Kathmandu Press

बामदेव गौतमले भने- राष्ट्रियसभाको गरिमा घटाउने काम गर्दिनँ

राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफूले  राष्ट्रियसभाको गरिमा गिराउने काम नगर्ने बताएका छन्। 
बामदेव गौतमले भने- राष्ट्रियसभाको गरिमा घटाउने काम गर्दिनँ

काठमाडौं, असोज १ :  राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफूले  राष्ट्रियसभाको गरिमा गिराउने काम नगर्ने बताएका छन्। 

बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै सांसद गौतमले राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने बताएका हुन्।

प्रतिनिधिसभामा पराजित गौतमलाई सांसद बनाउने निर्णयले राष्ट्रिसभाको गरिमा ख्याल नगरेको भन्दै आलोचना बढेपछि उनले गरिमा गिराउने काम नगर्ने प्रतिक्रिया दिएका हुन्। 

‘म राष्ट्रियसभामा यसको गरिमा बढाउनको निम्ति नेपालको संविधान बमोजिम, राष्ट्रियसभाको नियमावलीबमोजिम मैले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नका निम्ति आएको छु। मैले यो सभाको सदस्य रहँदासम्म कहिल्यै पनि राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन,’ गौतमले भने।

गौतमले  राष्ट्रियसभा सदस्यको भूमिका निर्वाह गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सधैं बफादार भएर कर्तव्य निर्वाह गर्ने उल्लेख गरे। नेकपाको समाजवादको लक्ष्यका लागि संविधान बमोजिम राष्ट्रियसभाबाट योगदान पुर्‍याउने उनको भनाइ थियो।

आफूलाई राष्ट्रियसभामा मनोनित गरेकोमा पार्टी नेतृत्व, प्रधानमन्त्री तथा राष्ट्रपतिप्रति उनले आभार पनि व्यक्त गरे। 
 

प्रकाशित मिति: १७:२४ बजे, बिहीबार, असोज १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्