शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोडले बचतमा
काठमाडौं, मंसिर २८ : मुलुकबाट बाहिरिनेभन्दा भित्रने पैसाको मात्रामा क्रमशः वृद्धि भएको पाइएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरण अनुसार यस अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २० अर्ब तीन करोडले बचतमा थियो।
समीक्षा अवधिमा चालु खाता रु ९६ अर्ब ३८ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३७ अर्ब ७९ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४६ दशमलव छ प्रतिशतले कमी आई रु एक अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु तीन अर्ब ६४ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु दुई अर्ब ९७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु ४२ करोड ९२ लाख रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा छ।
आर्थिक वर्ष २०८०र८१ को चार महिनामा कुल वस्तु आयात तीन दशमलव आठ प्रतिशतले कमी आई रु पाँच खर्ब १२ अर्ब ५० करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः दुई दशमलव पाँच प्रतिशत र २७ दशमलब सात प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ दशमलब चार प्रतिशतले बढेको छ।
वस्तुगत आधारमा तयारी पोशाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ।
निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।
चालु आवको चार महिनामा कुल वस्तु व्यापारघाटा तीन दशमलव तीन प्रतिशतले कमी आई रु चार खर्ब ६१ अर्ब ९४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलब नौ प्रतिशतले घटेको थियो।