Kathmandu Press

थाङ्का चित्रकलाभित्रको बौद्धदर्शन

आकार र देउता अनुसार एउटा थाङ्का चित्र तयार गर्न एक महिनादेखि एक वर्षसम्म लाग्न सक्छ । गुणस्तरीय सामान अर्थात् २४ क्यारेट सुन प्रयोग गरेर बनाइएको थाङ्का चित्रकला एक हजार वर्षसम्म केही हुँदैन।
थाङ्का चित्रकलाभित्रको बौद्धदर्शन
Hardik ivfHardik ivf

काठमाडाैं, माघ २३ : गोकर्णेश्वर नगरपालिका– १३ बौद्ध पिपलबोटबाट करिब पाँच सय मिटरअगाडि बाहुन धारामा पहेँलो रंगको घर छ । घर प्रवेश गर्ने गेटको बायाँतर्फ कागजमा सूचना टाँसिएको छ, ‘थाङ्कासम्बन्धी काम गर्न तथा सिक्न इच्छुक महानुभावले यहाँ सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर ः ९८०३३४२२५, ९८१३४३७५८२ ।’ 

यो सूचना ४१ वर्षीय थाङ्का व्यवसायी छिरिङ शेर्पाले टाँसेका हुन्, दुई वर्षअगाडि । उनले जेपी हिमालयन बुद्धिस्ट ह्यान्डिक्राफ्ट सञ्चालन गरिरहेका छन्, जो थाङ्का कार्यशाला तथा तालिम केन्द्रको रुपमा रहेको छ ।

कोभिडअघि ५०–६० जनालाई थाङ्का चित्रकला सिकाएर रोजगारी दिइरहेको छिरिङ बताउँछन् । उनी भन्छन्, ‘सिक्ने र काम गर्ने दुवैको आवश्यकता परेका कारण सूचना टाँसेको थिएँ । धेरै कर्मचारी परिचालन गरी उत्पादन बढाउने योजना थियो । तर, कोभिडका कारण सोचेजस्तो भएन ।’ 

आकार र देउता अनुसार एउटा थाङ्का चित्र तयार गर्न एक महिनादेखि एक वर्षसम्म लाग्न सक्छ । गुणस्तरीय सामान अर्थात् २४ क्यारेट सुन प्रयोग गरेर बनाइएको थाङ्का चित्रकला एक हजार वर्षसम्म केही हुँदैन ।
 

छिरिङको तालिम केन्द्रमा तीन वर्षदेखि थाङ्का चित्र सिकिरहेकी छन्, सिन्धुपाल्चोककी २१ वर्षीया अनिता दोङले । बुद्धको चित्र मनपर्ने भएकाले आफू थाङ्का चित्रकलामा प्रवेश गरेको उनी बताउँछिन् । ‘मैले अहिलेसम्म चित्रमा कलर लगाउन मात्रै जानेकी छु,’ उनी भन्छिन्, ‘रंग लगाउनुलाई सेटिङ गर्ने भनिन्छ । त्यही सेटिङ मिलाएर मासिक १० हजारसम्म आम्दानी हुन्छ ।’

थाङ्का व्यवसायी छिरिङ शेर्पा

गुम्बा र थाङ्का

थाङ्का चित्रकलालाई पेसा बनाउनुको पछाडि छिरिङको आफ्नै कथा छ । उनको पुख्र्यौली थलो नेपालको सोलुखुम्बु हो । उनका पितापुर्खा बसाइँ सरेर भारतको कालिम्पोङ पुगे । छिरिङले कालिम्पोङमै ३ कक्षा पढ्दै थिए, त्यही बेला उनलाई गुम्बा जानुपर्यो । उनको परिवारबाट एकजना गुम्बा जानुपर्ने चलन छ । छिरिङ भन्छन्, ‘मेरो दाइ नगएका कारण म जान बाध्य भएँ ।’
 
नौ वर्षको उमेरमा उनी दार्जिलिङस्थित बौद्ध गुम्बामा बस्न गए । त्यहाँ उनले बुद्ध धर्मबारे शिक्षा लिनुका साथै गुम्बाभित्रको आवश्यक काममा सघाउनुपथ्र्यो ।

गुम्बाका भित्ताभरि बुद्धको चित्र बनाइएको हुन्थ्यो । ती चित्रले छिरिङको मन खिच्यो, ‘यति राम्रा चित्र कसरी बनाए होलान् !’ 

गुम्बा गएको दुई वर्षपछि फुर्सदका बेला उनले भित्तामा हेर्दै कागजमा नक्कल उतार्ने कोसिस गरे । ६–७ वर्षसम्म निरन्तर प्रयास गरेपछि उनी सामान्य चित्र कोर्न सक्ने भए । 

उनको लगाव चित्रकलामा थियो, त्यो देखेर काठमाडौंमा बस्ने आफन्तले उनलाई बोलाएका थिए, ‘यतै आऊ, यता चित्र कोर्न सिकौला ।’

छिरिङले १८ वर्षको उमेरमा दार्जिलिङको गुम्बा छाडे र काठमाडौं आएर बौद्धस्थित ‘छिरिङ आर्ट स्कुल’मा भर्ना भए । त्यहाँ ६ वर्ष कला सिकेपछि उनले समूहमा नेपाल र भारतका गुम्बाहरूको भ्रमण गरे, गुम्बा लेख्न । ‘तीन वर्ष जति गुम्बा लेखेँ । गुम्बा लेख्नु भनेको बुद्धले दिएका उपदेश, बौद्ध धर्मको इतिहासबारे मन्दिरको भित्ता, घन्टी आदिमा लेख्नु हो,’ छिरिङ भन्छन्, ‘कपडा तथा गुम्बाहरूमा बुद्धको उपदेश लेखिएको हुन्छ । त्यसलाई गुम्बा लेख्ने भनिन्छ ।’ 

दुई–तीन वर्ष गुम्बा लेख्न हिँडेपछि उनले आफ्नो सीपलाई व्यवसायीकरण गर्ने सोचे । सुरुमा सन् २०१५ मा कागेश्वरी मनोहरा नगरपालिकाको थलीमा १० आना जग्गा भाडामा लिएर व्यवसाय सुरु गरे, जहाँ थाङ्का चित्र निर्माण हुन्थ्यो । त्यो ठाउँ अपुग भएपछि उनी गोकर्णेश्वर आएका हुन्। 

नेपाल सरकारले घरेलु तथा हस्तकला अन्तर्गत दर्ता गराएर थाङ्काको व्यवसाय गर्न दिन्छ । छिरिङका अनुसार ०७२ को भूकम्प अघिसम्म उपत्यकामा एक हजारको हाराहारीमा थाङ्का व्यवसायी थिए ।

चीनमा व्यापार

एकपटक उनी थाङ्का व्यवसायको सिलसिलामा चीन गएका थिए । त्यहाँका थाङ्का व्यवसायीसँग उनले अनुरोध गरे, ‘हामीले बनाएको थाङ्का चित्रकला किनिदिनुपर्यो ।’ 

उनीहरूले नेपालमा गुणस्तरीय थाङ्का नबन्ने भन्दै लिन मानेनन् । जब उनले आफूले लिएर गएका थाङ्का चित्र देखाए, चिनियाँ व्यापारी उनीसँग व्यापारिक सम्झौता गर्न तयार भए । 

चीनको छेन्दुमा थाङ्काको ठूलो कम्पनी छ । छिरिङ भन्छन्, ‘मैले त्यही कम्पनीका एक व्यक्तिलाई केही वर्षदेखि थाङ्का बिक्री–वितरण गर्दै आएको छु ।’ 

कोभिडका कारण नेपाल र चीनबीच आवतजावत बन्द भएसँगै उनको व्यवसाय ठप्प भयो । उनीसँग अझै पनि अर्डरमा तयार पारेका ५०–६० लाख रुपैयाँ मूल्य बराबरका गुणस्तरीय थाङ्का बाँकी छन् । कोभिडले थाङ्का बिक्री गर्न नपाएपछि उनले कर्मचारी राख्न सकेनन्, हाल उनीकहाँ चारजना मात्रै कर्मचारी छन् । 

छिरिङ पुनः थाङ्काको व्यापार हुनेमा आशावादी छन् । ‘महामारी कम भएसँगै थाङ्का बिक्रीमा पहल गर्छु,’ उनी भन्छन्, ‘सकिएन भने वैदेशिक रोजगारीमा जाने योजना बनाउँदैछु ।’ 

छिरिङले १३ वर्षअगाडि नेपालकी सरस्वती शेर्पासँग विवाह गरेका हुन् । सरस्वतीले बौद्धमा पार्लर सञ्चालन गर्छिन् । उनीहरूका दुई छोरी छन् । छिरिङ भन्छन्, ‘अहिले हामी सरस्वतीकै कमाइको भरमा छौँ ।’

थाङ्का के हो ? 

विष्णु प्रभातद्वारा लिखित पुस्तक ‘प्रज्ञा संस्कृति कोश’ अनुसार, बौद्ध विश्वासमा आबद्ध ऐतिहासिक सांस्कृतिक कलाका रुपमा थाङ्का चित्रकारिता नेपाली संस्कृतिमा प्रचलित छ । यसमा बौद्ध मण्डलाको भावमा प्रकृति र जीवका अनेकौँ बहुलतालाई चित्रित गरिएको हुन्छ । 
अर्का २९ वर्षीय थाङ्का व्यवसायी दीक्षान्त लामाका अनुसार थाङ्का चित्रकला बौद्ध धर्मको पहिचान हो । ‘थाङ्का तिब्बती परम्परागत बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकला हो,’ उनी भन्छन्, ‘यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ ।’ 

मुख्य रुपमा लामा तथा भिक्षुले चित्रकलाका माध्यमबाट बौद्ध धर्मबारे ज्ञान प्रदान गर्न थाङ्काको प्रयोग गर्छन् । थाङ्काका माध्यमबाट बौद्धदर्शन, इतिहास, जीवन–जगत् लगायत कुरा व्याख्या गर्न सकिने दीक्षान्त बताउँछन् । 

थाङ्का कसरी बनाइन्छ ? 

छिरिङका अनुसार, थाङ्का चित्र बनाउन शुद्ध कटनको सफा सेतो कपडा, गाई–भैँसीको छाला, सेतो माटो, गम, रंग र सुन आवश्यक पर्छ । 
सुरुमा कटनको सेतो कपडामा छालालाई गम बनाएर लगाए सुकाइन्छ । त्यसपछि त्यस कपडालाई ढुंगाले घोटेर चिल्लो कागजजस्तै बनाइन्छ र त्यसमा बौद्ध धर्मदर्शनसम्बन्धी चित्र कोरिन्छ । गुणस्तरीय थाङ्का चित्र तयार गर्न समय लाग्छ र यो महँगो पनि हुन्छ । थाङ्का चित्र बनाउन सबैभन्दा पहिले बौद्ध धर्म, देउता र त्यसको भावलाई बुझ्न सक्नुपर्छ ।

छिरिङ भन्छन्, ‘आकार र देउता अनुसार एउटा थाङ्का चित्र तयार गर्न एक महिनादेखि एक वर्षसम्म लाग्न सक्छ । गुणस्तरीय सामान अर्थात् २४ क्यारेट सुन प्रयोग गरेर बनाइएको थाङ्का चित्रकला एक हजार वर्षसम्म केही हुँदैन ।’ 

तर नेपालमा साधारण थाङ्कालाई व्यवसायीले गुणस्तरीय थाङ्का भन्दै बेचिरहेको उनी गुनासो गर्छन् । उनी भन्छन्, ‘कम लगानीमा साधारण थाङ्का बनाएर व्यवसायीले पर्यटकसँग धेरै नाफा लिने गर्छन् । जुन सय वर्ष पनि टिक्दैनन् ।’ यसले नेपाली थाङ्काप्रतिको विश्वास घट्ने पनि उनको चिन्ता छ । नेपाल सरकारले थाङ्काको मूल्य निर्धारण गर्न, गुणस्तर परीक्षण गर्न र बजार विस्तारमा सहजीकरण गर्न नसकेको पनि उनी गुनासो गर्छन् ।
 

प्रकाशित मिति: १०:१६ बजे, शुक्रबार, माघ २३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्