बिहिबार, कात्तिक १३, २०७७

लेवान्डोस्की बने युईएफएको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं, असोज १६ : बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले यो सिजनको युईएफएको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । गत सिजन बायर्नलाई च्याम्पियन्स लिग उपाधि दिलाउन महत्वपूर्ण खेलेका लेवान्डोस्कीलाई युईएफएले ‘प्लेयर अफ दि इयर’ अवार्ड प्रदान गरेको हो । 

यूईएफए प्लेयर अफ दि इयर बन्ने क्रममा लेवान्डोस्कीले सहकर्मी म्यानुअल नुयर र म्यान्चेस्टर सिटीका केभिन डे ब्रयनलाई पछि पारे । गत सिजनका च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता पनि हुन् । उनले १५ गोल गरेका थिए । लेवान्डोस्की फरवार्ड अफ दि सिजन पनि बने ।

युईएफए अवार्डमा व्यक्तिगत विधामा बायर्नकै जोसुवा किमिचले उत्कृष्ट डिफेन्डर, कप्तान म्यानुअल नुयर उत्कृष्ट गोलकिपर बन्दा हान्सी फ्लिकले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । यस्तै, सिटीका डे ब्रयन च्याम्पियन्स लिगको उत्कृष्ट मिडफिल्डर बने । 

यसैगरी महिलातर्फ ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड वुल्फ्सवजर्गका पेर्निल हार्डरले जितिन् । अहिले भने चेल्सीमा आबद्ध हार्डरले उत्कृष्ट फरवार्ड अवार्ड पनि जितिन् । व्यक्तिगत विधामा महिलातर्फ उत्कृष्ट गोलकिपर सारा बुहाद्दी, उत्कृष्ट डिफेन्डर वेन्डी रेनार्ड, उत्कृष्ट मिडफिल्डर जेनिफर मारोज्सान बनिन् । यस्तै चेल्सी तथा आइभरी कोस्टका पूर्व स्ट्राइकर डिडियर ड्रोग्बालाई यूईएफए प्रेसिडेन्ट अवार्ड प्रदान गरियो ।

 Published Date: Friday, 2nd October 2020 8:56:00 am