Kathmandu Press

अमेरिकामा १७ असोजबाट आयोजना हुने ‘कोसाफ’मा नेपालका ७ फिल्म

काठमाडौं, असोज १२ : दक्षिण एसियाका सातवटा फिल्म फेस्टिभलको संयुक्त आयोजनामा हुन लागेको कोएलिसन अफ साउथ एसियन फिल्म फेस्टिभल्स (कोसाफ) मा नेपालका ७ वटा...
अमेरिकामा १७ असोजबाट आयोजना हुने ‘कोसाफ’मा नेपालका ७ फिल्म

काठमाडौं, असोज १२ : दक्षिण एसियाका सातवटा फिल्म फेस्टिभलको संयुक्त आयोजनामा हुन लागेको कोएलिसन अफ साउथ एसियन फिल्म फेस्टिभल्स (कोसाफ) मा नेपालका ७ वटा फिचर तथा सर्ट फिल्म प्रदर्शन हुने भएका छन्। १७ असोजबाट कात्तिक १ सम्म १५ दिन चल्ने सो फिल्म फेस्टिभल कोरोनाभाइरस महामारीका कारण भर्चुअल रुपमा गरिने भएको छ।

कोसाफमा विभिन्न देशका निर्माता, निर्देशकले बनाएका दक्षिण एसिया तथा डायस्पोराका कथा एवं पात्रमा आधारित रहेर बनाइएका फिचर फिल्म, वृत्तचित्र एवं सर्ट फिल्मको भर्चुअल स्क्रिनिङ गरिनुका साथै प्यानल डिस्कसन पनि आयोजना हुनेछन्। फेस्टिभलमा नेपालको तर्फबाट तीनवटा फिचर आमा खाण्डो, बाटो र लाटोकोसेरो छनोट भएका छन् भने तीनवटा सर्ट फिल्म बेयर ट्रीज इन द मिस्ट, जुनुको जुत्ता र सङ अफ क्लाउड्सका साथमा एउटा एनिमेसन गरिएको सर्ट फिल्म मण्डला प्रदर्शन हुनेछ।

‘कोसाफ’ फिल्ममार्फत् दक्षिण एसियाका कथालाई उत्तरी अमेरिका महादेशमा देखाइरहेका सातवटा फिल्म फेस्टिभलको संयुक्त आयोजना हो। तस्वीर साउथ एसियन फिल्म, सिकागो साउथ एसियन फिल्म फेस्टिभल, डीसी साउथ एसियन फिल्म फेस्टिभल, माजाइक इन्टरनेशनल साउथ एसियन फिल्म फेस्टिभल, नेपाल अमेरिका फिल्म फेस्टिभल, साउथ एसियन फिल्म फेस्टिभल अफ मोन्ट्रियल र भ्यानकुभर इन्टरनेशनल फिल्म फेस्टिभलले कोसाफको एउटै मञ्चबाट ६४ वटा फिल्मको भर्चुअल प्रदर्शन गर्न लागेका हुन्।

Hardik ivf

कोभिड–१९ को महामारी फैलिएसँगै पहिले जसरी फिल्म फेस्टिभल आयोजना गर्न असम्भव भएपछि ७ वटा फिल्म फेस्टिभलहरुले कोसाफको स्थापना गरि संयुक्त रुपमा भर्चुअल स्क्रिनिङ गर्न लागेको नेपाल अमेरिका फिल्म फेस्टिभलका फेस्टिभल डिरेक्टर पूर्ण सिंह बराईलीले जानकारी दिए। यस्तै, भारतीय अभिनेत्री सबाना आजमीको फिल्म ‘मी रक्सम’को प्रदर्शनीबाट सुरु हुने फेस्टिभलको ‘सेन्टरपिस’का रुपमा नेपाली फिल्म ‘लाटोकोसेरो’ प्रदर्शन हुने भर्चुअल पत्रकार सम्मेलनमार्फत् नेपाल अमेरिका फिल्म सोसाइटीका युवाकर राजकर्णिकारले बताए।

फिल्म प्रदर्शनीका साथै फेस्टिभलमा फिल्म सम्बन्धी विभिन्न विषयमा प्यानल डिस्कसन तथा चर्चित भारतीय अभिनेत्री तथा निर्देशक नन्दिता दासको ‘मास्टरक्लास’ कार्यशाला पनि आयोजना गरिने आयोजकले जानकारी दिए। मुख्यतः फिल्म निर्माणका लागि ‘क्राउडफन्डिङ’, अन्तर्राष्ट्रिय फिल्म उद्योगमा अग्रणी स्थानमा रहेका दक्षिण एसियाली फिल्मकर्मीहरुको अनुभव, महामारीका बीच फिल्मको वितरण, नेटफ्लिक्स, अमेजनलगायत विश्वका अग्रणी डिजिटल प्लाटफर्ममा प्रदर्शन भइरहेका दक्षिण एसियाका फिल्म तथा फिल्मकर्मीलगायतका विषयमा प्यानल डिस्कसन हुने नेपाल अमेरिका फिल्म फेस्टिभलकी कार्यक्रम निर्देशक किर्तना बाँस्कोटाले जानकारी दिइन्।

फेस्टिभलमा प्रदर्शन हुने फिल्म हेर्न तथा प्यानल डिस्कसनमा सहभागी हुन कोसाफको आधिकारिक वेबसाइट http://cosaff.org मा गएर रजिष्टर गर्नुपर्ने छ।

कोसाफमा नेपालको प्रतिनिधित्व गर्ने फिल्महरुः

आमा खाण्डो (फिचर)
निर्देशकः धोन्डुप छिरिङ गुरुङ
भाषाः मुस्ताङ्गी

बाटो (फिचर)
निर्देशकः लुकास मिलिआर्ड (अमेरिका)
भाषाः ल्होमी, नेपाली

लाटोकोसेरो (फिचर)
निर्देशकः शिरिष गुरुङ
भाषाः नेपाली

जुनुको जुत्ता (सर्ट फिल्म)
निर्देशकः केदार श्रेष्ठ
भाषाः नेपाली

बेयर ट्रिज इन द मिस्ट (सर्ट फिल्म)
निर्देशकः राजन कठेत
भाषाः नेपाली

सङ अफ क्लाउड्स (सर्ट फिल्म)
निर्देशकः अंकित पौडेल
भाषाः नेपाली

मण्डला (सर्ट फिल्म÷एनिमेसन)
निर्देशकः किरणभक्त श्रेष्ठ
भाषाः तिब्बती

प्रकाशित मिति: १७:५८ बजे, सोमबार, असोज १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्