्ने स्वभाव विकास भएको पाइन्छ । सामाजिकीकरणको प्रक्रिया कमजोर बन्दै जानुको परिणाम हो यो ।’

कोरोना महामारीका कारण सामाजिक, आर्थिक, मानसिक समस्या देखिँदा पनि समाजमा चिडचिडापन बढेको उनी बताउँछिन् । यसलाई कम गर्न परामर्श दिने प्रचलनलाई अभियानकै रूपमा सुरु गरिएन भने यो अझ बढ्ने डा. उप्रेतीको ठम्याइ छ ।

प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, माघ २३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्