Kathmandu Press

अधिवक्ताहरूको जिकिर– पाँच वर्षको प्रतिनिधिसभा तीन वर्षमा विघटन गर्न मिल्दैन

अधिवक्ता अनिता जोशी मानन्धर, झल विक, नवराज पाण्डे, गोविन्द बसौला र सुजन नेपालले संविधानअनुसार प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था संविधानमा नभएको र पाँच वर्षका लागि निर्वाचन गरिएको हुनाले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्नुपर्ने बहस गरे ।
अधिवक्ताहरूको जिकिर– पाँच वर्षको प्रतिनिधिसभा तीन वर्षमा विघटन गर्न मिल्दैन
Hardik ivfHardik ivf

काठमाडौँ–  प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनउपर संवैधानिक इजलासमा रिट निवेदक कञ्चनकृष्ण न्यौपानेको बहस आजदेखि सुरु भएको छ । उनले संविधानले पाँच वर्ष नपुगीकन निर्वाचनको परिकल्पना नगरेको हुनाले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्नुपर्ने तर्क पेस गरे ।

अधिवक्ता अनिता जोशी मानन्धर, झल विक, नवराज पाण्डे, गोविन्द बसौला र सुजन नेपालले नेपालको संविधानअनुसार प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था संविधानमा नभएको र पाँच वर्षका लागि निर्वाचन गरिएको हुनाले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्नुपर्ने बहस गरे । रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट उनीहरुले बहस गरेका हुन् ।   

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन गर्ते व्यवस्था संविधानमा नभएको उल्लेख गर्दै अदालतले संविधानमा भएको व्यवस्थाको व्याख्या गर्नुपर्ने तर्क प्रस्तुत गरे । उनले प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा विघटन गर्नु ठीक वा बेठीकभन्दा पनि संविधानमा भएको व्यवस्थालाई ध्यानमा राखेर न्याय निरूपण गर्नुपर्ने विषयमा बहस गरे ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले जनताको सर्वोच्चतालाई ध्यानमा राखेर सर्वोच्च अदालतले व्याख्या गर्नुपर्ने र संविधानमा लेखिएको कुरा व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई भएको हुनाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको चौथो दिनमा आज छ जना अधिवक्ताले बहस गरे । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनउपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबारका लागि तय भएको छ ।    

रिट निवेदकका तर्फबाट आजसम्म १८ कानुन व्यवसायीले बहस गरेका छन् । बिहीबार पुनः रिट निवेदककै तर्फबाट बहस हुनेछ ।

प्रकाशित मिति: १७:४४ बजे, बुधबार, माघ ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्