Kathmandu Press

सार्वजनिक यातायात खुलेको एक सातामा एक लाख १६ हजारले उपत्यका छोडे, एक लाख २५ हजार भित्रिए

उपत्यकाबाट दैनिक ३ हजारदेखि ३५ सयसम्म सवारी साधन भित्रिने र बाहिरिने गरेको छ।
सार्वजनिक यातायात खुलेको एक सातामा एक लाख १६ हजारले उपत्यका छोडे, एक लाख २५ हजार भित्रिए
Hardik ivfHardik ivf

काठमाडौं असोज ९ : ६ महिना लामो लकडाउनपछि सार्वजनिक यातायात सञ्चालनमा आएपछि उपत्यका भित्रिने र बाहिरिने यात्रुको संख्या बढ्न थालेको छ। असोज १ गतेदेखि सार्वजनिक यातायात खुलेपछि यात्रुको चहलपहल बढेको हो। 

सरकारले सार्वजनिक बसमा सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न र तोकिएको भाडा भन्दा ५० प्रतिशत बढी लिन पाउने गरी सार्वजनिक यातायात खुला गरेपछि लामो तथा छोटो दुरीको  सवारी साधन सञ्चालन भइरहेका छन्। 

दशैं, तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा उपत्यकाका नाकाबाट बाहिरिने र भित्रिनेको संख्या नजिक नजिक रहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

लामो समयसम्म लकडाउन भएपछि गाउँ पुगेका मानिसहरु उपत्यका भित्रिने र बाहिरिएका मानिसहरु भित्रने क्रम बढेको महाशाखाका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादवले बताए। उनले भने, ‘एक सातामा २ लाख ४१ हजार  यात्रु आवतजावत गरेका छन्।’ 

यादवका अनुसार असोज एक गतेदेखि ७ गतेसम्म ३० हजार ५० सवारी साधनमा एकलाख २५ हजार  ५ सय ९६ यात्रु उपत्यका भित्रिएका छन्। 

त्यस्तै, एकसातामा २९ हजार ४७९ सवारी साधनमा एकलाख १६ हजार  ६ सय ९३ यात्रु बाहिरिएका छन्। ‘उपत्यकामा सार्वजनिक सवारी साधन चलेपछि जागिर भएका तथा अन्य काममा संलग्न भएका मानिसहरु भित्रिएका हुन्,’ यादवले भने। उपत्यकाबाट दैनिक ३ हजारदेखि ३५ सयसम्म सवारी साधन भित्रिने र बाहिरिने गरेको यादवको भनाइ छ। त्यस्तै दैनिक १८ हजारदेखि २० हजार हाराहारीमा दैनिक यात्रुहरु उपत्यकामा भित्रिने र बाहिरिने गरेका छन्। 

नाकाबाट भित्रिने र बाहिरीने सवारी साधनलाई सचेत रहन आग्रह 

लामो दुरीको सवारी साधन सञ्चालनमा आएकाले कोरोनाको सम्भावित जोखिमलाई  ध्यानमा राख्दै नाकाबाट भित्रिने र बाहिरीने सावारी साधनलाई सचेत गराउने काम भइरहेको उनले बताए। 

‘बसमा यात्रु संख्या, सेनिटाइजर, मास्क प्रयोगबारे जाँच भइरहेको छ। सिट संख्या भन्दा ५० प्रतिशत कम यात्रु राखिएको छ की छैन भनेर जाँचसमेत गर्ने गरेका छौं,’ उनले भने। 

सरकारले  सार्वजनिक यातायातका लागि तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना भए नभएकोेबारे ट्राफिक प्रहरीले निगरानी गर्ने गरेको छ।

प्रकाशित मिति: १९:४३ बजे, शुक्रबार, असोज ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्