कोशी टप्पुमा सारिएका पोथी गैंडा पुष्पा र अञ्जली कर्मचारीसँग रमाउँदै

काठमाडाैं, मंसिर १८ : गत असोज ९ गते चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएका पोथी गैंडा पुष्पा र अञ्जली यतिबेला कोशी टप्पुमा रहेका हात्ती र टप्पुका कर्मचारीसँग रमाउने गरेका छन्।
माउबाट छुट्टिएको अवस्थामा फेला परेका पुष्पा र अञ्जली नामका गैँडाहरू कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएपछि उनीहरुलाइ कोशी टप्पु वन्यजन्तु आरक्षको सप्तरी स्थित पथरी सेक्टरमा राखिएको छ, उनीहरुको स्याहारसुसारका लागि एकजना कर्मचारी खटाइएको छ।
विगतमा गरिएका गैँडा स्थानान्तरण पूर्ण रूपमा सफल नभए पनि यस पटक कोशी टप्पुमा गरिएको स्थानान्तरण भने सफल हुने कैयन् आधार रहेको विज्ञ तथा संरक्षणकर्ताहरूको दाबी छ।
कोशी प्रदेशको सुनसरी, उदयपुर र मधेश प्रदेशको सप्तरी जिल्लामा १७५ वर्ग किमि क्षेत्रफलमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा गैंडाका लागि वेटल्याण्ड र ग्रासल्याण्ड राम्रो भएको कोशी टप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरकि प्रमुख रेखा कुमारी मेहताले बताइन्। अहिले पुष्पा र अञ्जलीलाई राख्न कोशी टप्पु आरक्षको पथरी सेक्टरमा १६ फिट अग्लो, ८५ फिट लामो इन्क्लोजर बनाइएको छ।
चितवन बाट कोशी टप्पु ल्याउदा दुवै गैंडालाइ स्याहारसुसार र सहजतामा निकै कठिन भएको भए पनी अहिले उनीहरुलाई सोक्षेत्रको रहनसनमा सहज हुनथालेको छ। अहिले उनीहरु टप्पुका हात्तीसँगै रम्ने गरेका छन्। उनीहरुलाइ बिहान ६ बजे इन्क्लोजरबाट सोही क्षेत्रमा रहेको घाँसेमैदानमा बाहिर निकाल्ने गरिएको छ भने दिउसो ११ बजे आरक्षको टप्पु क्षेत्रमा हात्ती संगै चराउन लैजाने गरिएको छ। साँझ ५ बजे भने उनीहरु आफै आफ्नो बासस्थान इन्क्लोजर तर्फ आउने गरेका छन्।
पछिल्लो समय कोशी टप्पु पथरी सेक्टरमा रहेका हात्ती र स्थानीय कर्मचारी संगै रमाउदै पुष्पा र अञ्जलीले आफ्नो दिनचर्या गुजार्दै आएका छन्। पुष्पा र अञ्जलीलाइ कोशी टप्पु वन्यजन्तु आरक्षमा निकै सहज हुने देखिएपछी चितवन राष्ट्रिय निकुञ्जबाट थप दुई पोथी र एक भाले गैंडा कोशी टप्पु ल्याउने तयारी गरिएको छ। यस संगै कोशी टप्पु वन्यजन्तु आरक्षमा गैंडाको संख्या ५ हुनेछन्।











-(86)-1764936079.jpg)
