निकुञ्जको प्रवेशद्वारलाई सङ्गीतसँग जोडेर नेपथ्य कन्सर्ट
विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारलाई नेपाली लोकरकसँग जोड्न नेपथ्यले सौराहामा कन्सर्ट गरेको छ। कन्सर्टले यो ‘टुरिस्ट गाउँ’ को महत्त्वलाई झनै फराकिलो बनाएको स्थानीय होटल व्यवसायीहरूले प्रतिक्रिया दिएका छन्।
चितवन, मङ्सिर ५ : राप्ती नदी वारि प्रायः वन तथा वन्यजन्तु हेर्न आउनेको चहलपहल हुने गर्छ। बिहीबार बेलुकी भने सङ्गीत सुन्न आउनेको भीड लाग्यो। किनभने त्यहाँ नेपथ्य ब्यान्डले नेपाली लोकरक सुनाउँदै थियो।
विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारलाई नेपाली लोकरकसँग जोड्न नेपथ्यले सौराहामा कन्सर्ट गरेको छ। कन्सर्टले यो ‘टुरिस्ट गाउँ’ को महत्त्वलाई झनै फराकिलो बनाएको स्थानीय होटल व्यवसायीहरूले प्रतिक्रिया दिएका छन्।
‘राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको गन्तव्यका रूपमा त चिनिएकै थियो,’ कन्सर्ट सकिएपछि स्थानीय मोनालिसा होटलका सञ्चालक केशव खनालले भने, ‘सङ्गीत सुन्न सौराहा आउनेहरूको भीडले पनि कारोबारमा बढाइदियो। यसले यहाँको नयाँ सम्भावना देखाएको छ।’
नेपथ्यको कन्सर्टमा व्यक्त सन्देशहरूले पनि हौसला बढाएको खनालले बताए। ‘वन्यजन्तुको सुरक्षाका साथसाथै मानव बस्तीलाई पनि साथमा लिएर संरक्षणमुखी पर्यटनको विकास गर्न गायकले मञ्चबाट आह्वान गर्नुभयो,’ उनले थपे, ‘यति ठूलो जमघटमा यस्तो सकारात्मक सन्देश पनि फैलाइदिएकामा हामीजस्ता पर्यटन व्यवसायी नेपथ्यबाट अझ बढी प्रभावित भएका छौँ।’

नेपथ्यले एक महिनाअघि काठमाडौँ उपत्यकाको कीर्तिपुरमा प्रस्तुति दिएको थियो। त्यसपछि सिक्किम, इटहरी र चारआलीमा उत्साहजनक उपस्थितिमाझ कन्सर्ट गरेको नेपथ्यले सौराहामा पनि दर्शकको उत्तिकै साथ पाएको छ।
घडी देखाएर निर्धारित समयमा सुरु भएको कन्सर्टका लागि मञ्चमा प्रवेश गर्दैगर्दा गायक अमृत गुरुङले दर्शकदीर्घाबाट ठूलो आवाज र तालीका साथ स्वागत पाएका थिए। ‘कोशीको पानी यो जिन्दगानी’ बाट सुरु भएको उनको गायनले दुई घण्टासम्म दर्शकलाई नचाएको थियो। ‘रातो र चन्द्रसुर्जे’ को प्रस्तुतिबाट उनले विश्राम लिए।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
‘सङ्गीत, भावुकता, सम्झनाहरू र अझ बढी त्यत्रो प्रसिद्ध गायक भईकन पनि जुन प्रकारको विनम्रता अमृतले प्रदर्शन गरिरहेका थिए, त्यो नै महत्त्वपूर्ण लाग्यो,’ फेसबुकमा कन्सर्टको भिडियोसहित अङ्ग्रेजीमा आफ्नो भनाइ राख्दै सम्झना वाइबाले अन्त्यमा नेपालीमै लेखेकी छन्, ‘महान् कलाकार हुनु एउटा कुरा हो, महान् भएर पनि सरल रहनु अर्को कुरा।’

आफ्नै देश चेक रिपब्लिकका तीन साथीहरूसहित मोटरसाइकलमा घुम्दैफिर्दै सौराहा आइपुगेका जिरी भोद्भार्काका निम्ति नेपथ्य कन्सर्ट विशेष रह्यो।
‘पोखराबाट आजै आइपुग्दा यहाँ चहलपहल देखेपछि सामान्य सांस्कृतिक कार्यक्रम होला भन्ठानेर हेर्न पसेका थियौँ,’ कन्सर्ट हेरिसकेपछि भोद्भार्काको प्रतिक्रिया थियो, ‘अन्तर्राष्ट्रिय स्तरकै भव्य कन्सर्टको अनुभव पो गर्न पाइयो।’
गीतका शब्द नबुझे पनि दर्शक उफार्ने किसिमको ताल पछ्याउँदै आफूहरू सुरुदेखि अन्तिमसम्मै नाचेको पनि उनले सुनाए। ‘दुई घण्टा बितेको त पत्तै पाएनौँ,’ उनले थपे, ‘यो हाम्रो नेपाल भ्रमणकै स्मरणीय साँझ बन्न पुगेको छ।’
कन्सर्ट हेर्न काठमाडौँदेखि समूह बाँधेर आएका दर्शक पनि देखिन्थे। ‘एक त नेपथ्यका पुराना गीतहरूले तानिएर आइपुग्छौँ,’ काठमाडौँदेखि समूहमा आएका सुनराकार ग्यात्सो कार्कीले प्रतिक्रिया दिए, ‘यति ठूलो सङ्ख्यामा आएका दर्शकको कुशल व्यवस्थापन गर्नुका साथै उनीहरूमा आपसी प्रेम र देशभक्तिको भावना भर्नुले नेपथ्य अनुभवको महत्त्व झनै बढाइदिने गरेको छ।’
गत वर्ष चितवनमा नेपथ्य कन्सर्ट अनुभव गरेपछि फेरि हेर्न नारायणघाटदेखि आएको बताउनेहरू पनि उत्तिकै थिए।
नेपथ्य कन्सर्ट आयोजना गर्नुको मूल उद्देश्य नै जतिसक्दो बढी दर्शकलाई सौराहासँग जोड्नु रहेको स्थानीय आयोजक टोलीका बिनेश थापाले बताए। ‘सौराहालाई सङ्गीतका माध्यमबाट प्रवर्धन गर्न सकेकामा गौरव महसुस गरेका छौँ,’ उनले भने। आएका जति सबै दर्शक खुसीसाथ फर्किएको देख्दा आफ्नो टिम नै प्रफुल्ल भएको पनि उनले बताए।

यस पटकको यात्रामा नेपथ्यले मुलुकका ग्रामीण बस्ती तथा मझौला सहरहरूलाई प्राथमिकतामा राखेको छ। पछिल्लो समय अनलाइनबाटै टिकट काट्ने चलन बढ्दै गएकामा सौराहा कन्सर्टमा पनि त्यसले निरन्तरता पाएको ‘थुप्रै डटकम’ले जनाएको छ।
‘चार वर्षअघि नेपथ्यले देशव्यापी यात्रा गर्दा कुल टिकटको १० प्रतिशत मात्रै अनलाइनबाट गएको थियो। वीरगन्जजस्तो सहरमा ०.५ प्रतिशत टिकट मात्रै इन्टरनेटमार्फत बिक्री भएको थियो,’ थुप्रैका दीपेश आचार्य भन्छन्, ‘जबकि यो पाला सौराहामा कुल बिक्रीको ६५ प्रतिशत टिकट अनलाइनबाटै गएको छ।’
चार वर्षअघि चितवन कन्सर्टको बेला ९ प्रतिशत दर्शकले अनलाइनबाट टिकट काटेका थिए भने गत वर्ष यो मात्रा ५२ प्रतिशत पुगेको थियो। यस लहरमा सबैभन्दा बढी अनलाइन टिकट बिक्री गत महिनाको कीर्तिपुर कन्सर्टमा भएको थियो, जसमा कुल बिक्रीको ७१ प्रतिशत हिस्सा अनलाइनले ओगटेको थियो।
यसले नेपथ्य मात्र नभई अन्य सङ्गीतकर्मीका निम्ति पनि प्रविधिमैत्री सम्भावनाको ढोका खोलेको देखिन्छ।

अबको नेपथ्य कन्सर्ट शनिबार स्याङ्जाको पुतलीबजारमा हुनेछ। प्रस्तुतिका लागि त्यहाँस्थित मालेबगर खेलमैदान तय गरिएको छ। अपराह्न ४ बजे ढोकाहरू खुला गरिनेछन्। त्यसपछि क्रमशः म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा कन्सर्ट हुनेछ।
मुलुक भित्रको यो यात्रा सकिएपछि ब्यान्डले अस्ट्रेलियाको शृङ्खलाबद्ध यात्रा गर्नेछ। डिसेम्बरमा हुने उक्त यात्राअन्तर्गत एडिलेड, सिड्नी र पर्थ सहरको कार्यतालिका ब्यान्डले आफ्नो वेबसाइटबाट सार्वजनिक गरिसकेको छ।
यी सबै कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ। नेपथ्यको वेबसाइट www.nepathya.com.np बाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ।






