प्राधिकरणले बेच्यो १५ अर्ब बढीको बिजुली
प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख आर्जन गरेको हो।काठमाडौं, मंसिर २२ : यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो।
प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख आर्जन गरेको हो।
प्राधिकरणले यस अवधिमा दैनिक रुपमा अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो। निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा छ।
चालु आर्थिक वर्ष २०८०र८१ को साउनदेखि २० मंसिरसम्ममा रु १३ अर्ब २३ करोड ६७ लाखको विद्युत् निर्यात गरिएको छ। यस अवधिमा एक अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ। निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ९६ पैसा छ।
सुक्खायाम सुरु भएसँग खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ। तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ। शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा विद्युत्को अधिकतम माग एक हजार सात सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताए।
‘अहिले विद्युत् उत्पादन र माग करिब करिब बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विद्युत् गृहहरुमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौं’, उनले भने।
उनले चैत र वैशाखमा विद्युत् आयातको परिणाम केही बढेता पनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको जानकारी र्दिए।
प्राधिकरणले जेठमा रु २१ करोड ६० लाख, असारमा एक अर्ब ७८ करोड ५३ लाख, साउनमा दुई अर्ब १४ करोड ७६ लाख र भदौमा तीन अर्ब ४७ करोड ८५ लाख बराबरको विद्युत् निर्यात गरेको छ।
यसैगरी असोजमा रु चार अर्ब १७ करोड ७७ लाख, कात्तिकमा रु दुई अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा रु ७३ करोड ५९ लाख विद्युत् निर्यात गरी आर्जन भएको छ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ।