शुक्रबार, कात्तिक १४, २०७७

कोरोना भाइरसबाट बच्न कसरी बढाउने रोग प्रतिरोधात्मक क्षमता ?

जाडो भर्खर सकिएको छ। सबैलाई रूघाले सताएको छ। त्यसमाथि कोरोना भाइरसको महामारी फैलिएको छ। व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्ने यस्तो बाध्यता विरलै थियो। तर सबै ठीकै हुन्छ भनेर बस्नुबाहेक हामी के नै पो गर्न सक्छौं र?

म्यान्चेस्टर विश्वविद्यालयकी प्राध्यापक शीना क्रुकश्याङ्कलाई पनि रूघा लागेको छ। हामी फोनमा कुराकानी गरिरहेका छौं। रोग प्रतिरोधात्मक क्षमता बढाउनलाई पहिले त्यसबारे बुझ्न जरूरी भएको उनी बताउँछिन्।

“कुनै जीवाणुसँग पहिलो पटक सम्पर्क हुँदा शरीरले विभिन्न तरिकाले रोक्ने प्रयास गर्छ,” उनले भनिन्। छालाबाहेक सिंगान पनि महत्वपूर्ण बाधा हो।

माइक्रोबायोम शरीरको बाह्य र भित्री भागमा बस्ने गर्छन्। तीमध्ये केहिले एन्टिमाइक्रोबियल रसायन बनाउँछन् र रोगका किटाणुसँग लड्स सहयोग पुर्‍याउँछन्। त्यसबाहेक शरीरमा इपिथेलियल सेल पनि हुन्छ।

क्रुकश्याङ्कले बताए अनुसार त्यसलाई पार गर्नु निकै कठिन हुन्छ। त्यसबाट एन्टिमाइक्रोबियल उत्पादन हुन्छ। यो कोरोना भाइरसका लागि साह्रै सान्दर्भिक छ। कुनै जीवाणुले यी प्रतिरक्षा पार गरे ह्वाइट ब्लड सेलसँग जुझ्नुपर्छ। 

हाम्रो रोग प्रतिरोधात्मक प्रणालीमा ब्लाइन्ड स्पट हुनसक्छन्। तर स्वस्थ जीवनशैलीले त्यसलाई बलियो बनाउन सहयोग पुर्‍याउँछ। स्वस्थ आहार र फाइबर धेरै भएको खानाले फाइदा पुर्‍याउँछ। छालाको सुरक्षा पनि महत्वपूर्ण छ। घामको अल्ट्राभायोलेट किरणको नकारात्मक प्रभाव हुन्छ। कडा रसायन भएको साबुन र एन्टिब्याक्टेरियल उत्पादनले पनि छालामा असर गर्छ।

शारीरिक तन्दुरूस्ती पनि उत्तिकै आवश्यक छ। ब्रिटिश सोसाइटी फर इम्युनोलोजीका अध्यक्ष तथा लन्डनस्थित युनिभर्सिटी कलेजका प्राध्यापक आर्नी अकबर भन्छन्,“कसरतले रगतको प्रवाह बढाउँछ र ह्वाइट ब्लड सेललाई सक्रिय बनाउँछ।”

वयस्क व्यक्ति कुनै न कुनै प्रकारले प्रत्येक दिन शारीरिक रूपमा सक्रिय हुनुपर्ने नेसनल हेल्थ सर्भिस (एनएचएस) ले जनाएको छ। सातामा कम्तिमा १५० मिनेट मध्यम एरोबिक गतिवधि (हाइकिङ, साइक्लिङ) वा ७५ मिनेट दौडिने, छिटो गरी पौडिनेजस्ता गतिविधि गर्नुपर्ने सुझाव दिएको छ।

संक्रमणको बढी जोखिम भएका वृद्धले सम्भव भएका कसरत गर्नुपर्छ। जीवनभरि नियमित व्यायाम गरेका व्यक्तिको रोग प्रतिरोधी क्षमता उमेरसँगै घट्दै जाने क्रम उल्लेखनीय रूपमा सुस्त हुन्छ। सन् २०१८ मा बर्मिङ्घम विश्वविद्यालय र किङ्स कलेज लन्डनले गरेको अनुसन्धानमा ५५ देखि ७९ वर्षका धुमपान नगर्ने एमेच्योर साइक्लिस्टको रोग प्रतिरोधात्मक प्रणाली युवाझैं हुने देखिएको छ।

यसको अर्को पाटो पनि छ। अकबर भन्छन्,“खेलाडीहरू संक्रमणको जोखिममा हुन्छन्। रोग प्रतिरोधात्मक क्षमतामा नकारात्मक प्रभाव पुग्ने सीमासम्म उनीहरू व्यायाम गर्छन्।” अन्यलाई यो समस्या नहुने क्रुकश्याङ्क भन्छिन्। तर कहिले पनि शारीरिक कसरत नगर्ने व्यक्तिले एक्कासी म्याराथोन दौडिए समस्या हुनसक्छ। यसले तनाव हर्मोन उत्पादन हुन्छ र प्रतिरोधात्मक क्षमतामा नकारात्मक प्रभाव पार्छ।

व्यायामले तनाव कम गर्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। कोर्टिसोलजस्तो तनाव हर्मोन एउटा राम्रो उदाहरण हो। ठेउला आएपछि त्यसको भाइरस पूर्ण रूपमा हराउँदैन। तनावको समयमा भाइरस फेरि सक्रिय हुनसक्छ।

कोरोना भाइरसको संकटमा मद्यपान पनि गर्नुहुँदैन। अत्यधिक मद्यपानले रोग प्रतिरोधी कोषमा ह्रास आउँछ।

“अत्यधिक मात्रामा मध्यपान गर्नेहरूको रोगसँग लड्ने क्षमता कमजोर हुने केही अध्ययनहरूले देखाएका छन्,” क्रुकश्याङ्कले भनिन्।

व्यायाम र स्वस्थ खानपानले निदाउन पनि सहयोग गर्छ। थाकेको शरीर संक्रमणको जोखिममा हुन्छ। पोहोर साल गरिएको एउटा अध्ययनमा अनिद्राले शरीरको रोगसँग लड्ने क्षमता कमजोर बनाउने देखिएको छ।

बर्मिङ्घम विश्वविद्यालयका प्राध्यापक ज्यानेट लर्डले बिहान खोप लगाउँदा प्रभावकारी हुने देखाए। 
 

 Published Date: Sunday, 15th March 2020 1:16:59 am