Kathmandu Press

कोसीमा हात्ती आतंक : एक सातामै तीनजनाको मृत्यु

कोसीमा हात्ती आतंक : एक सातामै तीनजनाको मृत्यु

विराटनगर, मंसिर १७ : कोसी प्रदेशका विभिन्न जिल्लामा जंगली हात्तीका कारण मानवीय र भौतिक क्षति बढेको छ। केही दिनयता झापा, सुनसरी र मोरङमा गरी हात्तीको आक्रमणबाट तीनजनाले ज्यान गुमाएका छन्।

गत शुक्रबार झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। हल्दीबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनलाई हात्तीले आक्रमण गरेको थियो। सुनसरीको उपमहानगरपालिका–२ मा गत बिहीबार राति हात्तीको आक्रमणबाट स्थानीय २५ वर्षीय रबिन खड्काको मृत्यु भएको छ।

Hardik ivf

बस्तीमा हात्ती प्रवेश गरेपछि स्थानीय बासिन्दा धपाउन प्रयासमा थिए। त्यही क्रममा पुगेका खड्कालाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। उनलाई हात्तीले लछारपछार पार्दै कुल्चिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, केही दिनअघि झापाकै दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको पनि हात्ती आक्रमणमा परी मृत्यु भएको थियो। स्थानीय हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा गएका उनलाई हात्तीले आक्रमण गरेको थियो।

जंगली हात्तीले बस्तीमा प्रवेश गरी स्थानीयको घर भत्काउने, अन्न खाइदिने साथै अरु भौतिक सामग्री नष्ट गरिदिने गरेको गाउँलेले बताएका छन्। मोरङको लेटाङ, बेलबारी, सुनसरीको इटहरी र आसपास क्षेत्रका साथै झापाका विभिन्न स्थानमा हात्ती पसेर क्षति गर्ने गरेका छन्।
 

प्रकाशित मिति: १२:५८ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्