एनसेलका सिईओलाई अर्थ समितिको छलफलमा बोलाउन सांसद वाग्लेको माग
अर्थ समितिको बुधबारको बैठकमा वाग्लेले एनसेल बिक्रीले आर्थिक कुशासन र लगानी विकर्षणबारे नीतिगत समिक्षा आवश्यक भएको भन्दै छलफलका लागि बोलाउन माग गरे।काठमाडौं, मंसिर २० : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले एनसेलका प्रमुख कार्यकारी अधिकृतलाई अर्थ समितिमा छलफलका लागि बोलाउन माग गरेका छन्।
अर्थ समितिको बुधबारको बैठकमा वाग्लेले एनसेल बिक्रीले आर्थिक कुशासन र लगानी विकर्षणबारे नीतिगत समिक्षा आवश्यक भएको भन्दै छलफलका लागि बोलाउन माग गरे।
‘एनसेलको बिक्रीले, उजागर गरेका आर्थिक कुशासन र लगानी विकर्षणबारे एउटा वृहद नीतिगत समिक्षा अब आवश्यक भएको छ र यहाँलाई मैले विनम्र अनुरोध गरेको छु,’ उनले भने ‘आक्जियाटा कम्पनीको सिईओलाई नै किन अर्थ समितिले पत्र काटोस् । त्यसको लागि के कस्तो सहयोग गर्नुपर्छ हामी तयार छौं।’
त्यस्तै उनले एनसेल बिक्रीलाई भ्रष्टाचारको रामायण काण्डको उपमा दिए।
‘भ्रष्टाचारको रामायण काण्डहरुको चै नेपालमा एकपछि अर्को पर्दापण भइरहेका छन्, त्यो देखिरहेका छौं। नक्कली शरणार्थी काण्ड, सुन काण्ड, स्कट मार्केट काण्ड, हुँदै आज हामी एनसेल काण्डसम्म आइपुगेका छौं,’ उनले भने।