सोमबार, मंसिर १५, २०७७

प्रिमियर लिगको शीर्ष स्थानमा टोटेनह्याम 

काठमाडौं, मंसिर ७ : टोटेनह्याम इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति म्यान्चेष्टर सिटीमाथि २–० को जित हात पार्दै टोटेनहम शीर्ष स्थानमा उक्लिएको हो । सिटीले बल पोजिसन र गोलको धेरै अवसर सिर्जना गरेपनि टोटेनहमले खेलमा बाजी मारेको हो ।

सन ह्युङ मिन र वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जियोवानी लो सेलोले घरेलु टोलीलाई जित दिलाउन एक एक गोलको योगदान गरे । टोटेनह्यामले लिगमा लगातार चार खेलमा जित निकालेको हो ।

टोटेनह्यामले प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटीसँग २ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको टोटेनह्यामको २० अंक छ । सिटी तालिकाको १० औं स्थानमा छ । यस्तै, अर्को खेलमा भने चेल्सीले न्युक्यासल युनाइटेडलाई २-० गोलले हराएको छ । न्युक्यासललाई हराएसँगै एकैछिन चेल्सी शीर्ष स्थानमा उक्लिएको थियो ।

यस्तै अर्को खेलमा ब्राइटनले एस्टन भिल्लालाई २-१ गोलले हराउँदा आज बिहान भएको अर्को खेलमा म्यान्चेष्टर युनाइटेडले वेष्ट ब्रुमलाई १-० ले हराएको छ ।

 Published Date: Sunday, 22nd November 2020 7:22:00 am