Kathmandu Press

डा. स्टोरीको कथा : संक्रमितको उपचार गर्दा आफैँ संक्रमित, संक्रमण जितेपछि प्लाज्मा दान 

कोरोना संक्रमितको उपचार गर्दा आफैँ संक्रमित भएकी चिकित्सक स्टोरी पोखरेलले अर्का संक्रमितलाई बचाउन प्लाज्मा दान गरेकी छन्। भन्छिन्, ‘कोरोनालाई नजरअन्दाज नगरौँ, कतिपय बिरामीलाई केही घण्टामै भेन्टिलेटरमा पनि पुर्‍याएको छ।’
डा. स्टोरीको कथा : संक्रमितको उपचार गर्दा आफैँ संक्रमित, संक्रमण जितेपछि प्लाज्मा दान 
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २७ : साउन २० गते साँझ करिब ७ बजे, पुल्चोकस्थित निदान अस्पतालको इमर्जेन्सी कक्षमा भीडभाड थियो। ड्युटीमा थिइन्, डा. स्टोरी पोखरेल। दिनप्रतिदिन बढिरहेको कोरोना संक्रमणका कारण सावधानी अपनाएर बिरामी जाँच गर्दै थिइन् डा.स्टोरी।

ड्युटीमै रहँदा करिब ३२ वर्षका पुरुष इमरजेन्सीमा भर्ना भए। ती बिरामी केही दिन यता ज्वरोले ग्रस्त थिए, खोकी लागेको थियो र श्वास फेर्न समस्या भइरहेको थियो। लक्षण हेर्दा ती पुरुषमा कोरोना भएको खुट्याउन स्टोरीलाई गाह्रो भएन।  स्टोरीले पीपीई लगायतका सुरक्षाकवज लगाएर उनको जाँच गरिन्। ती पुरुषमा कोरोना पोजेटिभ देखिएपछि निदान अस्पतालले पाटन अस्पतालमा रिफर गर्‍यो।  

लक्षणसहितको संक्रमित परीक्षण गरेपछि स्टोरीलाई संक्रमणको शंका लाग्नु स्वभाविक थियो। त्यसैले त उनले बिरामी जाँचेको पाँच दिन पछि  (साउन २५) गते स्वाब परीक्षण गराइन्। उनको शंका बमोजिम नै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो। तर, भाग्यवस उनमा कडा लक्षण देखिएन। ‘लक्षणसहितको बिरामी हेरेपछि शंका त लागि हाल्छ। सावधानी पनि अपनाउनै पर्‍यो। म संक्रमित भएपनि कडा लक्षण देखिएन,’  डा. स्टोरीले काठमाडौं प्रेससँग भनिन्।

जब उनको रिपोर्ट आयो। तब उनलाई घर परिवारको चिन्ताले सतायो। मानसपटलमा बुवाआमासहित परिवारका सदस्यलाई भेटेको दृश्य सिनेमाको रिल झैं घुम्न थाल्यो। उनले सोच्न थालिन्– कतै मेरो परिवारमा त संक्रमण सरेन? मैले परिवारलाई त जोखिममा पारिनँ?
‘संक्रमण पुष्टि भएपछि मलाई आफ्नै चिन्ता लागेन। तर, बुवाआमाई भेटेको थिएँ। उहाँहरुको धेरै चिन्ता लाग्यो,’ उनले भनिन्, ‘उहाँहरुको ज्यान जोखिममा पारिदिएँ कि भनेर चिन्ता लागिरह्यो।’

ज्यानको प्रवाह नगरी निरन्तर बिरामीको सेवामा खटिरहेको एक चिकित्सकका लागि आफ्नो परिवार आफ्नै कारण जोखिममा परेको चिन्ताको अनुभूति शब्दमा बयान गर्न सकिने थिएन। स्टोरीको परिवारको पीसीआर परीक्षण गरियो। सबैको रिपोर्ट नेगेटिभ आयो। अनि बल्ल स्टोरीले ढुक्कको सास फेरिन्।

उनी चार दिनसम्म निदान अस्पतालकै आइसोलेसनमा बसिन्। कडा लक्षण नदेखिएपछि उनी होम आइसोलेसनमा सरिन्। संक्रमित भएको १० दिनपछि उनी कोरोना संक्रमण मुक्त भइन्। संक्रमण मुक्त भएपछि उनले अस्पतालमा आफूले जाँचेको बिरामीको अवस्थाबारे बुझ्न खोजिन्। एक चिकित्सकका लागि आफूले जाँचेको बिरामीको अवस्थाबारे चासो हुनु स्वभाविक नै हो।  तर, जाँचेका ती बिरामीले धर्ती छोडिसकेको थाहा पाइन्।

जसबाट डा. स्टोरीमा संक्रमण सर्‍यो, उनको कोरोनाकै कारण मृत्यु भइसकेको थियो। ‘उहाँका कारण संक्रमित भएको म निको भएँ। तर उहाँको निधन भएछ,’ उनले भनिन्, ‘आफूले हेरेको बिरामीको निधन हुँदा जो कोही चिकित्सकको मन दुख्छ। अझ यो केस त अलि फरक थियो। मैले उहाँ निको भएको सुन्न चाहन्थें। तर सुन्न पाइनँ।’

अनि पलायो प्लाज्मा दान गर्ने सोच

स्टोरीले जसको जाँच गरिन्, उसैबाट संक्रमित भइन्। उनी ठीक भइन्, उनले हेरेका बिरामी भने रहेनन्। यही कारणले स्टोरीलाई प्लाज्मा दान गर्न उत्प्रेरित गर्‍यो। उनले बिहीबार ग्राण्डी अस्पताल पुगेर प्लाज्मा दिइन्।

‘म संक्रमित भएँ। तर भाग्यवस कडा लक्षण देखिएन। म पनि त कुनै पनि बेला आईसीयूमा भर्ना हुन सक्थेँ। मलाई पनि प्लाज्मा दिनुपर्ने अवस्था आउन सक्थ्यो,’ स्टोरीले भनिन्, ‘चाहेर बुझेर संक्रमित त कोही पनि हुँदैन। मेरो शरीरमा भएको एन्टीबडीले कसैको ज्यान बच्छ भने किन नदिने। मानवताका हिसाबले पनि यो जरुरी छ भन्ने सोचेर प्लाज्मा दिन ग्राण्डी पुगे।’

संक्रमण निको भइसकेपछि प्लाज्मा दिन नमानेको सुन्दा स्टोरीको मन कुँडिदो रहेछ। संक्रमण निको भइसकेका कोही पनि व्यक्तिले प्लाज्मा दान गर्नुलाई धर्म ठान्छिन् स्टोरी।  

‘प्लाज्मा दान गर्ने विषयमा गलत सोचाइ रहेको पाएको छु। हुन त संक्रमणसँग लड्दा कमजोर भइन्छ। अझ रगत दिँदा झन् कमजोर भइन्छ भन्ने धारणा धेरैमा छ,’ उनी भन्छिन्, ‘तर वास्तविकता यस्तो होइन। रगत दिँदा कमजोर भइँदैन। बरु कसैको ज्यान बच्छ। यसबारे सचेतना जगाउनु आवश्यक छ। मैले त्यसका लागि पनि दान गरेकी हुँ।’

कोरोना केही होइन भन्नु गलत

कोरोनाका सामान्य बिरामी एकाध घण्टामै भेन्टिलेटरमा पुगेको दृश्य स्टोरीले देखेकी छन्। कतिपयले उनका आँखा अगाडि मृत्युवरण गरेका छन्। त्यसैले कोरोनालाई चानचुने ठानेर हेलचेक्राइँ गर्न नहुने उनको सुझाव छ।

 ‘कोरोना केही होइन भनेर प्रचार गर्दा मेरो चित्त दुख्छ। मलाई संक्रमण हुँदा मानसिक र शारिरीकरुपमा कति समस्या हुन्छ त्यो मैले भोगेकी छु। परिवारमा के खट्किन्छ त्यो पनि राम्रोसँग अनुभव गरेकी छु,’ संक्रमति हुँदाको पीडा सुनाउँदै उनी भन्छिन्, ‘हिजोसम्म केही भएको थिएन भनेर आएका बिरामीलाई भेन्टिलेटरमा राख्नु परेको अनुभव छ। त्यसैले कोरोना केही होइन भनेर भ्रम फैलाउनु गलत हो।’

कोरोना बिरामीको आईसीयूमा उपचार भइरहेको, भेन्टिलेटरमा उपचार भइरहेको र मृत्युवरण गरेका समाचार कम आउँदा मानिसमा कोरोनाप्रति हेलचेक्राइँ बढेको उनी बताउँछिन्। ‘संक्रमित निको भएका समाचार आउनु राम्रो हो। तर संक्रमितको आईसीयू, भेन्टिलेटरमा उपचार भइरहेको र संक्रमितको मृत्यु भएको समाचार पनि आउन जरुरी छ। यसले कोरोनालाई हेलचेक्राइँ गर्न हुँदैन भन्ने मान्यता स्थापित गर्छ’, उनी भन्छिन्।

संक्रमित भइसक्दा पनि केही हुँदैन भनेर बस्नुलाई उनी मुर्खता ठान्छिन्। बलियो मानसिकता बनाउनु सकारात्मक भएपनि त्यसले मृत्युको मुखसम्म पुर्‍याउन सक्ने खतराबारे समेत सजग हुनुपर्ने उनको भनाइ छ। ‘मलाई नै हेरेर कतिपयले केही नहुने रहेछ भन्न सक्नुहोला। यसले बलियो मानसिकता बनाउन सहयोग गर्ला। तर, मलाई नै १४ दिनसम्म कुन बेला कडा लक्षण देखिन्छ र के हुन्छ? भनेर डर लागिरहन्थ्यो,’ उनी भन्छिन्।

बेसार, गुर्जो लगायतले कोरोना ठीक गर्ने भए यति धेरै मानिसको मृत्यु नहुने उनी बताउँछिन्। ‘कोरोनाको उपचार पद्धति यही हो भनेर पत्ता लागेको छैन। त्यसैले इम्युनिटी वुष्ट गर्न बेसार, कागती खानु राम्रै होला’, उनी भन्छिन्,  ‘तर संक्रमण भइसकेपछि बेसारले ठीक गर्ने भए यति धेरै मानिस मर्ने थिएनन्। संक्रमण भएपछि शरीरमा अक्सिजनको मात्रा कति छ भनेर थाहा हुँदैन। अस्पताल र औषधि बनेकै मानिसको ज्यान बचाउनलाई हो। संक्रमण भइसकेपछि बेसार पानी खाएर बस्नु भनेको मूर्खता हो।’

चिकित्सकमाथि दुर्व्यवहार भएको सुन्दा चित्त दुख्छ

न परिवार न आफ्नै प्रवाह। केवल बिरामीको उपचार। कोरोना संक्रमणका बेला चिकित्सकहरुको दैनिकी यसरी नै बितेको छ।

कतिपय ठाउँमा तिनै चिकित्सकमाथि दुर्व्यवहार हुँदा आफ्नो चित्त दुख्ने उनी बताउँछिन्। समाजका लागि लडिरहेका चिकित्सकको हौसला बढाउनु पर्ने उनी बताउँछिन्।

‘हामी यही समाजका लागि लडिरहेका छौं। यस्तो बेला दुर्व्यवहार होइन हौसला र प्रोत्साहनको खाँचो छ,’ उनी भन्छिन्, ‘अहिले आफ्नो र परिवारको ज्यान बाजी राखेर काम गर्दिनँ भन्ने अधिकार स्वास्थ्यकर्मीसँग छ। तर मानवताका लागि हामीले यस्तो निर्णय गर्न हुँदैन भनेर खटिरहेका छौँ। समाजले हाम्रो कामको मूल्यांकन गरिदिनु पर्छ।’

प्रकाशित मिति: १३:०४ बजे, शनिबार, भदौ २७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्