Kathmandu Press

१६ वर्षीय फोटोग्राफरको दुर्लभ रेड पाण्डाको तस्बिर 

‘वाइल्ड लाइफ फोटोग्राफीको मेरो यो यात्रामा रेड पाण्डाको तस्बिर लिन पाउनु, प्रत्यक्ष हेर्न पाउनु म आफूले आफूलाई भाग्यमानी ठान्दछु।’
१६ वर्षीय फोटोग्राफरको दुर्लभ रेड पाण्डाको तस्बिर 

काठमाडौं, मंसिर १६ : १६ वर्षीय दिपतान्शु श्रेष्ठ आफ्नो वाइल्ड लाइफ फोटोग्राफी गर्ने बुवा दशरथ श्रेष्ठको पद पछ्याउँदै गत वर्षदेखि फोटोग्राफीमा आफ्नो रुचि बढाउँदै चराहरूको तस्बिर लिन सुरु गरेका हुन्। उनले हालै खिचेका दुर्लभ रेड पाण्डाका तस्बिर अत्यन्त उत्कृष्ट छन्।

एसइईपश्चात् केही समय फोटोग्राफीमा दिएका दिपतान्शु रिलायन्स इन्टरनेसनल कक्षा ११ मा अध्यनरत छन्। आफ्नो बिदा र खालि समयमा बुवा दशरथ श्रेष्ठसँग काठमाडौँ उपत्यकाका गोदावरी, फूलचोकी, टौदह, शिवपुरी लगायत क्षेत्रमा वाइल्ड लाइफ फोटोग्राफीका लागि उनी जाने गर्छन् । बुवाको फोटोग्राफीबाट आफु प्रभावित भएर नै फोटोग्राफीमा लागेको दिपतान्शु बताउँछन्।

9c93f07b-14db-420c-8e84-b02fb4ff2c03-1701506494.jpg

गत दसैं बिदाको समय सदुपयोग गर्दै बुवा र बुवाका साथीहरूसँग इलाम जिल्लाको जमुना जंगलमा रेड पाण्डा, हाब्रेको तस्बिर लिन पुगेका थिए दिपतान्शु श्रेष्ठ । करिब १ हप्ता बसाइमा उक्त क्षेत्रमा पाण्डा नभेटी पनि केही नयाँ चराहरुको तस्विर लिन सफल भएको दिपतान्शु श्रेष्ठले धेरै नयाँ कुुरा सिकेका छन्।

बुवा र अगस्ट रस सिंह लामा दाइले गत वर्ष पनि इलामको उक्त क्षेत्रमा ५ दिनको बसाईमा अन्तिम दिन मात्र रेड पाण्डा भेटेका थिए तर खराब मौसम र पानी परिरहेको समयमा लिएको तस्बिर राम्रो नभएको कारणले नै पुन ईलाममा जाने निधो गरेका रहेछन्। वाइल्ड लाइफ फोटोग्राफीकै लागि भनेर क्यामेरा बोकेर काठमाडौं उपत्यकाबाहिर बुुवासँग दिपतान्शुको यात्रा पहिलो थियो। इलाम यात्रालगत्तै पाण्डाका लागि हेलम्बुको यात्रा गर्ने भनेर अगष्ट रस सिंह लामा, अमर राज लिम्बु दाइहरूसँग सल्लाह गरेपछि तिहार र छठसम्म दिपतान्शुको बिदा भएकाले उनी पनि सँगै गए। 

दिपतान्शुकै शब्दमा यात्रा कथा

भाइटीकाको दिन टीका लगाएर काठमाडौंबाट करिब २ बजे सिन्धुपाल्चोक जिल्ला हेलम्बु–७ मा रहेको मांगिजंगगोठतिर लागियो। बेलुका ४ः३० बजेतिर हामी कुटुमसाङमा रहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा बाइक राखी आफ्नो गन्तव्यतर्फ लाग्याैं।
करिब ३ घन्टा ४० मिनटको कठिन उकालो पश्चात ३२५० मिटरमा माङजिम गोठमा रहेको ग्रिन भ्यु लज पुग्यौं र त्यही नै हाम्रो स्थायी क्याम्प थियो। उक्त क्षेत्र हेलम्बु पदमार्गले परिचित छ । साथै काठमाडौँबाट चिसापानी, हैबुंग , कुटुमसाङ, मांगिजंग गोठ हुँदै गोसाइकुण्ड पुग्ने मुख्य मार्गको रुपले पनि परिचित छ। 

पहिलो रात बाबा (दशरथ श्रेष्ठ), अगस्ट रस सिंह लामा, अमरराज लिम्बू दाइहरू रेड पाण्डाको बासस्थानबारे स्थानीय एव होटल सञ्चालक कालु लामासँग छलफल गरेर म्यापिङ गर्दैगर्दा म भने ताराहरुको तस्बिर लिन चिसोमा बाहिर निस्किएँ। होटलमा केही विदेशी पनि थिए। कोही गोसाइँकुण्डबाट फर्केका थिए भने कोही गोसाइँकुण्ड हुँदै लाङटाङसम्मको यात्रा लागि आएका थिए।

दोस्रो दिन राष्ट्रिय चरा डाँफेका लागि ३५ सय मिटरमा रहेको भ्यु पोइन्टतर्फ लाग्यौं जहाँबाट सगरमाथाको एक भाग देख्न सकिन्छ भनेर हामीलाई होटलका संचालक कालु लामाले जानकारी दिनुभएको थियो। थुप्रै चराहरू हामीले भ्यु पोइण्टमा देख्याैं। डाँफे पनि भेट्यौ तर निकै पर उडेपछि मात्र थाहा पायौं। लज फर्केर खाना खाएपछि म बाबा अनि दाइहरूसँगै रेड पाण्डाको वास स्थानतर्फ लाग्यौं। बेलुकासम्म जंगल घुम्दा पनि रेड पाण्डा नदेखेपछि हतास भएर फर्कियौं। बेलुका खाना खाने समयमा अर्को वास्थान प्रयास गर्ने निधो गरेर हामि सुत्न गयौं। तेस्रो दिन बिहानै मांगिजंग गोठतल अर्को बासस्थान गयौं। बासस्थान वरपरी कस्तुरी र मोनाल पनि हुन सक्ने अनुमान लगाउँदै तस्बिर लिन कुरिबस्यौं तर अबेर बेलुकासम्म केही ननिस्किएपछि त्यो दिन पनि हामी निरास भएर फर्किन पर्यो।

c30ff749-2669-4013-9246-dafa7e4359a4-1701506874.jpg

बेलुका पुन लजमा फर्केर भोलि पनि रेड पाण्डा देखिएन भने काठमाडौँ फर्किनुपर्ला भनेर बाबा र दाइहरु सल्लाह गर्दैगर्दा लज सञ्चालक कालु लामाले भन्नुभयो, ‘पहिलेपहिले धेरै नै पाण्डा देखिथ्यो र अहिले पनि देखिन्छ। भोलि बिहानसम्म लेकको गोठको साहु आउँछ, उसले तपाईहरूलाई पाण्डाको नयाँ बासस्थान लैजान्छ अनि भाग्यमा रहेछ भने पक्कै देख्नुहुन्छ।’ 

चौथो दिन बिहानै सबै जना उठेर गोठ तल्लो भेकतिर लाग्दै थियौं, त्यति नै बेला गोठको साहुलाई बाटामै भेट भयो र उनको कुरा सुन्दा रेड पाण्डा भेटिन्छ कि भन्ने मनमा आशा पलायो र उनको पछिपछि लाग्दै जंगलको भित्रतिर लाग्यौं। पर भिर देखिएको ठाउँसम्म पुग्ने भन्दै हिँड्दै गर्दा गोठको साहुले अमरराज लिम्बू दाइलाई रेड पाण्डाले खाने खुराक भन्दै निँगालोको बोट देखाउँदै हुनुहुन्थ्यो, त्यति नै बेला अगष्ट रस सिंह लामाले रेड पाण्डा रुखमा नै छ जस्तो भन्दै ४–५ सट क्लिक गरेपछि पाण्डा यहीं छ भन्दै आउँदा मन निकै उत्साहित भइरहेको थियो।

चिडियाखाना र टिभीमा मात्र देखेको रेड पाण्डा उसैको बासस्थानमा हेर्न पाउनु र तस्बिर लिन पाउनु मेरो ‘लक्की डे’ भनुँ या अहोभाग्य, जब मैले रुखको बीचमा पाण्डाको अनुहार देखें, यति खुसी थिएँ र धेरै एक्साइटेड भएँ। डिस्टर्ब नगरी यसको क्रियाकलाप हेर्नुपर्छ भन्दै हुनुहुन्थ्यो अगस्ट दाइ। तर मेरो लागि त पहिलो चोटि थियो, मनलाई थामेर भए पनि करिब दुई घण्टा हामीले उक्त रेड पाण्डालाई हल्ला नगरी हेरिरह्यौं। उसले गर्ने क्रियाकलापलाई नियाल्दै बस्यौं। रेड पाण्डा लजालु स्वभावको जनवार भएको धेरै विज्ञहरुले भनेका थिए। उहाँहरूले भनेजस्तै रेड पाण्डाले हामीलाई मतलब नै नगरी आनन्दले रूखमा सुतिरह्यो।

विश्वको दुर्लभ जनावर रेड पाण्डाको करिब १५ सय वटा फोटो मात्र खिचेको छु। सबै राम्रा तस्बिर आका छन् म भन्दिन तर केहीचाहिँ पक्कै राम्रो छन्। वाइल्ड लाइफ फोटोग्राफीको मेरो यो यात्रामा रेड पाण्डाको तस्बिर लिन पाउनु, प्रत्यक्ष हेर्न पाउनु म आफूले आफूलाई भाग्यमानी ठान्दछु। तस्बिर लिने मात्र हैन भविष्यमा प्रकृति संरक्षण र दुर्लभ वन्यजन्तु संरक्षण मेरो आफ्नो र वाइल्ड लाइफ फोटोग्राफीको तर्फबाट केही योगदान हुनेछ।

cfc0d790-94b9-4170-b952-0b24cefac3ca-1701506900.jpg

 

c2e466fd-9b88-41e6-b67b-9872ebc699b4-1701506816.jpg

ab3c1d29-b4ef-4c59-b1e1-56859b2b6f88-1701506770.jpg

2486823a-83c9-42c0-9dbc-52f26c83e3ae-1701506758.jpg

538298d6-4979-44d2-afcd-32e9f11e85aa-1701506676.jpg

174c32f6-3119-4448-af1f-72c55f866362-1701506672.jpg

70a3f963-7bd8-47c0-9869-ef027e5cb672-1701506577.jpg

4ad8f8b7-d88f-4b74-8e8b-0fd54b4abe1d-1701506510.jpg

सबै तिस्बर : दिपतान्शु श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १४:३९ बजे, शनिबार, मंसिर १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्