Kathmandu Press

बढी मूल्यमा मास्क बेच्ने औषधि फर्ममाथि कारवाही

काठमाडौं, फागुन २२ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्यमा मास्क लगायतका सामग्री बेच्ने पसललाई कारवाही गरेको छ।

औषधि तथा....

बढी मूल्यमा मास्क बेच्ने औषधि फर्ममाथि कारवाही

काठमाडौं, फागुन २२ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्यमा मास्क लगायतका सामग्री बेच्ने पसललाई कारवाही गरेको छ।

औषधि तथा सर्जिकल फर्मले मास्क लगायतका सामग्री लुकाएको र बढी मूल्यमा बेचेको उजुरी परेसँगै विभागले फागुन १६ गतेदेखि अनुगमन थालेको थियो।

उपभोक्ताको उजुरी तथा विभिन्न सञ्चार मध्ययमले मास्कमा कालो बजारी भएको समाचार प्रकाशन गरेपछि अनुगमन थालिएको विभागले जनाएको छ। विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीकाअनुसार फागुन १६ गतेदेखि दैनिक रुपमा काठमाडौंका विभिन्न सर्जिकल सप्लायर्समा अनुगमन भएको छ।

अनुगमनको क्रममा अनुचित व्यापारीक कारोबार गरेको पाइएको पसललाई कारवाही गरिएको छ। जसमा बुधबार कमलपोखरीस्थित सिने स्टारको बिग मुभिजलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ भने क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवान गरिएको छ।

अधिकांश पसललाई जरिवाना  

विभागले फागुन १६ गतेदेखि १९ गतेसम्म (शुक्रबार, आइतबार र सोमबार) त्रिपुरेश्वर क्षेत्रका १६ वटा सर्जिकल तथा औषधि पसलको अनुमगन गरेको थियो। अनुगमनको क्रममा पाँच पसलले खरिद बिल नदेखाउँदा कारवाही गरिएको विभागका अनुगमन शाखाका निर्देशक सागर मिश्रले जानकारी दिए।

विभागले त्रिपुरेश्वरको गौतम इन्टरनेशनल र दृष्टि सर्जिकल हाउसलाई १०/१० हजार, भिजन मार्ट प्रालिलाई ५० हजार र मेडिहेल्थ सर्जिकल र स्वस्तिक सर्जिकल सप्लायर्सलाई २०/२० हजार रुपैयाँ जरिवाना गरेको छ।

त्यस्तै, मंगलबार क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ र सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ।

बुधबार मण्डिखाटारका ६ वटा पसल अनुगमन गर्दा चार पसल कारवाहीमा परेका छन्। यस्तै, कमलपोखरीकै तीन वटा पसलले खरिद बिल नदेखाएपछि पाँच-पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। जसमा खनाल सर्जिकल सप्लायर्स, अर्चना सर्जिकल सप्लायर्स र फिसटेल सर्जिकल हाउस परेका छन्।

अनुगमनका क्रममा अधिकांश पसलले मास्क स्यानिटाइजर लगायतका सामग्री लुकाएर बढी मूल्यमा बेच्ने गरेको पाइएको विभागले जनाएको छ।

प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, फागुन २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्