स्कटल्यान्डमा सबै महिलाका लागि नि:शुल्क स्यानिटरी उत्पादन
स्कटल्यान्डको संसदले सबै महिलालाई नि:शुल्क स्यानिटरी उत्पादन उपलब्ध गराउने व्यवस्था भएको छ। यस्तो व्यवस्था ल्याउने स्कटल्यान्ड विश्वकै पहिलो देश हो।
नया....
स्कटल्यान्डको संसदले सबै महिलालाई नि:शुल्क स्यानिटरी उत्पादन उपलब्ध गराउने व्यवस्था भएको छ। यस्तो व्यवस्था ल्याउने स्कटल्यान्ड विश्वकै पहिलो देश हो।
नयाँ व्यवस्था अनुसार सामुदायिक केन्द्र, युवा क्लब र औषधिपसलजस्ता तोकिएका सार्वजनिक स्थलमा ट्याम्पोन र स्यानिटरी प्याड उपलब्ध हुनेछ। यसको वार्षिक लागत दुई करोड ४१ लाख पाउण्ड हुनेछ।
पिरियड प्रोडक्ट्स (फ्रि प्रोभिजन) स्कटल्यानड बिल पहिलो चरणमा १२२३ मतले पारित भएको छ। अब दोस्रो चरणमा विधेयकको संशोधन प्रस्ताव गर्न सकिनेछ।
बहसको क्रममा प्रस्तावक मोनिका लेननले विधेयक पारित भए स्कटल्यान्डमा महिनावारीलाई सामान्यीकरण गर्ने कोशेढुङ्गा बन्ने बताइन्। यसबाट संसदले लैङ्गिक समानतालाई कति महत्व र गम्भीरतापूर्वक लिएको देशवासीले बुझ्ने पनि उनले बताइन्।
विधायक एलिसन जोनस्टोइनले भनिन्,“सन् २०२० मा महिनावारी सम्बन्धी सामग्रीभन्दा ट्वाइलेट पेपरलाई किन आवश्यक ठानिन्छ? शरीरका प्राकृतिक प्रक्रियाका लागि आर्थिक भार वहन गर्नु समानता वा न्यायसंगत होइन।”
सन् २०१८ मा विद्यालय, कलेज र विश्वविद्यालयमा नि:शुल्क स्यानिटरी उत्पादन उपलब्ध गराउने स्कटल्यान्ड पहिलो देश बनेको थियो।
संयुक्त अधिराज्यमा स्यानिटरी उत्पादनमा ५ प्रतिशत कर लगाइएको छ। पूर्वप्रधानमन्त्री डेभिड क्यामरूनको सरकारले “ट्याम्पोन” कर हटाउने खोजेको तर युरोपेली संघको नियमले बाँधिएको बताएको थियो। संघले निश्चित उत्पादनमा करको दर निर्धारण गरेको हुन्छ।
सरकारले सन् २०१६ मा कर घटाउने घोषणा गरेको पनि हालसम्म कार्यान्वयन भएको छैन।