Kathmandu Press

कोरोना संक्रमित भएर निको भएकालाई पुन: संक्रमण हुने सम्भावना कति छ?

विभिन्न अध्ययन तथा अनुसन्धानहरुले कोरोना भाइरस कम्तिमा ९० दिनसम्म पुनः संक्रमण हुने सम्भावना नरहेको देखाएपनि केही देशहरुमा भने निको भइसकेका मानिसहरु पनि पुनः संक्रमित भएको पाइएको छ।
कोरोना संक्रमित भएर निको भएकालाई पुन: संक्रमण हुने सम्भावना कति छ?
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर ५ : अहिले कोरोना संक्रमित भई निको भएका अधिकांश मानिसमा पुनः संक्रमण हुने सम्भावना कति छ? भन्ने प्रश्न उठिरहेको छ। विभिन्न अध्ययन तथा अनुसन्धानहरुले कोरोना भाइरस कम्तिमा ९० दिनसम्म पुनः संक्रमण हुने सम्भावना नरहेको देखाएपनि केही देशहरुमा भने निको भइसकेका मानिसहरु पनि पुनः संक्रमित भएको पाइएको छ। 

जनस्वास्थ्य विद् डा. रविन्द्र पाण्डेका अनुसार पछिल्लो अध्ययनहरुले १०० जनामध्ये एक जनामा कोरोना भाइरस पुनः संक्रमण भएको देखिएको छ। ‘कोरोना संक्रमित भई निको भएका मानिसहरु दोस्रो पटक संक्रमित हुने सम्भावना कम हुन्छ,’ डा. पाण्डेले काठमाडौं प्रेससँग भने ‘पुन संक्रमण भएपनि त्यो व्यक्तिको शरिरमा कोरोना भाइरससँग लड्नसक्ने एन्टिबडी बनिसकेको हुन्छ र त्यसले भाइरसलाई नष्ट गर्छ।’

अहिलेसम्मको अध्ययनहरुमा ३ देखि ५ महिनासम्म एन्टिबडीले काम गर्ने र यो समयावधिसम्म कोरोना पुन संक्रमणको खतरा नहुने डा. पाण्डे बताउँछन्। दोस्रो पटक संक्रमण भएको मानिसमा कोरोना भाइरसले गम्भीर असर नपुर्‍याउने भएपनि उनीहरुबाट अरु मानिसमा भाइरस सर्न सक्ने सम्भावना भने उत्तिकै रहेको पाण्डेको भनाई छ। 

यस्तै दोस्रो पटक संक्रमण हुँदा पहिलेको तुलनामा गम्भीर हुन्छ कि हुँदैन? भन्नेबारे पनि प्रमाणित तथ्य सार्वजनिक भइसकेको छैन। संक्रामण रोग विशेषज्ञ डा. शेर बहादुर पुन पुनःसंक्रमितहरुलाई कति असर गर्छ भन्ने विषयमा अध्ययन भइनसकेको बताउँछन्। उनका अनुसार पहिलाको तुलनामा दोस्रो पटक कोरोना भाइरस संक्रमित हुँदा कम जोखिम देखिएपनि अपवादको रुपमा केही देशहरुमा दोस्रो संक्रमण झनै खतरनाक पनि देखिएको छ। ‘हङकङ र युरोपमा दोस्रो पटक कोरोना संक्रमित भएका मानिसहरुमा खासै गम्भीर असर परेको देखिँदैन तर अमेरिका र ल्याटिन अमेरिकामा भने पहिलेको भन्दा कडा दोस्रो पटक संक्रमित हुँदा असर गरेको देखिन्छ’ डा. पुनले भने। 

यस्तै कोरोना भाइरसको खोप सर्वसुलभ उपलब्ध नभएसम्म यसको सतर्कता स्वरुप जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न आवश्यक रहेको डा. पाण्डे बताउँछन्। 

नेपाललगायत अधिकांश देशमा मानिसहरु लक्षणविहिन संक्रमित भएर निको भइसकेका केशहरु पनि धेरै पाइएको पाण्डेको भनाई छ। उनका अनुसार यदी कोही व्यक्ति आफू विगतमा संक्रमित भएको थियो वा थिएन भनेर थाहा पाउन रगतमा एन्टिबडी परीक्षण गर्न सकिने सुझाव दिन्छन्। ‘यदि शरिरमा एन्टिबडी छ, भने सो व्यक्तिलाई कोरोना लागेर निको भइसकेको भन्ने कुरा पुष्टि हुन्छ’, पाण्डले भने।  

सामान्यतया मानिसहरुमा कुनै पनि भाइरसको संक्रमण भएपछि शरीरमा त्यो भाइरससँग लड्ने एन्टिबडी बनेपछि धेरै समयसम्म रहन्छ। इन्फ्लुएन्जा भाइरसको केशमा पनि यसबाट संक्रमण हुन नदिन हरेक वर्ष खोप लगाउने गरिन्छ। यसको अर्थ इन्फ्लुएन्जा भाइरससँग लड्ने एन्टिबडी एक वर्षसम्म सक्रिय रहने डा. पाण्डे बताउँछन्। 

तर डा. पुन भने कोरोना भाइरस एउटा नयाँ भाइरस भएको हुँदा हामीसँग यसबारे धेरै ज्ञान नभएकाले यसबाट लड्न शरिरले बनाएको एन्टिबडी कति समयसम्म रहन्छ? भन्ने स्पष्ट नभएको बताउँछन्। ‘कोरोना भाइरससँग लड्ने रोग प्रतिरोधात्मक क्षमता लामो समयसम्म स्थिर र उत्तिकै क्षमतावान नहुन सक्छ,’ डा. पुनले भने, ‘यो प्रमाणित भएको खण्डमा कोरोना भाइरस पुनः संक्रमण हुने सम्भावना बढ्छ।’

यस्तै विज्ञहरुका अनुसार कोरोना भाइरस संक्रमितहरु निको भइसकेपछि पनि धेरै समयसम्म शारिरीक समस्याहरु आइरहन सक्छ। होम आईसोलेसनमा बसेका संक्रमितहरुमा कोरोना निको भइसकेपछि पनि बढी थकाई लाग्ने, मांशपेशीहरु दुख्ने, कसैलाई धेरै भोक लाग्ने, कसैलाई खाना नरुच्ने, श्वास फुल्ने, मनोवैज्ञानिक समस्यालगायतका स्वास्थ्य समस्या देखिएका छन्।

यस्तै अस्पतालको आइसोलेसनमा बसेर निको भएका मानिसहरुमा लङ कोभिड देखिएको छ। कोरोनाका कारण निमोनिया भएर अक्सिजन सबै अंगहरुमा नपुग्दा यसले फोक्सोमा असर गर्ने, लामो समयसम्म श्वास फेर्न गाह्रो हुने, डिप्रेसन, फ्रस्टेसन, कोरोना निको भइसकेपछि पनि अक्सिजनको सहायता चाहिने, मांशपेशीहरु कमजोर भई लामो समयसम्म फिजियोथेरापी गर्नुपर्ने लगायतका दीर्घ रोगहरु निम्तिएको विज्ञहरु बताउँछन्।
 

प्रकाशित मिति: १७:२५ बजे, शुक्रबार, मंसिर ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्