Kathmandu Press

इन्डोनेसियामा पहिरो र बाढीका कारण १० जना बेपत्ता

अविरल वर्षाका कारण आएको पहिरो र बाढीले शुक्रबार राति उत्तरी सुमात्रा प्रान्तको एउटा गाउँको आवासीय इलाकालाई असर पुर्याएको थियो।
इन्डोनेसियामा पहिरो र बाढीका कारण १० जना बेपत्ता

जाकर्ता, मंसिर १८ : इन्डोनेसियाको सुमात्रा टापुमा टोबा ताल नजिकैको एउटा गाउँमा अचानक आएको बाढी र पहिरोमा परी कम्तीमा १० जना अझै बेपत्ता भएको एक उद्धार अधिकारीले सोमबार बताएका छन्। 

अविरल वर्षाका कारण आएको पहिरो र बाढीले शुक्रबार राति उत्तरी सुमात्रा प्रान्तको एउटा गाउँको आवासीय इलाकालाई असर पुर्याएको थियो। बाढी र पहिरोले ७८ वर्षीया एक महिलाको मृत्यु भएको, दर्जनौँ घर बगाएको र एउटा होटल क्षतिग्रस्त भएको छ।  

मेदान खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोले सुरुमा ११ जना बेपत्ता भएको घोषणा गरिएको तर सोमबार उद्धारकर्मीले एउटा शव फेला पारेको जानकारी दिए। बेपत्ता हुनेमा छ र आठ वर्षका बालबालिका पनि रहेका छन्। 

उनका अनुसार खोजी प्रयासलाई पानी र जमिनमा विभाजन गरिएको छ। थुप्रै डुङ्गा र गोताखोरले बेपत्ता हुनेहरूको खोजी गरिरहेका छन् भने टोबा ताल नजिकै उत्खनन र खोजबिन जारी छ। बेपत्ताहरूको शव विश्वको सबैभन्दा ठूलो ज्वालामुखी तालमा तानिएको हुनसक्ने आशङ्कामा उद्धारकर्मीहरूले सोनार डिटेक्सनको प्रयोग गरिरहेको बुडियोनोले बताए। 

राष्ट्रिय खोज एवं उद्धार एजेन्सी बसरनासका अनुसार करिब एक सय ४० मानिसलाई गाउँबाट विस्थापन गरिएको छ।  

प्रकाशित मिति: १५:१९ बजे, सोमबार, मंसिर १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्