मंगलबार, कात्तिक ४, २०७७

इपिएल : नाटकीय खेलमा युनाईटेड विजयी, चेल्सी हारबाट जोगियो

काठमाडौं, असोज ११ : प्रिमियर लिगमा शनिबार राति भएको नाटकीय खेलमा म्यान्चेस्टर युनाईटेड विजयी भएको छ । इन्जुरी सयमको पनि केही सेकेन्ट मात्र बाँकी रहेको अवस्थामा ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाइटेडले ब्राइनटलाई ३–२ले पराजित गर्दै लिगमा पहिलो जित निकाल्यो। 

खेलमा अग्रता ब्राइटनले लियो । उसका माउपेले ४०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । फर्नान्डेसले डिबक्समा ब्राइटनका खेलाडीलाई लडाएपछि ब्राइटनले पेनाल्टी पाएको थियो । ४३औं मिनेटमा डंक आफ्नै पोष्टमा गोल गरेपछि खेल बराबरीमा आयो । 

५५औं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । इन्जुरी समयको पाचौं मिनेटमा मार्चले हेडिङ गोल गर्दै खेललाई बरारबीमा ल्याए । रेफ्रिले खेल सकिएको सिठी बजाए, तर युनाइटेडका खेलाडीले डिबक्समा ह्यान्ड भएको भन्दै पेनाल्टीको अपिल गरे । रेफ्रिले भिडियो असिस्टेन्ट रेफ्रिसँगको छलफलपछि भार हेर्दै युनाइटेडलाई पेनाल्टी दिए । सो अवसरलाई फर्नान्डेसले गोलमा परिणत गर्दै टिमलाई जित दिलाए ।

यसैगरी शनिबार राति नै भएको खेलमा चेल्सी नवप्रवेशी क्लब बेस्टब्रुमसँग अप्रत्याशित हारबाट जोगिएको छ । शनिबार राति भएको खेलमा ३–०ले पछि परेको अवस्था उल्टाउँदै चेल्सीले ३–३ गोलको बराबरी खेल्यो ।

बेस्टब्रुमले पहिलो हाफको सुरुवातमै ३ गोल गर्दै चेल्सीलाई दबाब दिएको थियो । तर, दोस्रो हाफमा ३ गोल गर्दै चेल्सी अप्रत्याशित हारबाट जोगियो । चेल्सीका लागि मेसन माउन्ट, हड्सन ओडोइ र टमी अब्राहमले गोल गरे भने बेस्टब्रुमका कलुम रोविन्सनले २ र केली बार्टलीले एक गोल गरे ।

खेल चौंथो मिनेटमा रोविन्सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । चेल्सीका कप्तान थियागो सिल्भाको गल्तीको फाइदा उठाउँदै २५औं मिनेटमा रोविन्सनले नै गोल गर्दै टोलीको अग्रता २–० को बनाए । २७औं मिनेटमा बार्टलीले गोल गरेपछि पहिलो हाफमै चेल्सी ३–० ले पछि पगरेको थियो । दोस्रो हाफको सुरुवातदेखि नै बेस्टब्रुमलाई दबाबमा राखेको चेल्सीका ५५औं मिनेटमा माउन्टले उत्कृष्ट गोल गर्दै टिमलाई खेलमा फर्काए । 

७०औं मिनेटमा ओडोइले गोल गर्दै चेल्सीलाई ३–२ को अवस्थामा ल्याए । त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई हारबाट जोगाए । यस्तै, एभर्टनले इंग्लिस प्रिमियर लिगमा लगतार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ले पराजित गर्दै एभर्टनले लिगमा लगातार तेस्रो जित निकाल्दै लिगमा उत्कृष्ट सुरुवात गरेको हो।

शनिबार राति भएको खेलमा एभर्टनलाई जित दिलाउन डोमिनिक कन्र्भट लेविन र रिचार्लिसनले एक एक गोल गरे भने क्रिस्टल प्यालेसका चिखोउ कोउयाटेले एक गोल फर्काए ।

लगातार तेस्रो जितसँगै एभर्टन ९ अंकका शीर्ष स्थानमा उक्लिएको छ । उसले यसअघिका दुई खेलमा टोटनह्यामलाई २–१ र वेस्ट ब्रुमलाई ५–२ले पराजित गरेको थियो। ६ अंक जोडेको लेःटर सिटी दोस्रो स्थानमा छ। यसअघिका दुवै खेल जितेको क्रिस्टल प्यालेस ६ अंकका साथ पाचौं स्थानमा छ।

 Published Date: Sunday, 27th September 2020 7:15:00 am