प्रधानमन्त्री ओलीलाई सांसद रायमाझीको प्रश्न- जे मन लाग्यो त्यही गर्ने तपाईं हिटलर हो ?
‘निर्वाचनमा जाने भएपछि प्रधानमन्त्री कामचलाउ हुन्थें। तर, अहिले प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गरिराख्नु भएको छ,’ उनले प्रश्न गर्दै भने,‘संविधान तपाईं मान्नु नपर्ने, अरू राजनीतिक दलले संविधान मानिदिनुपर्ने ? जे मनलाग्यो त्यही गर्ने तपाईं हिटलर हो यो मुलुकको?’
काठमाडौं, पुस २३ : नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर बन्न खोजेको आरोप लगाएका छन्।
बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै रायमाझीले प्रधानमन्त्री ओलीले संविधान नमानेर हिटलर प्रवृति देखाएको बताएका हुन्। आफूले संविधान मान्नु नपर्ने तर अरु सबैले मान्नुपर्ने सोचाइ प्रधानमन्त्री ओलीको रहेको भन्दै सांसद रायमाझीले हिटलरको संज्ञा दिए।
‘निर्वाचनमा जाने भएपछि प्रधानमन्त्री कामचलाउ हुन्थें। तर, अहिले प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गरिराख्नु भएको छ,’ उनले प्रश्न गर्दै भने,‘संविधान तपाईं मान्नु नपर्ने, अरू राजनीतिक दलले संविधान मानिदिनुपर्ने ? जे मनलाग्यो त्यही गर्ने तपाईं हिटलर हो यो मुलुकको?’
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदमा रहने आफ्नो योग्यता गुमाइसकेको समेत समेत सांसद रायमाझीले बताए। संविधान अनुसार प्रधानमन्त्री रहन प्रतिनिधि सभाको सदस्य हनुपर्ने, बुहमत सांसदको समर्थन हुनुपर्ने र मानसिक अवस्था ठीक भएको हुनुपर्ने रहेको तर अहिले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेकाले मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्ने कि नमिल्ने भन्दै सांसद रायमाझीले प्रश्न गरे।
सांसद रायमाझीले सरकारले जस्तोसुकै कदम मान्न बाध्य पारेर राष्ट्रपति संस्थाको बदनाम गरेको समेत बताए। प्रधानमन्त्रीले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न लगाएको उनको आरोप छ। ‘यो कदम असंवैधानिक हो। असंवैधानिक अलोकतान्त्रिक र हामीले भनेजस्तै अधिनायकवादको बाटोमा हिँड्नका लागि यो सरकारले आफ्नो रेखा कोरिरहेको छ। राष्ट्रपतिले हरेक कागजमा सही गराउने? राष्ट्रपति नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष हो, नेकपाको कार्यकर्ता हो?,’उनले भने।
मुलुकलाई अहलेको अवस्थामा ल्याउन कम्युनिष्ट पार्टी जिम्मेवारी भएको समेत सांसद रायमाझीले बताए। उनले प्रधानमन्त्री ओलीले अदालतलाई प्रभावित गर्ने गरी बोल्दै हिँडेको समेत बताए। परम्परालाई देखाएर प्रतिनिधिसभा विघटन गरिएको भन्दै सांसद रायमाझीले २ सय ३७ वर्षको परम्परालाई नै व्युताउन खोजिएको हो भन्दै प्रश्न समेत गरे।
प्रधानमन्त्री ओलीकै कारण अहिले राजावादीहरु सलबलाएको समेत बताए। सांसद रायमाझीले प्रधानमन्त्री ओलीलाई संविधान राम्रोसँग पढ्न समेत आग्रह गरे। उनले भने,‘यो संविधानको धारा ७६ मा राष्ट्रपतिलाई भनिएको छ र ८५ भनिएको छ कुनैपनि मध्यावधि निर्वाचनको लागि वैकल्पिक सरकार बन्न सक्दैन भने मात्र ती कुराहरुमा मध्यावधिमा जान सक्ने भनिएको छ। त्यसकारण यो संविधान पढ्न सम्माननीय अध्यक्षज्यूमार्फत प्रधानमन्त्रीसम्म पुगोस् भन्ने आग्रह गर्न चाहन्छु।’