हिमालय एयरलाइन्सले सुरु गर्यो काठमाडौं सांघाई सिधा उडान

काठमाडौं, मंसिर १६ : हिमालय एयरलाइन्सले चीनको सांघाई सहरमा आजदेखि सिधा उडान सुरु गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरलाइन्सले चीनको ठूलो शहर सांघाईमा आजदेखि नियमित उडान सुरु गरेको हो।
नेपालबाट शनिबार बिहान ९ः२० बजे एक सय ३७ यात्रुबोकेर हिमालयको जहाज सांघाई उडेको छ। उक्त जहाजले आजै सांघाईबाट यात्रु लिएर राति नौ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ।
आजबाट सुरु गरिएको उडान सातामा एक चोटी हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ।
सांघाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान पनि हो। योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ। काठमाडौं–साङघाई उडानमा पाँच घण्टा २० मिनेटको यात्रा हुनेछ।
उडानबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मुख्य व्यापारिक र पर्यटकीय सहरमा सुरु गरिएको सिधा उडानले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउने बताए। नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरी र धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई नेपाल ल्याउन उडानले मद्दत पुग्ने विश्वास राखे।
यस्तै , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक नेपालमा बढ्ने अपेक्षा व्यक्त गरे।
नयाँ गन्तव्यमा उडान सुरु गरेकोमा एयरलाइन्सलाई शभकामना दिदै उनले भने, ‘चाइनाको ग्लोवल हब बनेको ठूलो शहर साङ्घाइमा एयरलाइन्सले उडान सुरु गरेकोमा सफलताको लागि कामना गर्छु। यसले दुई देशकाबीचमा धेरै अवसरहरु सृजना गर्ने, दुई राष्ट्रबीचको सम्बन्धलाई जोड्दै नेपालमा थप निचियाँ पर्यटकहरुलाई आकर्षित गरी नेपाललाई पर्यटक हब बनाउनेमा मद्दत गर्ने विस्वास छ।’
नेपालका लागि चिनियाँ राजदूतावासका आर्थिक तथा वाणिज्य कन्सुलर छि यूले सांघाई–काठमाडौं सिधा उडानले दुई देशबिचको सम्बन्ध बलियो हुनुका साथै व्यापारिक दृष्टिले पनि महत्त्वपूर्ण भएको बताए। चीनको ठुलो सहरमध्ये एक सांघाई शहर मुख्य व्यापारिक केन्द्रको रुपमा परिचित छ।












