Kathmandu Press

सरकारले अस्वीकृत गरेको पीसीआर मेसिन र रिएजेन्ट प्रयोग गरेर ओम्नीले सुरू गर्‍यो विध ल्याब 

सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्ड नपुगेको भन्दै किन्न अस्वीकार गरेको चिनियाँ कम्पनीको पीसीआर मेसिन र एक लाख थान रिएजेन्ट प्रयोग गरेर ओम्नी समूहमा केही अन्य लगानीकर्ता थपेर विध ल्याब दर्ता गरी पीसीआर परीक्षण हुन थालेको छ।
सरकारले अस्वीकृत गरेको पीसीआर मेसिन र रिएजेन्ट प्रयोग गरेर ओम्नीले सुरू गर्‍यो विध ल्याब 
Hardik ivfHardik ivf

काठमाडौं, असोज १३ : चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा गुणस्तरहीन सामान ल्याएको भन्दै सरकारले नै कालोसूचीमा राखेको ओम्नी समूहले ति कमसल सामान नै प्रयोग गरेर नयाँ ल्याब खोलेर पीसीआर परीक्षण गर्दै आएको छ। 

सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्ड नपुगेको भन्दै किन्न अस्वीकार गरेको चिनियाँ कम्पनीको पीसीआर मेसिन र एक लाख थान रिएजेन्ट प्रयोग गरेर ओम्नी समूहमा केही अन्य लगानीकर्ता थपेर विध ल्याब दर्ता गरी पीसीआर परीक्षण हुन थालेको छ।  

विज्ञहरुका अनुसार सरकारले अस्वीकृत गरेको मेसिन र रिएजेन्ट प्रयोग गरेको विध ल्याबको विश्वासनीयतामा गम्भीर प्रश्न उठेको छ। 
‘सरकारले गुणस्तर नपुगेको भनेर ओम्नी समूहले ल्याएको पीसीआर मेसिन र रिएजेन्ट अस्वीकृत गरेको हो,’ स्वास्थ्य मन्त्रालयका एक सहसचिवले काठमाडौं प्रेससँग भने, ‘गुणस्तर नपुगको भन्दै सरकारले किन्न अस्वीकार गरेको मेसिन र रिएजेन्ट प्रयोग गरेर गरिएको पीसीआर परीक्षण ल्याब विश्वासिलो छैन।’

विध ल्याबमा ओम्नी समूहको मुख्य शेयर छ। ओम्नीका तुलहरि  पौडेल, उर्जा मन्त्री वर्षामान पुनले आफ्नाे सचिवालयबाट हटाएका भीमकान्त भण्डारी, आईटी व्यवसायी किशोर पन्त र हिमालयन होटलका लगानीकर्ता नविन तुलाधार विध ल्याबमा शेयर होल्डर छन्। काठमाडौं प्रेसले ओम्नीका तुलाहरि पौडेलसँग सम्पर्क गर्दा उनी बोल्न चाहेनन्। 

मन्त्रालय उच्चस्रोतका अनुसार ओम्नी समूहले ल्याएको पीसीआर मेसिन र एक लाख थान रिएजेन्ट सरकारले नकिन्ने निर्णय गरेपछि उनीहरु उच्च राजनीतिक पहुँच प्रयोग गर्दै अनुमति लिएर ल्याब खोल्ने निर्णयमा पुगेका हुन्। 

विध ल्याबको नाममा ओम्नी समूहले सञ्चालन गरेको ल्याबले अहिले दुई वटा जिन भएको रिएजेन्ट प्रयोग गरिरहेको छ। तर सरकारी र अन्य अस्पतालका मलिकुलर ल्याबमा भने ३ वटा जिन भएको रिएजेन्ट प्रयोग हुँदै आएको छ। विश्व स्वास्थ्य संगठनले दुई जिन भएको रिएजेन्टले भाइरसलाई सतप्रतिशत ट्रेस नगर्न पनि सक्छ भनेर तीन जिनयुक्त रिएजेन्ट प्रयोग गर्न सुल्झाउँदै आएको छ। 

तीन जिन भएको रिएजेन्टले भने सत प्रतिशत भाइरस ट्रेस गर्न सक्छ भन्ने विश्वास विश्वभर छ। ‘विध ल्याबको पीसीआर परीक्षणको डाटा हेर्ने हो भने अधिकांशको नेगेटिभ आएको छ,’ मन्त्रालयका ति अधिकारीले भने, ‘त्यसको एउटै कारण दुई जिन भएको रिएजेन्टले भाइरस ट्रेस गर्न नसकेको हो। अन्य ल्याबमा तीन वटा जिन भएको रिएजेन्ट प्रयोग हुँदै आएका छन्।’

विध ल्याबले असोज १० गते ३ सय ८० जनाको पीसीआर परीक्षण गरेकोमा एक जनाको पनि पोजेटिभ रिजल्ट आएको छैन। त्यस्तै, असोज ९ गते ७ सय ३१ जनाको पीसीआर परीक्षण गरेकोमा पनि टे«स हुन नसकेर सबैको नेगेटिभ रिपोर्ट आएको छ।

त्यस्तै, असोज ८ गते ६ सय जनाको पीसीआर गरेको विध ल्याबमा एक जनाको पनि रिपोर्ट पोजेटिभ आएको छैन। विज्ञहरुका अनुसार अहिले पीसीआर परीक्षण गर्न जाने अधिकांश सामान्य लक्षण देखिएकाहरु मात्रै हुने गरेका छन्।

तर, ६-७ सय जनाको परीक्षणमा शून्य पोजेटिभ हुनु अर्थात भाइरस टे«स गर्न नसक्नु ल्याबकै कमजोरी हो। दुई जिन र तीन वटा जिनको मूल्यमा पनि निकै फरक छ। दुई जिन भएको रिएजेन्टको करिब नेपाली रुपैयाँ ५ सय पर्छ भने तीन जिन भएको रिएजेन्टको झण्डै दोब्बर मूल्य पर्छ। 

अर्कोतिर विध ल्याबले सरकारका लागि ल्याएको एक लाख रिएजेन्टको म्याद अर्को हप्ता सकिँदैछ। विधले अहिले १ हजार ९ सय ९९  रुपैयाँमा कोरोनाको पीसीआर परीक्षण गर्दै आएको छ। दैनिक ४ हजारसम्म परीक्षण गर्न सकिने क्षमता भएको विध ल्याबको मलिकुलर ल्याबले अहिलेसम्म झण्डै १९ हजार जतिको पीसीआर परीक्षण गरेको छ। विधको झण्डै ८० हजार रिएजेन्ट म्याद सकिने मितिमा पुग्न लागेका छन्। 

तर, मिति गुज्रिएका रिएजेन्ट पनि प्रयोग गर्ने गरी विधले अहिलेसम्म नयाँ रिएजेन्ट नमगाएको स्रोतको दाबी छ। 

ल्याबको अनुभवै नभएकालाई रातारात पीसीआर परीक्षणको अनुमति

पीसीआर परीक्षण ल्याबको आधुनिक विधि हो। यसका लागि गुणस्तरयुक्त मेसिन र दक्ष जनशक्ति चाहिन्छ। ल्याबमा सामान्य पनि गल्ती भयो भने रिपोर्ट सही आउँदैन। 

तर, मेडिकलमा कहिल्यै काम नगरेको ओम्नी समूहले सरकारसँगको सेटिङमा रातारात पीसीआर परीक्षणको अनुमति पाएको छ। स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयका सहसचिव डा.गुणनिधि लोहोनीको केनेक्सनमा विध ल्याबले पीसीआर परीक्षणको अनुमति पाएको हो।

कतिपय वर्षोदेखि मेडिकल क्षेत्रमा काम गरेका अस्पतालहरुले समेत अहिलेसम्म पीसीआर परीक्षणको अनुमति पाएका छैनन्। तर ओम्नीको मुख्य लगानी रहेको विध ल्याबले भने कुनै अनुभवनै नभएपछि पीसीआर परीक्षणको अनुमति पाएको छ।

‘कोरोना संक्रामक रोग भएको र ल्याबमा सानो गल्तीले गलत रिपोर्ट आयो भने त्यसले सयाँै मानिसलाई असर गर्न सक्छ भनेर पीसीआर परीक्षणमा विश्वभर ल्याब र जनशक्ति हेरेर मात्रै अनुमति दिने गरिन्छ’, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक प्राविधिकले भने, ‘तर यहाँ रातारात पीसीआर परीक्षणको अनुमति दिइएको छ, ल्याब कस्तो छ ? जनशक्ति कस्ता छन् ? केही हेरिएको छैन।’

जनस्वास्थ्य प्रयोगशालाको कर्मचारीको सम्झौता नविकरण नगरेर विधमा जागिर

ओम्नी समूहको राजनीतिक पुहँच यस्तोसम्म देखियो कि सुरुदेखि पीसीआर परीक्षण गर्दै आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका केही प्राविधिकको सम्झौता नविकरण नगरेर विध ल्याबमा काम गर्ने बाटो खोलिएको छ। 

बढीभन्दा बढी पीसीआर परीक्षण गर्नुपर्ने र सबैभन्दा आधुनिक ल्याब भएकोले टेकु प्रयोगशाला पीसीआर परीक्षणमा सबैभन्दा व्यस्त प्रयोगशाला हो। जनशक्ति कम भएकै कारण त्यहाँ सोचेजति संख्यामा पीसीआर परीक्षण गर्न नसकेको प्रयोगशालाकी प्रमुख डा.रुना झाले बताउँदै आएकी छन्।

तर नयाँ खडा गरिएको विध ल्याबमा जनशक्ति पठाउने गरी जनस्वास्थ्य प्रयोगशालाका पीसीआर परीक्षणमा सहभागी केही कर्मचारीको अघिल्लो महिना सम्झौता नविकरण रद्द गरिएको थियो। 

मोबाइल ल्याबको अनुमति लियो तर कार्यान्वयन गरेन

विध ल्याबले काठामाडौं उपत्यका लगायत कोरोनाको संक्रमण बढेको जिल्लामा गाडीबाट कोरोनाको स्वाब कलेक्सन गरेर पीसीआर गर्ने भनेर अनुमति लिएको छ। तर, विधले एक दिन पनि मोबाइल स्वाब संकलन गरेको छैन।

म्याद सकिन लागेको रिएजेन्ट प्रयोग गरेर दुई हजारमा पीसीआर

विध ल्याबले अहिले १ हजार ९ सय ९९ रुपैयाँमा पीसीआर परीक्षण गर्दै आएको छ। यति सस्तोमा कसरी उसले पीसीआर परीक्षण गर्न सक्यो त भन्दा केही दिनमै म्याद गुज्रिन लागेका रिएजेन्ट छिटो सिध्याउनु पर्ने भएर सस्तोमा पीसीआर गरेको मन्त्रालयका ति अधिकारीको भनाइ छ।

‘अहिले सस्तोमा पीसीआर परीक्षण नगर्ने हो भने कोही पनि त्यो नयाँ ल्याबमा पीसीआर परीक्षणका लागि जाँदैनन्,’ ति अधिकारीले भने, ‘अर्को ओम्नीले ल्याएको रिएजेन्ट केही दिनभित्रै सबैको म्याद सकिँदैछ।’
 

प्रकाशित मिति: ००:३५ बजे, बुधबार, असोज १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्